१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

झापामा दुर्घटना न्यूनीकरण महाअभियान 


२ आश्विन २०७५, मंगलबार  

0
Shares

FB_IMG_1537257415029

बिर्तामोड २, असोज /

झापामा मंगलबार दुर्घटना न्यूनीकरण महाअभियान २०७५ सञ्चालन भएको छ । वीरता जेसीज र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको आयोजनामा दुर्घटना न्यूनीकरणमा टेवा पुर्याउन महाअभियान अन्तर्गत विभिन्न कार्य सम्पन्न गरिएको छ । 

पूर्व–पश्चिम राजमार्गका लागि बिर्तामोडमा र मेची राजमार्गका लागि चारआलीमा एकसाथ उक्त अभियान सञ्चालन गरिएको हो । चारआलीका लागि वीरता जेसीज र ट्राफिक प्रहरीसँगै स्थानीय आयोजकको भूमिका नविन युवा क्लवले निर्वाह गरेको थियो । महाअभियानमा जिल्लाका ५० बढी सक्रिय सामाजिक संस्थाले सहभागिता जनाएका थिए । 

महाअभियानमा विभिन्न एक हजार सवारीसाधनका चालकलाई खादा र अविर पहिर्याएर सम्मान गर्दै चकलेट प्रदान गरिएको थियो । त्यसक्रममा सबै चालकलाई ‘आजका दिनसम्म राम्रोसँग गाडी चलाउनुभएकोमा धन्यवाद छ । अबका दिनमा अझ जिम्मेवारीपूर्वक गाडी चलाएर दुर्घटना न्यूनीकरणमा टेवा पुर्याउनु हुन अनुरोध छ’ –भनी सम्मानसहित सकारात्मक प्रेरणा दिइएको थियो । 

त्यस्तै, चेतनामुलक विभिन्न नारा लेखिएका तीन हजार स्टीकर टास्नुका साथै ५० हजार पर्चा वितरण गरिएको थियो । महाअभियान अन्तर्गत नै दुर्घटना न्यूनीकरणका लागि चेतनामुलक सडक कविता प्रतियोगिता समेत सम्पन्न भएको छ । 

वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको महाअभियानको उद्घाटन १ नम्बर प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले गरेका थिए । प्रमुख अतिथि रिजालले सो अवसरमा चालकहरुलाई सम्मान गर्दै गाडीमा स्टिकर समेत टाँसेका थिए । 

कार्यक्रममा झापाका सहायक प्रमुख जिल्ला अधिकारी माधव पोखरेल, झापाका उत्कृष्ट नागरिक तथा सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी, जेसीज पूर्वअध्यक्ष समाज झापाका अध्यक्ष विनोद बस्नेत, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख राजेश राईले दुर्घटना न्यूनीकरणका लागि जनचेतना र सकारात्मक सन्देश प्रवाह गर्न यो महाअभियान प्रभावकारी भएको बताए । 

कार्यक्रममा १ नम्बर प्रदेश ट्राफिक प्रहरी प्रमुख रविकुमार पौडेल, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख भिमप्रसाद ढकाल, इप्रका बिर्तामोडका प्रमुख कृष्णप्रसाद कोइराला, बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्नीप्रसाद पाण्डेले समेत महाअभियान उत्कृष्ट भएको भनी प्रशंसा गरेका थिए । 

चारआलीबाट  ताप्लेजुङ जाने आउने तथा स्थानीय रुटका गाडीका चालकलाई चारआलीमा सम्मान गरिएको अभियानमा सहभागी गोपाल अधिकारीले बताए । सडक कविता प्रतियोगितामा विवेक निशानी प्रथम, भिजन गुरागाई द्वितीय तथा प्रकृति शर्मा र गृष्मावेश प्रसाईं तृतीय भएका थिए । ३२ जनाले सहभागिता जनाएको कविता प्रतियोगितामा उत्कृष्टलाई नगद पुरस्कार तथा प्रमाणपत्र र सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । 

सञ्चारकर्मी तथा साहित्यकारहरु लक्ष्मण ढकाल, केशव भट्टराई र लीला अनमोलले निर्णायकको भूमिका निर्वाह गरेका थिए । 

सडक कविताका सहभागीहरुः 

कविता प्रतियोगितामा चन्द्रकान्त ढकाल, डिएन लुइँटेल, सोहिल पाण्डे, उज्वल खरेल, ऋचा सापकोटा, निष्मा भण्डारी, मनिष पाण्डे, प्रतिक्षा ओझा, भावना सेढाई, मातृका संग्रौला, आकाश बराइली, युनिषा तामाङले कविता वाचन गरेका थिए । त्यस्तै रितीका खरेल, एलिसा महरा, दिपशीखा नेपाल, कृति बस्नेत, प्रशंसा पोखरेल, प्रनिष बस्नेत, दिनेश बास्कोटा, निशा भट्टराई, निष्मा ढकाल, रविना न्यौपाने, ईश्वरा शिवाकोटी, रचना खनाल, रमा शिवाकोटी, ज्ञानमणि पोखरेल, विवेक पोखरेल र मिना अधिकारीले कविता वाचन गरेका थिए । उनीहरु सबैले सडक दुर्घटना न्यूनीकरणका लागि चेतनामुलक कविता प्रस्तुत गरेका थिए । त्यस्तै विराट किराती र सुनिता तामाङले अप्रतियोगी रचना वाचन गरेका थिए ।

कार्यक्रममा दुर्घटना न्यूनीकरण संयोजक कमल श्रेष्ठले जेसीआई मिसन भिजन वाचन, सह संयोजक मनोज साहले आस्था वाचन र कविता प्रतियोगिताका संयोजक दिवाकरलाल चौधरीले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव विनोद पाण्डे र शाखा सम्पादक तुलसीप्रसाद निरौलाले गरेका थिए । 

महाअभियानमा सहभागी संस्थाहरु ः 

दुर्घटना न्यूनीकरण महाअभियानमा लेट्स रन नेपाल, दाह्री ग्याङ्ग, नेपाल रेडक्रस सोसाइटी झापा तथा बिर्तामोड उपशाखा, नेपाल सडक सुरक्षामा युवा (वाईआरएस), राष्ट्रिय उपभोक्ता मञ्च, बिर्तामोड उद्योग वाणिज्य संघ, नेपाल चेम्बर अफ कमर्श झापा, जेसीज पूर्व अध्यक्ष समाज झापा, देवी पञ्चकन्या मर्निङवाक गु्रप, नेप्लिज टिन्स, पहिलो पाइँला नेपाल, क्रिएटिभ नेप्लिज युथ, वीरता लेडी जेसीज, बिर्तामोड सरसफाई अभियान, रोटरी क्लव अफ बिर्तामोडले सहभागिता जनाएका थिए । 

त्यस्तै, रोटरी क्लव अफ मिड टाउन बिर्तामोड, लाइन्स क्लव अफ बिर्तामोड, लाइन्स क्लव अफ बिर्तामोड सिटी, लाइन्स क्लव अफ अनारमनी, डब्लुआरआर झापा, एमआरआर, हेल्पिङ हेड्स, २५+ समूह, महिला उद्यमी संघ, उद्यमशील महिला संघ, छठ समाज सेवा समिति बिर्तामोड, राउण्ड टेबल अफ बिर्तामोड, मारवाडी सेवा समिति तथा महिला युवा र कन्या मञ्च समेत सहभागी भएका थिए । 

त्यस्तै रौनियार सेवा समिति, नेवाः पासाः मुना पुचः, नेपाली आमा समूह, कोचिला महिला फ्रण्ट बिर्तामोड, रोट्रयाक क्लव अफ बिर्तामोड तथा बिर्तामोड मिड टाउन, लियो क्लव अफ बिर्तामोड सिनियर, लियो क्लव अफ अनारमनी, महिला मुक्ति अभियान बिर्तामोड, युनाइटेड रिभर साइड युथ फाउण्डेशन, नेपाल सिएमए संघले समेत सहभागिता जनाएका थिए । त्यस्तै विभिन्न कलेज र विद्यालयले समेत सहभागिता जनाएका थिए । बुधबारे जेसीज, चारआली जेसीज र धुलाबारी जेसीजले पनि सहभागिता जनाएका थिए । 

महाअभियानको परिकल्पना ः

वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेत तथा पञ्चकन्या  मर्निङवाक गु्रपको परिकल्पनामा तीन वर्षअघि हरेक वर्ष असोज २ गते दुर्घटना न्यूनीकरण प्रस्तावित दिवसको रुपमा महाअभियान सञ्चालन गरिँदै आएको छ । 

पहिलो वर्ष परिकल्पनाकार बस्नेत मुल संयोजक, मदनगोपाल सुब्बा सहसंयोजक सहितको टिमले उक्त महाअभियानको प्रारम्भ गरेको थियो । असोज १ गते विश्वकर्मा बाबाको पूजा गरिने र २ गते उक्त अभियान सञ्चालन गर्दा चालकहरुको मनमष्तिष्कमा यो अभियानले सकारात्मक प्रभाव पार्न सक्ने ठहर गरी अभियान सञ्चालन गरिँदै आएको छ । 

सहयोगी संस्थाहरु ः 

हलेसी इन्टरप्राइजेज (बजाज रि टेम्पो), युनाइटेड ब्रदर्श एलायन (फोर्ड गाडी), सकुशल टे«ड लिङ्क (महेन्द्रा गाडी), विशाल इन्टरनेशनल (केटिएम, डुके बाइक), कान्तिपुर अटो मोबाइल (टोयटा गाडी), एसएनएस इन्टरप्राइजेज (हिरो मोटरसाइकल), सहारा अटो मोवाइल्स (टिभिएस टेम्पो, अशोक लिलेण्ड र रेनल्ट गाडी)ले महाअभियानमा सहयोग पुर्याएका थिए । 

त्यस्तै कपुरी ब्रदर्श (होण्डा मोटरसाइकल र मारुती गाडी), अलस्का अटो मोवाइल्स (टाटा गाडी), मेची पावर मोवाइल (बजाज मोटरसाइकल), साई अटो मोवाइल प्लाजा (महेन्द्रा मोटरसाइकल), पाथीभरा अटो लिङ्क (टिभिएस मोटरसाइकल), केसरीचन्द भवरलाल प्रालि (निशान, ड्याटसन गाडी), पाथीभरा सप्लायर्स एण्ड टे«डर्स (स्वराज ट्याक्टर), द हवी अटो टे«डिङ (आयशर ट्याक्टर), प्यासिफिक इन्टरप्राइजेज (सोनालिका ट्याक्टर), महालक्ष्मी इन्टरनेशनल (बेनेली बाइक), एजुकेशन एण्ड माइग्रेशन कर्नर बिर्तामोड, मेची पेट्रोलियम डिलर्स एसोसिएसन, पूर्व नेपाल मेची ट्रक व्यवसायी संघ, पुनर्जन्म समूह नेपाल, मारवाडी सेवा समिति र युवा मञ्च तथा हल्दीबारी चियाले समेत सहयोग पुर्याएका थिए । 

दुर्घटनाको अवस्था ः 

मानिसको मृत्युको मुख्य कारणमा अहिले सवारी दुर्घटना बनेको छ । विश्वमा सरदर हरेक ६ सेकेण्डमा सडक दुर्घटनाबाट एक जनाको ज्यान गइरहेको, हरेक दिन तीन हजार र बर्षमा १३ लाख मानिस सडक दुर्घटनाकै कारण मृत्युवरण गरिरहेको विश्व स्वास्थ्य संगठनको तथ्यांक  छ । विश्वमा एक बर्षमा २ देखि ५ करोड मानिस सडक दुर्घटनाकै कारण घाइते हुने गरेका छन् । अतिकम विकसित देशले सडक दुर्घटनाको ९० प्रतिशत हिस्सा ओगटेका छन् । नेपालमा मानिसको मृत्युको चौथो कारण र अपाङ्गताको तेस्रो कारण सडक दुर्घटना बनिरहेको छ । नेपालमा मानिसको मृत्युमध्ये सात प्रतिशत मृत्यु सडक दुर्घटनाकै कारण हुने गरेको, मानवीय क्षति बाहेक बर्षमा एक अर्ब आर्थिक क्षति हुने गरेको अनि घाइते भएपछि देखिने मनोसामाजिक असरको अवस्था झन दर्दनाक रहेको पाइएको छ । गत बर्षको तथ्यांक मात्र हेर्ने हो भने नेपालमा दैनिक ६ जनाले यसै कारण ज्यान गुमाए । नेपालमा बार्षिक सरदर दुई हजार मानिसको मृत्यु सडक दुर्घटनाका कारण भइरहेको छ । वितेको बर्ष झापामा मात्र एक सय ५ जनाको मृत्यु, सडक दुर्घटनाबाटै भयो । दुर्घटनामा परेका सवारी साधनलाई तुलना गर्ने हो भने अधिकांश दुई पाङ्ग्रे रहेका छन् । 

 सडक दुर्घटनाबाट मृत्यु हुनेमा अधिकांश युवा उमेरका रहेका छन् । अध्ययन अनुसार सडक दुर्घटनाका कारण मृत्युवरण गर्नेमा अधिकांश १५–४० बर्ष उमेर समूहका रहेको पाइएको छ । सडकको दुरावस्था, सडक प्रयोगकर्ताको लापर्वाही, सवारीसाधन (इञ्जिन)को खराब अवस्था र सडक नियमको उल्लंघन नै दुर्घटनाका मुख्य कारण बनेको देखिन्छ ।  ट्राफिक प्रहरीका अनुसार नेपालमा सडक दुर्घटना हुनुको मुख्य कारणमा चालकको लापरबाही रहेको छ । दुर्घटनाका कारण मध्ये चालकको लापरबाही ६७ प्रतिशत, यात्रुको गल्ती ४ प्रतिशत, ओभरटेक ४ प्रतिशत, तीव्र गति १५ प्रतिशत, यान्त्रिक गडबडी ४ प्रतिशत र अन्य ६ प्रतिशत छ । दुर्घटनाको कारण मूलतः चालकको लापर्वाही नै देखिएकोले सवारी चालकलाई जिम्मेवार बनाउन सकारात्मक विधि अवलम्बन गर्नु जरुरी छ । यही यथार्थ मनन गरी महाअभियान सञ्चालन गरिएको बताइएको छ । 

प्रकाशित मिति : २ आश्विन २०७५, मंगलबार  ७ : ५८ बजे