काठमाडौँ ५, श्रावण / नेपाली कांग्रेसले सातै प्रदेशमा पार्टीको महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आइतबार बसेको बैठकले यही साउन १६ गतेदेखि सातै प्रदेशका १२ स्थानमा दुईदिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । कांग्रेसका उपसभापति एवं प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिको अध्यक्षतामा बसेको प्रतिष्ठानको बैठकले डा. जगदीशचन्द्र पोखरेलको संयोजकत्वमा प्रतिष्ठानको आधार पाठ्यक्रम निर्माण समिति गठन गरेको कांग्रेस केन्द्रीय कार्यालयका सचिव मुक्ति आचार्यले जानकारी दिए । समितिका सदस्यमा डा. आरजु देउवा, हरिहर विरही, राजु नेपाल र प्रशिश महरा रहेका छन् ।