१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरादहमा खाद्यान्न लिन हानाथाप


१७ चैत्र २०७६, सोमबार  

0
Shares

 20200330_135334
गौरादह  १७ ,  चैत  /
लकडाउनका कारण भोकमरीमा पर्नसक्ने अबस्थालाई मध्यनजर गरी खाद्यान्न वितरणका लागि विपन्न वर्गको सही विवरण संकलन गर्न स्थानीय तहलाई हम्मे परेको छ । दैनिक ज्यालादारी गरेर गुजारा गर्ने निम्न वर्गलाई लक्षित गरी स्थानीय तहले खाद्यान्न वितरण गर्न लागेका हुन् । त्यसका लागि झापाका प्रायः सबै स्थानीय तहहरुले विपन्न परिवारको विवरण संकलन गर्न थालेका छन् । स्थानीय तहले विपन्न वर्गको मापदण्ड तोकेपनि राहत पाउनका लागि हानाथाप शुरु भएको छ । गौरादह नगरपालिकाले विपन्न वर्गका लागि सोमबारदेखि खाद्यान्न वितरण गर्ने कार्यक्रम राखेको थियो । तर, विपन्न परिवारको सही तथ्यांक नआएपछि त्यसलाई स्थगन गरियो । विपन्न परिवारको यकिन गरी उनीहरुलाई वितरण गरिने खाद्यान्नका बारेमा निर्णय गर्न सोमबार बसेको नगरपालिकाको बैठकले विपन्न परिवार यकिन तथ्यांक नै निकाल्न सकेन । गौरादह— १ र ६ का वडाध्यक्षहरुले वास्तविकभन्दा संख्या बढाएर तथ्यांक ल्याएका थिए । वडा नं ६ का वडाध्यक्ष खड्ग पराजुलीले १ हजार ३ सय घरधुरी भएको आफ्नो वडाबाट ८ सय २० विपन्न परिवारको विवरण ल्याए । त्यस्तै वडा नं १ का वडाध्यक्षले पनि वास्तविकभन्दा बढी विवरण पेस गरेको बताइएको छ । ती विवरणहरुलाई सच्याएर ल्याउन भनिएको कार्यपालिका सदस्य जलवर्षा चौधरीले बताइन् । उनले चैत १८ गतेभित्र विवरण सच्याएपछि १९ गतेबाट ९ वटै वडामा खाद्यान्न वितरण गरिने जानकारी दिइन् । विपन्न परिवारको लागि खाद्यान्न वितरण गर्न नगरपालिकाले ४६ लाख रुपैयाँको कोष स्थापना गरेको छ । विपद् व्यवस्थापन समितिको कोषमा सम्पूर्ण जनप्रतिनिधिहरुले एक महिनाको तलबभत्ता जम्मा गरेर त्यति पु¥याएका हुन् ।
त्यस्तै बिर्तामोड नगरपालिकाले पनि भोकमरीमा पर्न सक्ने परिवारलाई खाद्यान्न वितरण गर्ने भएको छ । विपन्न परिवारको विवरण संकलन गरी खाद्यान्न वितरण गरिने भएको हो । त्यसका लागि फारम भर्नुपर्ने हुन्छ । बिर्तामोड—३ मा रहेको करेलाबारी टोल विकास समितिले विपन्न परिवारका लागि ३० वटा फारम ल्याएको समितिका अध्यक्ष कुमार कन्दङवाले बताए । तर, टोल समितिअन्तर्गतका ८० भन्दा बढी परिवारले खाद्यान्नका लागि फारम भर्न खोजेपछि समस्या आएको उनले बताए ।सोमबार नगरपालिकाको बैठक बसेर खाद्यान्न वितरणका बारेमा निर्णय गरिने नगरपालिका कार्यालयका नायव सुब्बा मेघराज बास्तोलाले जानकारी दिए ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ८ : ०९ बजे