१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

हल्दीबारी गाउँपालिकामा पशुलाई सुत्केरी भत्ता


१० मंसिर २०७५, सोमबार  

0
Shares

20181126_184141

दमक १, मंसिर / हल्दीबारी गाउँपालिकाले कृतिम गर्भधान गरेर सुत्केरी भएका पशुलाई ‘सुत्केरी भत्ता’ दिने भएकाे छ ।
गाउँपालिकाले मंसिर ३ पछि सुत्केरी भएका गाई र भैंसीलाई पोषणबापत प्रतिपशु हजार रुपैयाँका दरले ‘भत्ता’ दिन लागेको हो ।

गाउँपालिकाले चालू वर्ष ‘किसानको खुसी, पशुपालन र कृषि’ कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रम अन्तर्गत पशु नश्ल सुधारका लागि पशुलाई सुत्केरी भत्ता दिने निर्णय गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताए ।

भत्ताबारे गाउँपालिकाले आइतबार सूचना जारी गरेको छ । भत्ताका लागि पशुधनीले आफ्नो नागरिकताको प्रतिलिपि र पशुमा कृत्रिम गर्भाधान गराएको प्रमाणपत्र सहित निवेदन दिनुपर्ने अधिकृत घिमिरेले बताए ।

किसानलाई व्यावसायिक पशुपालनतर्फ आकर्षित गर्न यो कार्यक्रम ल्याइएको उनको भनाइ छ । गाउँपालिकाले गत वर्ष ४ सय ५० गाई र भैंसीको नश्ल सुधारका लागि कृतिम गर्भाधान गराएको थियो । तीमध्ये १ सय ५० भन्दा बढी गाई–भैंसी ब्याएको उनले जनाए ।

‘किसानको खुसी, पशुपालन र कृषि’ कार्यक्रमलाई गाउँपालिकाले ६० लाख विनियोजन गरेको छ । यस वर्ष कृतिम गर्भाधान गरेकामध्ये ४ सय गाई–भैंसीलाई सुत्केरी भत्ता दिने लक्ष्य राखेको घिमिरेले बताए ।

लैनो र ब्याएका गरी ८ सय ५० गाई र भैंसी रहेको गाउँपालिकाको तथ्यांकमा छ । गाउँपालिकाभित्र १२ वटा पशुफार्म दर्तावाला छन् भने ४० फार्म तथा समूह दर्ता प्रक्रियामा रहेको पशु सेवा प्राविधिक यामबहादुर लिम्बूले बताए ।

परम्परागत पशुपालनबाट किसानको जीवनस्तर उकास्न नसकिने भएकाले उन्नत जातको पशुपालनमा प्रेरित गर्न यो कार्यक्रम ल्याएको लिम्बूको भनाइ छ । भत्ताले किसानलाई पशुपालनमा व्यावसायिक र थप परिष्कृत बनाउने उनले बताए । लिम्बूका अनुसार सुत्केरी भत्ता पाउने भएपछि किसान उत्साहित छन् ।

गाउँपालिकाले किसानलाई पशु बिमा कार्यक्रममा समेत सहयोग गर्ने भएको छ । पशु शाखाका अनुसार दुई सय किसानले पशु बिमा गरेका छन् । तर, उनीहरूमध्ये धेरैले यो वर्ष नवीकरण गरेका छैनन् । बिमा नवीकरण नगरेकालाई सहयोग गर्ने निर्णय गर्दै बिमित रकममा ब्यहोर्नुपर्नेमध्ये ५० प्रतिशत गाउँपालिकाले अनुदान दिने निर्णय गरेको हो ।

ईकान्तिपुरबाट

प्रकाशित मिति : १० मंसिर २०७५, सोमबार  १२ : ५८ बजे