१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

संघीय शिक्षा ऐन जारी गर्न सरकारको ध्यानाकर्षण


३० कार्तिक २०७६, शनिबार  

0
Shares

TEACHER
बिर्तामोड २९ , कात्तिक /
झापाका शिक्षक नेताहरुले शिक्षा क्षेत्रमा अहिले देखिएको अन्यौल र समस्या समाधानका लागि संघीय शिक्षा ऐन तत्काल जारी गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
सरकारले हालै सार्वजनिक गरेको शिक्षा नीतिले शिक्षा ऐन बनाउन बाटो खुलेको भन्दै अब त्यस कार्यका लागि विलम्ब नगर्न आग्रह गरेका छन् । स्थानीय शिक्षा ऐन, उत्पन्न परिस्थितिः गौरीगञ्ज गाउँपालिकामा देखिएको समस्या र समाधानमा सरोकारवालाको भूमिका विषयमा शुक्रवार विर्तामोडमा भएको छलफलमा शिक्षक महासंघसहित शिक्षकका संघ–संगठनका नेताहरुले उक्त विषयमा ध्यानाकर्षण गराएका हुन् । शिक्षा क्षेत्रका समस्यालाई साझा समस्याको रुपमा लिँदै शिक्षामा राजनीतिक हस्तक्षेप हुन नहुनेमा जोड दिएका उनीहरुले जिल्लामा शिक्षामैत्री वातावरण र गुणस्तरीय शिक्षाका लागि प्रतिबद्धता समेत जाहेर गरेका छन् । शिक्षा क्षेत्रको समस्या समाधानका लागि उनीहरुले सात बुँदे प्रतिबद्धता र साझा निष्कर्ष जारी गरेका हुन् ।
संघीयताको अभ्यासका क्रममा पालिकाहरुले स्थानीय शिक्षा ऐन जारी गरेपछि विभिन्न पालिकामा उत्पन्न विवादलाई अबका दिनमा सहज बनाउँदै समस्या समाधानमा पहल गर्ने समेत उनीहरुको प्रतिबद्धता छ । त्यस्तै शिक्षाको गुणस्तरबृद्धिका लागि पालिकाहरुले शिक्षा क्षेत्रमा बजेटलाई प्राथमिकताका साथ विनियोजन गर्न पनि आग्रह गरेका छन् ।
स्थानीय शिक्षा ऐन जारी भएपछि गौरीगञ्ज गाउँपालिकामा उत्पन्न परिस्थिति र समस्या समाधानका लागि सरोकारवालासँग संवाद र छलफलबाट निकास निकाल्न उपयुक्त हुने र त्यसका लागि आफूहरु तयार रहेको शिक्षक नेताहरुको भनाइ छ । शैक्षिक क्षेत्रका समस्या समाधान तथा कुनै पनि सवालमा छलफल र सहकार्यका लागि शिक्षा सम्बद्ध ट्रेड युनियनलाई सहभागी गराउन पनि पालिकाहरुलाई शिक्षक नेताहरुको सुझाव छ ।
त्यस्तै शिक्षाको गुणस्तर बृद्धिका लागि स्थानीय सरकारसँग समन्वय गर्दै स्थानीय सरकारलाई सहयोग गर्ने पनि उनीहरुले प्रतिबद्धता जाहेर गरेका छन् । शिक्षक महासंघ झापाका अध्यक्ष बुद्धिमान कार्कीसहितका नेताहरुले छलफलमा शिक्षा क्षेत्रका समस्या समाधानका लागि आफ्नो धारणासहित प्रतिबद्धता व्यक्त गरेका हुन् । शिक्षक महासंघका जिल्ला सचिव तोयानाथ दाहाल, नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारी, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष नेत्रप्रसाद खरेल, नेपाल शिक्षक महासंघ बिर्तामोडका अध्यक्ष युवराज कट्टेल, महासंघ गौरीगञ्जका अध्यक्ष हरिलाल यादव, सचिव प्रकाशचन्द्र राजवंशी, शिक्षक संगठनका गौरीगञ्ज अध्यक्ष भीमबहादुर कार्की, शिक्षक संघका गौरीगञ्ज अध्यक्ष गोपालप्रसाद ताजपुरिया, सचिव बुलेन्द्रप्रसाद राजवंशीले आफ्नो धारणासहित सुझाव र प्रतिबद्धता व्यक्त गरेका हुन् । छलफलको संयोजन संवाद समूह झापाले गरेको थियो ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  १० : ३२ बजे