३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

प्रधानमन्त्री ओलीको क्षेत्रमा कांग्रेसका युवा नेता पौडेलको गर्जन


२५ माघ २०७६, शनिबार  

0
Shares

20200208_170043 कमल/नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले वर्तमान कम्युनिष्ट सरकार संबैधानिक अंगहरुलाई नियन्त्रणमा लिएर देश कब्जाको बाटोमा अघि बढेको आरोप लगाउनु भएको छ ।
लोकतन्त्रको मर्म र भावना विपरीत अख्तियार दुरुपयोग अनुसन्धान आयोग र स्वतन्त्र न्यायपालिकामाथि समेत कब्जा जमाएर सरकार आफ्नालाई जोगाउने र प्रतिस्पर्धीलाई ठेगान लगाउने नीतिमा अघि बढेको उहाँको आरोप छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ अन्तर्गतको कमल गाउँपालिकामा कांग्रेसको गाउँ समितिले आज आयोजना गरेको बृहत कार्यकर्ता भेटघाट तथा वनभोज कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले कांग्रेसले विरोधका लागि मात्रै सरकारको विरोध नगरेको दृष्टान्त प्रस्तुत गर्नुभयो ।
कांग्रेसका केन्द्रिय सदस्य समेत रहनु भएका नेता पौडेलले तत्कालिन अवस्थामा मन्त्रीपरिषदबाट ललिता निवास जग्गा प्रकरणमा भएको निर्णयको जिम्मेवारी सरकारले लिनुपर्नेमा सो सम्बन्धिका प्रस्तावक तत्कालिन भौतिक पूर्वाधार मन्त्रि एवम् कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई दोषि देखाउन खोज्नुले अख्तियारलाई सरकारले आफ्नो अनुकुल चलाउन खोजेको प्रष्ट भएको तर्क गर्नुभयो ।

नेता पौडेलले भन्नु भयो– कांग्रेस उपसभापति, सभापति वा केन्द्र्रिय सदस्य जो कोही भएपनि यदि भ्रष्टाचारमा संलग्न रहेको भए कारवाहि गर्ने कुरामा कांग्रेस एकमत छ । तर सरकार भन्दा माथिल्लो संवैधानिक निकायको काम कारवाही स्वतन्त्र र निष्पक्ष हुनुपर्छ भन्ने हाम्रो प्रष्ट मान्यता हो ।
नेता पौडेलले सरकारले विकास र समृद्धिको नारा घन्काएपनि दुई बर्षको अवधिमा कुनैपनि उल्लेख्य काम गर्न नसकेको पनि टिप्पणी गर्नुभयो । उहाँले अहिले चर्चामा रहेका मदन भण्डारी चुरे राजमार्ग, मध्यपहाडी लोकमार्ग, फास्ट ट्रयाक लगायतका महत्वपूर्ण गौरवका योजनाहरु अन्य अन्य नाममा पहिलानै शुरु भएका र अहिले तिनको नाममात्रै परिवर्तन गरेर कम्युनिष्टहरुले हुँकार लगाइरहेको पनि तर्क गर्नुभयो ।
20200208_170106

औंल्याए कांग्रेसको कमजाेरी
कम्युनिष्ट सरकारको कडा आलोचनामा उत्रिनुभएका युवा नेता पौडेलले कांग्रेस भित्रका कमजाेरीलाई पनि संक्षेपमा उल्लेख गर्दै सुधारमा लाग्न आवश्यक भएकोमा जोड दिनु भयो । उहाँले कांग्रेसले संगठन विस्तारमा ध्यान दिनुपर्ने र सरकारका कमि कमजोरीहरु जनतामाझ लैजान सक्नुपर्ने बताउनुभयो । त्यसका लागि पार्टी नेतृत्व र तल्लो तहका कार्यकर्ताहरुको भुमिका समान हुने उहाँको धारणा थियो । उपनिर्वाचनमा सत्तारुढ पार्टीका उम्मेद्वारहरुनै धेरै ठाउँमा विजयी हुनुका पछाडी जनतालाई कांग्रेसले कम्युनिष्ट सरकारका कमि कम्जोरीहरुका बारेमा जानकारी गराउन नसक्नु प्रमुख कारण भएको उहाँको बुझाई थियो ।
कांग्रेस कमल गाउँ सभापति खगेन्द्र भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका संविधान सभा सदस्य तथा पूर्व कांग्रेस जिल्ला सभापति सुधीरकुमार शिवाकोटी, महासमिति सदस्य देउमान थेवे, जिल्ला सचिव प्रेम सम्बाहाम्फे, महाधिवेशन प्रतिनिधि एवम् झापा ५ का प्रतिनिधि सभा चुनावका प्रत्यासी उम्मेद्वार डा. खगेन्द्र अधिकारी, प्रदेश सभा सदस्यका प्रत्यासीद्धय राजन बहादुर ढुंगाना र अनिलकृष्ण प्रसाइँ, जिल्ला सदस्य एवम् कमल गाउँपालिका अध्यक्षका प्रत्यासी हुकुमसिंह राई, क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, नेविसंघकी केन्द्रीय उपसभापति तुलसा पन्त लगायतले कांग्रेसको बृहत एकतामा जोड दिँदै सांगठनिक पद्धतीको विकास हुनुपर्ने सुझाव औंल्याए । उनीहरुले झापामा नेकपाको नेतृत्व रहेका स्थानीय तहहरुमा समेत कम्युनिष्ट अराजकता बढेको भन्दै तिनका विरुद्ध पार्टीले सशक्त आन्दोलनका कार्यक्रमहरु गर्ने जनाउ दिएका थिए ।
कार्यक्रम संयोजक समेत रहेका कांग्रेस कमलका सहसंयोजक राजकुमार न्यौपानेले सो कार्यक्रममा एक हजार भन्दा बढी कार्यकर्ताहरु र कांग्रेसका शुभचिन्तकहरु सहभागि भएर कांग्रेसलाई स्थानीयस्तरमा नयाँ उर्जा पैदा गरेको बताउनु भयो । कार्यक्रमको सञ्चालन कांग्रेस झापा ५ का सचिव धर्मानन्द भट्टराइले गर्नुभएको थियो ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ११ : २२ बजे