५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

अलकचन राजवंशीको हत्यारा खोजी, आइजीलाई फोन गरेपछि अनुसन्धान सुरू


२४ पुस २०७५, मंगलबार  

0
Shares

20190108_192222

गाैरीगंज २४, पुस /

घटना कात्तिक २१ गतेको हो। भारतीय भूमि किसनगञ्जको सिंगीमारीमा एक नेपालीको शव हत्या भएको अवस्थामा फेला परेको थियो। कनकाई खोलाको बगरस्थित काँसघारीमा सडिएको अवस्थामा गोठालाले उक्त शव देखे। उक्त शव गौरीगञ्ज गाउँपालिका वार्ड नम्बर २ कोरोबारी बस्ने ५५ वर्षीय अलकचन राजवंशीको भएको स्थानीय र प्रहरीले ठम्याए।

भारतकोे किसनगञ्जस्थित खरखरिया बस्ने दिना नामका एक व्यत्तिले पाँच दिनअघि अलकचनलाई बोलाएर लगेका थिए। धामी–झाँक्रीको काम गर्ने राजवंशीलाई झारफुकका लागि बोलाएर लगेको उनका छोरा उदयलाल राजवंशीले जानकारी दिए।

राजवंशी पाँच दिन अघिदेखि परिवारसँग बेखबर थिए। दिना भारतीय नागरिक हुन्। अनुसन्धानले दिनाले नै अलकचन राजवंशीको हत्यामा संलग्न रहेको खुल्यो ।

भारतीय भूमिमा नेपालीको हत्या भारतीयबाटै भएकाले नेपाल प्रहरीलाई कानुनी रुपमा नेपालमा पीडितको जाहेरी बुझ्न सजिलो थिएन। मृतकका छोरा उदयले आफ्ना बाबुको हत्यारा आफ्नै ठाँउमा वरिपरि घुमिरहँदा पनि किटानी जाहेरी दिन सकेनन्।

उदय भन्छन्, ‘भारतीय प्रहरीमा एफआइआर दर्ज गर्दा १५–१५ दिनमा आइरहनुपर्छ भनेर भारतीय प्रहरीले भनेपछि उता दर्ता गरिनँ।’ गाउँको इलाका प्रहरी कार्यालयले किटानी जाहेरी मात्रै लिन्छौं भनेपछि जाहेरी नदिएको उनले बताए।

देखिएकोे हत्याराविरुद्ध खुलेर बोल्ने साहस स्थानीय कसैले गरेनन्। स्थानीय राजनीतिक दलका नेता–कार्यकर्ताले मृतकको घर पुगेर समवेदना दिए। तर, अपराध अनुसन्धानको विषयमा चुइँक्क कोही बोलेनन्।

पुस २० गते नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका प्रवक्ता विश्वप्रकाश शर्मा गौरीगञ्ज र गौरादहका केही कार्यक्रममा पुगे। उनलाई गौरीगञ्ज गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष अघनु राजवंशीले घटनाको बेलिविस्तार लगाए।

गौरादहको कार्यक्रम छोट्याएर नेता शर्मा मृतकको घरैमा पुगे। घटनाको यथार्थ परिवारबाट पनि बुझेपछि नेता शर्माले गोजीबाट मोबाइल झिकेर नेपाल प्रहरीका आइजी सर्वेन्द्र खनाललाई सबै विवरण बताए।

शर्माको फोनबाट नेपाल प्रहरी र भारतीय प्रहरीले पनि घटनाको अनुसन्धान सोमबारबाट सुरू गरेको छ। झापा प्रहरी प्रमुख भीम ढकाल भन्छन्, ‘भारतीय प्रहरीको सहयोगमा किटानी जाहेरी दर्ता हुन्छ र कानुन अनुसार पीडितले न्याय पाउँछ।’

हत्या गरिएका अलकचनलगायत उनका परिवार तत्कालीन नेकपा माओवादी समर्थक हुन्। नेता शर्माले पीडितलाई न्याय दिने उद्देश्यले निर्वाह गरेको भूमिकाले पीडितले न्याय पाउनेमा स्थानीय आशावादी देखिएका छन्।
सेताेपाटीबाट

प्रकाशित मिति : २४ पुस २०७५, मंगलबार  १ : ३८ बजे