१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

आदिवासीहरूकाे परम्परागत लाेक नाच ‘ढाेेल्सना ‘ हराउँदै


९ कार्तिक २०७६, शनिबार  

0
Shares

20191026_200611
दमक ९, कार्तिक / ताजपुरीया, राजवंशीलगायतका पूर्वी नेपालको कोच समुदायको अत्यन्त पुरानो एवं परम्परागत ‘ढोल्सना नाच’ हराउँदै गएको छ । यो समुदायले लोक नाचको रुपमा लिने गरेको छ । विशेष गरेर दशंै तथा तिहारको समयमा पहिला यो नाच देखाइने गरेको छ । विवाहको समयमा छोरी विदाई गर्दा यो नाच नाच्ने प्रचलन रहेको ताजपुरीया बुढापाकाहरु बताउँछन् ।

बुढापाकादेखि लिएर वालबालिकासम्म एकै ठाँउमा भएर दुःखसुखका कुरालाई भाका मिलाएर गाउने र नाच्ने परम्परा विस्तारै लोप हुँदै गएको ताजपुरीया अगुवा कोचासिंह ताजपुरीयाले बताउनुभयो । ‘अहिलेको नयाँ पुस्ताले यो परम्परा र संस्कार नै बिर्सिसकेका छन् ’ उहाँले भन्नुभयो । ‘हामी रहुन्जेल त जसोतसो यसलाई जिवितै राख्छौ तर हामीसँगै यो संस्कृति मर्ने हो की भन्ने चिन्ता छ ।’

आफुहरुले साँस्कृतिक कार्यक्रममा बोलाउँदा आफ्ना छोराछोरी तथा नाती नातिनालाई लिएर जाने गरेको जहदी ताजपुरीयाले बताउनुभयो । हामी सिकाउने प्रयास त गर्छांै तर उनीहरुलाई अहिलेको चालचलनले छोइसकेको छ, उहाँले भन्नुभयो । ढोल्सना नाच तथा गीत सुनेर बुझ्नेहरु धुरुधुरु रुने समेत बताइन्छ ।

समाजको पीडा र व्यथा सबै यसमा आउने भएकाले यसले रुवाउने बताईएको हो । पोष्टु ताजपुरीयाका अनुसार छोरी चेलीलाई अन्माउँदा सम्झाइबुझाइ गर्न सबै मिलेर गाइने र नाचिने ढोल्सना अहिले कमैमात्र देख्न र सुन्न पाइन्छ ।

पत्रकार आत्माराम राजवंशीका अनुसार माया प्रेमका कथाहरू, कुरीतिहरू, संस्कारलाई गीत तथा नाचका माध्यमबाट समाजका मानिसहरूलाई जानकारी गराउनुका साथै सचेत गराउन टोल टोलमा गाउँ गाउँमा गएर नाच्ने गरिन्छ । पूर्खाहरूले विशेष पर्वहरूमा नाच्ने गीत गाउने गरेको इतिहास रहेको छ ।

विष्णुप्रसाद पाेख्रेल / गाेरखापत्र अनलाईनबाट

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  २ : २० बजे