१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बहुमत प्राप्त सरकारले जनताको पक्षमा काम गर्न चाहेन : पुर्व महामन्त्री सिटौला


२ माघ २०७५, बुधबार  

0
Shares

20190116_180752
विर्तामोड २, माघ / नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले चिकित्सा शिक्षा विधेयकको विषय लिएर अनसनमा बसेका डा. गोविन्द केसीका माग सरकारले पूरा गर्नुपर्ने बताउनु भएको छ ।
नेपाल प्रेस युनियन झापा शाखाद्वारा आयोजित पत्रकार भेटघाटमा बोल्दै पूर्व गृहमन्त्री समेत रहनु भएका सिटौलाले वर्तमान सरकार आफैंले ४ महिना अघि डाक्टर केसीसंग गरेको सम्झौता कार्यान्वयन गर्न कुनै समस्या नभएको बताउँदै अहिंसामा आधारित सत्याग्रहलाई कमजोर ठान्नु नहुने बताउनु भयो ।
पत्रकार भेटघाटमा परिवर्तन र आन्दोलनका पक्षमा साथ दिने जनता निराश हुनु परेको बताउनु उहाँको भनाई थियो । संविधानभित्रै बाट सरकारले जनतालाई धेरै कुरा दिन सक्ने भएपनि सरकार असफल भएको बताउनु भएको हो ।
दुईतिहाई बहुमत प्राप्त सरकारले जनताको पक्षमा काम गर्न चाहे कुनै समस्या नरहेको टिप्पणी गर्दै कांग्रेस केन्द्रीय सदस्य समेत रहनु भएका सिटौलाले सरकार बलियो भएपनि देश र जनता कमजोर भएको बताउनु भयो । उहाँले भन्नुभयो ‘लोकतन्त्रमा जनता कमजोर हुनु किमार्थ स्वीकार्य हुँदैन ।’ आफ्नै जिल्लाका सहकर्मी प्रधानमन्त्रीले सरकारको कामको आत्मसमिक्षा गर्र्नुपर्ने बताउँदै सिटौलाले थप्नुभयो,‘शक्तिशाली सरकार भएका बेला जनता किन निराश हुनुप¥यो, प्रधानमन्त्रीले आत्मसमिक्षा गर्र्नुपर्छ, ढिला सुस्ती र गल्तीलाई बुझेर अघि बढ्न आग्रह गर्छु ।’ सरकारले गल्ती गरोस् र प्रतिपक्षलाई फाइदा होस् भन्ने पक्षमा कांग्रेस नरहेको स्पष्ट पार्दै उहाँले राष्ट्र र जनताको हितमा अधिकतम काम गरेर देखाउन प्रधानमन्त्रीलाई सुझाव दिनुभयो । ‘सरकार काम गर्दैन प्रतिपक्षी बोल्दैन’ सिटौलाले भन्नुभयो
सामुदायिक विद्यालय तथा स्वास्थ्य चौकीहरुमा निर्वाचित प्रतिनिधिको त्रासदीका डण्डा वर्षन थालेको बताउँदै सिटौलाले भन्नुभयो, ‘अराजकता बढ्दै गएको छ, यसले गुणस्तर खस्किन्छ ।’
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार हुन थालेको बताउँदै सिटौलाले संविधानमै प्रस्तावनामाथि नै प्रहार हुन थालेको बताउनु भयो । सञ्चारमाध्यम र सर्वोच्च अदालतलाई पनि आफू अनुकुल बनाउन खोजेको बताउँदै अब न्यायालयमा पनि दुईतिहाईको डण्डा बर्षिने खतरा बढेको बताउँदै भन्नुभयो, ‘कर्मचारी भर्तीदेखि सम्पूर्ण कुरामा राजनीतिकरण हुन थालेको भान हुन थालेको छ ।’
सरकारमा रहेका मानिसहरुमा दम्भ र उदण्डता बढेको टिप्पणी गर्दै सिटौलाले भन्नुभयो, ‘यसले अन्तराष्ट्रिय रुपमा पनि सरकारको छवि राम्रो जाँदैन ।’ कांग्रेसलाई पनि जनताले बोल्ने अधिकार दिएको उहाँले बताउनु भयो ।
सो अवसरमा नेपाली कांग्रेस झापाका उपसभापति राम कट्टेल तथा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य गोविन्दचन्द छेत्रीकोको समेत उपस्थिति रहेको थियो ।
नेपाल प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेलीको अध्यक्षतामा सम्पन्न पत्रकार भेटघाटमा निर्वतमान अध्यक्ष कृष्ण हुमागाँईले स्वागत तथा सचिव डिल्लीराम घोसाईले सञ्चालन गर्नुभएको थियो ।

प्रकाशित मिति : २ माघ २०७५, बुधबार  १२ : २५ बजे