११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

१ नम्बर प्रदेशसभाको दोस्रो अधिवेशन सकियाे, २३ वटा बिधेयक पारित


२४ आश्विन २०७५, बुधबार  

0
Shares

20181010_072007
विराटनगर २४, असाेज/
१ नम्बर प्रदेशसभाको दोस्रो अधिवेशन सकिएको छ । संसदको वर्षे अधिवेशन अन्त्य भएको जानकारी गराउँदै सभामुख प्रदीपकुमार भण्डारीले गत जेठ १७ गते प्रारम्भ भएको प्रदेशसभा १ सय ३० दिन चालू रहेको जानकारी दिए । जसमध्ये ५२ वैठकमा ५८ पटक बैठक बसी जम्मा ६० घण्टा १५ मिनेट संसदीय काममा व्यतित भएको उनको भनाईछ । दोस्रो अधिवेशनबाट प्रदेशसभामा गत जेठ २६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको सदनलाई जानकारी गराए ।
यो अबधिमा प्रदेशसभाले वार्षिक नीति तथा कार्यक्रम, बजेट, तथा १२ वटा विधेयकहरु पारित गरेको छ । पारित विधेयकहरुमा प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, प्रदेश रेडियो, एफएम र टेलिभिजन प्रसारण सम्बन्धमा बनेको विधेयक, विनियोजन विधेयक, जिल्लाको काम कर्तव्य र अधिकार सम्बन्धमा बनेको विधेयक, अन्तर प्रदेश बासिन्दाको समान व्यवहार सुरक्षा र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, विपद् व्यवस्थापन सम्बन्धमा बनेको विधेयक, प्रदेश सामाजिक विकास संस्था विधेयक रहेका छन् ।
यस्तै प्रशासकीय कार्यविधि नियमन गर्ने विधेयक, प्रदेश वित्त व्यवस्थापन सम्बन्धी विधेयक, प्रदेश कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धमा बनेको विधेयक, प्रदेश घरेलु हिंसाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र सिंचाई सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि प्रदेशसभाले पारित गरेको छ ।
प्रदेशसभाको समितिमा प्रदेश सुशासनको प्रत्याभूति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न विधेयक छलफलमा रहेको छ । यस्तै प्रदेशको खेलकुद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संशोधनका लागि सूचना दिएर स्थगित भएको छ । यस्तै प्रदेशसभामा विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र भवन निर्माण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता रहेको सभामुख भण्डारीले बताए ।
प्रदेशसभाको पहिलो अधिवेशनले ११ वटा विभिन्न विधेयक पारित गरेको थियो । यो सँगै प्रदेशसभाले अहिलेसम्म २३ वटा विधेयक पारित गरेको छ । सभामुख भण्डारीले प्रदेश प्रमुख डाक्टर गोविन्दबहादुर तुम्बाहाङले प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य गर्न सभामुखलाई पठाएको पत्र पढेर सुनाएलगत्तै प्रदेशसभा अन्त्य भएको घोषणा गरेका थिए ।

प्रकाशित मिति : २४ आश्विन २०७५, बुधबार  १ : ३५ बजे