१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

वीरता जेसीजको सहयोग पाउँदा विपन्न ६० बालबालिका फुलपातीमा फुरुङ्ग


३० आश्विन २०७५, मंगलबार  

0
Shares

1

विर्तामोड ३०, असोज /
झापाको कनकाई नगरापालिका–१ प्रजापतिस्थित पशुपति प्राविका ६० बालबालिकालाई वीरता जेसीजले विभिन्न सामग्री सहयोग गरेको छ ।
बिर्तामोडस्थित वीरता जेसीजले आर्थिकरुपमा अति विपन्न अभिभावकका ती बालबालिकालाई ब्याग, जुत्ता–मोजा, टिफीन बक्स, पानी पिउने बोतल, कापी, जमेट्री बक्स लगायतका सामग्री प्रदान गरेको हो । वीरता जेसीजले ती बालबालिकालाई टाई र बेल्ट समेत प्रदान गर्ने घोषणा गरेको छ ।
मंगलबार विद्यालयमा आयोजित समारोहका प्रमुख अतिथि जेसीज पूर्व अध्यक्ष समाज झापाका अध्यक्ष विनोद बस्नेतले बालबालिकालाई सामग्री प्रदान गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको समारोहमा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी कृष्णप्रसाद कोइराला, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजेश राई, कनकाई–१ का कार्यवाहक वडाध्यक्ष देवी अधिकारी, प्रजापति सामुदायिक वनका अध्यक्ष सूर्यकुमार थापा, वीरता जेसीजका अध्यक्षका पिता तथा स्थानीय अग्रज मानबहादुर गिरीले बालबालिकालाई ती सामग्री वितरण गरेका थिए ।
फूलपातीका दिन विद्यालय विदा भए पनि दशैंको समेत परवाह नगरी बालबालिकाहरु आफ्ना अभिभावकका साथ उत्साहितरुपमा उपस्थित थिए । आफूलाई आवश्यक विभिन्न सामग्रीहरु पाउँदा उनीहरु खुशीले हर्षित देखिन्थे । विद्यालयका प्रधानाध्यापक गोविन्द चौहानले स्वागत गरेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष एवम् वीरता जेसीजका पूर्व अध्यक्ष समेत रहेका विनोद बस्नेतले मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने यथार्थलाई आत्मसाथ गरी जेसीजले आयोजना गरेको कार्यक्रमको प्रशंसा गरे ।
बस्नेतले आर्थिकरुपमा विपन्नहरुलाई मन भएकाहरुले सहयोग गर्ने हो भने कुनै पनि बालबालिकाले शिक्षा आर्जनका लागि अभाव झेल्नु नपर्ने बताए । विशिष्ट अतिथि कनकाईका प्रमुख पोखरेलले आफ्नो नगरमा वीरता जेसीजले आर्थिकरुपमा अति विपन्न तथा सिमान्तकृत परिवारका बालबालिका अध्ययन गर्ने विद्यालयलाई छनौट गरेर सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरे ।
वीरता जेसीजका महासचिव विनोद पाण्डेले सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष जीवन खड्काले आस्था वाचन, कानूनी सल्लाहकार दिवाकरलाल चौधरीले जेसीआई मिसन भिजनको वाचन र उपाध्यक्ष युवराज कुँवरले नेपाल जेसीज र वीरता जेसीजको यस वर्षको प्रकरण वाचन गरेका थिए ।
कार्यक्रममा स्थानीय अभिभावक तथा अग्रजहरुको उल्लेख्य सहभागिता रहेको विद्यालयका शिक्षक खेम कार्कीले जानकारी दिए । वीरता जेसीजले यस वर्ष जेसीहरुको जन्मदिन सामाजिक सेवामा समर्पणका साथ मनाउने कार्य अन्तर्गत संस्थाका पूर्व अध्यक्ष विनोद बस्नेतको जन्मदिनको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको शाखा सम्पादक तुलसीप्रसाद निरौलाले बताए ।

प्रकाशित मिति : ३० आश्विन २०७५, मंगलबार  ७ : १८ बजे