५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

बैगुन्धुरामा पनि अनियमितता


३२ श्रावण २०७६, शनिबार  

0
Shares

20190817_150813

गौरादह ३२, साउन / गौरादह नगरपालिका वार्ड नं. ९ वैगुन्धुरामा चैते धान लगाएका किसानहरुका नाममा निकासा भएको रकम वितरण कार्यमा अनिमितता भएको खुलासा भएको छ । कृषि ज्ञान केन्द्र भद्रपुर झापाबाट कन्काई नहर जल उपभोक्ता संस्था मार्फत सो क्षेत्रका किसानहरुलाई अनुदान वापत २० लाख ३१ हजार रुपैयाँ कर कट्टी गरी निकासा भएको थियो । कन्काई नहर जल उपभाेत्ता संस्थाले नेपाल सरकारबाट किसानहरुको लागि निकासा भएको रकम किसानहरुसम्म ल्याई पुर्याउन संस्थाले किसानहरुको धनीपुर्जा र नागरिकताको प्रतिलिपी लिएको थियो । किसानहरुलाई कुनै प्रकारको जानकारी आवश्यक कागजात लिएर सम्बन्धित निकायमा पेश गरी रकम निकासा गराई भरपाई अनुसारको रकम नदिई कम रकम बुझेको किसानहरुले गुनासो गरेका छन् । चैते धान अनुदान रकम वितरण गर्न संस्थाले सो क्षेत्रमा नहर जल उपभोक्ता संस्थाको शाखा नं. १६ देखि २१ सम्म जम्मा १० वटा कलस्टर कायम गरेको थियो । जस अन्तरगत शाखा नं. १६ मा २वटा, १८ मा ४ वटा १९ माम २ वटा र २१ मा २ वटा क्लस्टर कायम गरी प्रत्येक क्लस्टरमा बढीमा ३० किसान पर्ने गरी क्लस्टर कायम गरेको थियो ।
कन्काई सिंचाई जल उपभोक्ता संस्थाका पदाधिकारीहरुले किसानहरुसंग आवश्यक कागजात लिदा कुन कामको लागि मागिएको हो ? किन मागिएको हो ? सो समयमा केही नखुलाएको र अन्तिम समयमा पैसा मात्र बुझाएका छन् । तर कति पैसा पाउने हो कहाँबाट आएको त्यो भने आफुहरुलाई थाहा नभएको किसानहरुले गुनासो गरेका छन् ।
गौरादह नगरपालिका वार्ड नं. ९ वडा अध्यक्ष सीताराम भट्टाराईले किसानका लागि आएको रकममा अनियमितता गर्ने जो सुकैलाई पनि कानुनी कारवाही गरिनु पर्ने बताउदै कृषि ज्ञान केन्द्रले वडा कार्यालयसंग समन्वय नगरी आफु खुशी रकम संस्थालाई जिम्मा दिई रकम निकासा गराएको र किसानले रकम पाए नपाएको अनुगमनसमेत नगरेको जानकारी गराए । वडा नं. ९ की तत्कालिन कार्यवाहक अध्यक्ष यम कुमारी प्रधानले नहरको कलस्टर निर्धारणका लागि सिफारिस लिन आएकाले आफुले दिएको सिफारिस दिएको जानकारी दिइन् ।
नहरको शाखा नं. १८ कलस्टरकी सरस्वती वस्नेतले ४ हजार ९ सय २५ को भर्पाईमा सही गरेपनि २ हजार ३ सय पच्चीस मात्र बुझेको बताइन् । त्यस्तै सोही कलस्टरकी मेनुका भट्टराईले ६ हजार ६ सय ६६ काे भर्पाइमा हस्ताक्षर गरेपनि ४ हजार ७ सय बुझेको बताइन । त्यस्तै १ विघा खेती गरेकी सारथी मिस्त्रीले ६ हजार ६ सय ६६ रुपैयाँ पाउनु पर्नेमा १२ सय मात्र पाएको गुनासो गरिन् ।
किसानहरुले भर्पाइ गरेको कागजात कृषि ज्ञान केन्द्रबाट लिएर किसानको घर आगनमा पुगि बुझेको रकमको बारेमा जानकारी लिदा कम रकम पाएको स्थानिय लिला राईले बताए । कृषि ज्ञान केन्द्रमा पेश गरेको रकमको भर्पाइ र किसानहरुले बुझेको रकम फरक पर्न गएपछि यस कार्यमा संलग्न व्यत्तिलाई कारवाहीको माग गर्दै सम्बन्धित निकायमा जान पहल गर्ने उनले बताए । कन्काई नहर जल उपभोक्ता संस्था अध्यक्ष कमल भण्डारीले कृषि ज्ञान केन्द्रकाे नियम अनुसार नै संस्थाले किसानहरूलाई अनुदान रकम वितरण गरेकाे बताए ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार  ९ : २९ बजे