४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति चाँडै तोक्ने तयारी


२० माघ २०७५, आइतबार  

0
Shares

20190203_111549
काठमाडौं २०, माघ/
त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति चाँडै तोक्ने तयारी थालेको छ । त्रिविका रजिष्ट्रार डिल्लीप्रसाद उप्रेतीले स्ववियु निर्वाचनको मिति अझै नतोकिएकाले चाँडै तोक्नेबारे छलफल भइरहेको जानकारी गराए । केही सञ्चारमाध्यमले स्ववियु निर्वाचन मिति फागुन १४ गते भनेर प्रकाशित गरेको प्रति आपत्ति जनाउँदै निर्वाचनको मिति अझै नतोकिएको उनले बताए ।

‘‘हामीले साधारणतया फागुन १४ गते निर्वाचन गर्ने तयारी गरेका हौ’’ उनले भने, ‘‘तर अहिलेसम्म स्ववियु निर्वाचनको मिति तोकिएको छैन, चाँडै नै त्रिवि कार्यकारी परिषद्को बैठकले निर्वाचनको मिति तोक्ने छ ।’’

प्रत्येक दुई दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालयता सबै क्याम्पसमा हुनसकेको छैन । विद्यार्थी सङ्गठनबीच निर्वाचन प्रणाली र उमेर हदबन्दीको विषयमा सहमति हुन नसक्दा निर्वाचन हुन नसकेको हो । विसं २०७३ मा २८ वर्षे उमेर हदबन्दी र समानुपातिक निर्वाचन प्रणाली अपनाइएको स्ववियु निर्वाचनमा अधिकांश क्याम्पसमा विद्यार्थी सङ्गठनका कारणले हुन सकेको छैन ।

त्रिविका विद्यार्थी कल्याण तथा खेलकूद निर्देशालयका कार्यकारी निर्देशक गङ्गाबहादुर थापाले फागुन महीनाभित्र स्ववियु निर्वाचन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिने बताए यसअघि उनले नै पुस २२ गते सबै देशभरिका त्रिविका सम्बन्धन प्राप्त क्याम्पसका क्याम्पस प्रमुखलाई स्ववियु निर्वाचनको तयारी थाल्न निर्देशन दिएका थिए ।

विसं २०७३ फागुन १८ गते भएको स्ववियु कार्यसमितिको कार्यकाल दुई वर्ष सकिन थालेकाले निर्वाचनको तयारी थाल्न निर्देशन दिइएको कार्यकारी निर्देशक थापाले बताए । उनले अघिल्लो पटक विभिन्न कारण स्ववियु निर्वाचन सम्पन्न गर्न नसकेका क्याम्पसमा समेत यसवर्ष विद्यार्थी सङ्घ सङ्गठनको सहमतिमा निर्वाचन गरिने बताए ।

उनका अनुसार गत निर्वाचनमा ६० मध्ये २६ आङ्गिक क्याम्पस र ८० वटा सामुदायिक क्याम्पसमा निर्वाचन भएको थियो । त्रिविका ६० आङ्गिकसहित एक हजार ८३ क्याम्पस रहेका छन् । त्रिविले अध्यक्ष, सचिव र कोषाध्यक्षसहित ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन र उपाध्यक्ष, सहसचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीमा निर्वाचन गर्दै आएको छ ।

अनेरास्ववियुले स्ववियु निर्वाचनको मिति तोक्नेबारेमा त्रिविसँग विद्यार्थी सङ्गठनको छलफल भइरहेको बताएको छ । रासस

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  ५ : ३१ बजे