१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

ऐन र कानुन निर्माणमा सहकार्य गरेर अघि बढ्ने सहमति


१ फाल्गुन २०७६, बिहिबार  

0
Shares

20200213_145847

गौरीगञ्ज १, फागुन / झापाको गौरीगञ्ज गाउँपालिकाले स्थानीय शिक्षा ऐन २०७५ जारी गरेपछि उत्पन्न परिस्थिति सहज बनाउन पालिका र शिक्षक महासंघका प्रतिनिधिबीच चार बुँदे सहमति भएको छ ।
आज बिहीबार गाउँपालिकाको कार्यालयमा भएको छलफलमा उक्त सहमति भएको हो । स्थानीय शिक्षा ऐन जारी भएपछि शिक्षक महासंघ र सम्बद्ध संघ–संगठनले त्यसको विरोध गरेपछि विवाद बढेको थियो । चरणबद्ध छलफलपछि साझा सहमति गरिएको बताइएको छ ।
शैक्षिक उन्नयनका विषयमा गाउँपालिका र शिक्षाका पेशागत संगठनहरु सहकार्यका साथ अघि बढ्ने र गौरीगञ्जको शैक्षिक प्रगतिका लागि क्रियाशील रहने सहमति भएको छ । त्यस्तै स्थानीय तहले ऐन कानून निर्माणका क्रममा शिक्षक महासंघका प्रतिनिधि समेत राखेर निर्माण गरी सबै पक्षले अपनत्व ग्रहण गर्न सक्ने वातावरण निर्माणका लागि सहमति र प्रतिबद्धता व्यक्त भएको छ । साथै ऐन कार्यान्वयनमा सबै पक्षले प्रतिबद्धता जनाएका छन् ।
त्यस्तै आगामी दिनमा संघीय र प्रदेश शिक्षा ऐन निर्माणको चरणमा रहेकाले सो कार्य सम्पन्न भएपछि संघीय र प्रदेश शिक्षा ऐनसँग बाझिएका स्थानीय शिक्षा ऐनका विषयहरु सहमति र सहकार्यबाट परिमार्जन गर्दै जाने सहमति भएको छ । शिक्षक छनौट प्रक्रियामा शिक्षा शाखा मार्फत विज्ञ छनौट गराउने सहमति भएको छ भने छनौट समितिको संरचना सहमति बमोजिम आगामी गाउँसभा मार्फत परिमार्जन गर्ने छलफलको निष्कर्ष रहेको छ । स्थानिय सरकार गौरीगंजले २०७५ साल फागुन माहिनामा जारी गरेको स्थानिय शिक्षा ऐनमा भएको व्यवस्था अनुसार शिक्षक नियुक्ति, सरुवा र प्रधानाध्यापक नियुक्तिका विषयमा पेशागत शिक्षक संगठनहरुले आपति जनाउदै आएका थिए ।

20200213_145759
सहमतिमा गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ, उपाध्यक्ष दिपिन्द्र थापा, नेपाल शिक्षक महासंघ झापाका अध्यक्ष बुद्धिमान कार्की, सहसचिव हरिप्रसाद राजवंशी, गौरीगञ्जका प्रमुख प्रशासकीय अधिकृत प्रविण दाहाल, शिक्षा शाखा प्रमुख सुशिल दाहाल, शिक्षा शाखा अधिकृत केशवप्रसाद भट्टराई, शिक्षक महासंघ गौरीगञ्जका अध्यक्ष हरिलाल यादव, संगठनका अध्यक्ष प्रकाशचन्द्र राजवंशी, उपाध्यक्ष बरुणकुमार राजवंशी, नेपाल शिक्षक संघका गौरीगञ्ज अध्यक्ष गोपालप्रसाद ताजपुरिया, नेपाल शिक्षक परिषदका उपाध्यक्ष कुमारप्रसाद भण्डारी, पत्रकार आत्माराम राजवंशीले हस्ताक्षर गरेका छन् ।
छलफलमा गाउँपालिका अध्यक्ष श्रेष्ठ र उपाध्यक्ष थापाले शैक्षिक गुणस्तरका लागि आफूहरु सदैव लचकताका साथ सहकार्य गर्दै अघि बढ्न तयार रहेको प्रतिबद्धता जनाए । शिक्षकका नेताहरुले समेत शैक्षिक गुणस्तर र आपसी छलफलबाट पालिकाले तयार गर्ने ऐन कानून कार्यान्वयनमा सकारात्मक भूमिका खेल्ने प्रतिबद्धता जनाए ।
संवाद समूह झापाले संयोजन गरेको छलफलको सहजीकरण संवाद समूहका सदस्य केशव ओझा लगायतले गरेका थिए ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहिबार  १० : ५८ बजे