१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

रिस फेर्न हत्या, सद्धाम हुसेनले स्विकारे अपराध


२७ भाद्र २०७५, बुधबार  

0
Shares

FB_IMG_1536761163375

बिर्तामोड २७,भदौ / दमकका व्यापारी खेमराज पौडेलको हत्यामा संलग्न एक युवकलाई प्रहरीले सार्वजनिक गरेको छ । बुधबार जिल्ला प्रहरी कार्यालय झापामा पत्रकार सम्मेलन गर्दै प्रहरीले पौडेलको हत्यामा संलग्न गौरीगञ्ज गाउँपालिका ६ का २८ वर्षीय सद्दाम हुसेनलाई सार्वजनिक गरेको हो ।

हुसेनले पौडेलसँग सापट लिएको ९० हजार पाँच सय रुपैयाँ लिन बोलाएर सोमबार साँझ हत्या गरेका थिए ।

रकम लिन पौडेल श्रीमतीसहित मे ७ प १९०४ नम्बरको आफ्नै मोटरसाइकलमा हुसेनले बोलाएको स्थानमा गएका थिए । तर श्रीमतीलाई मिठाई पसलमा राखेर पैसा लिन हुसेनसँग जाँदा उनले पौडेलको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक भिमप्रसाद ढकालले बताए ।

‘हुसेनले हत्या गर्ने योजना बनाएर बोलाएको अनुसन्धानबाट खुलेको छ, पौडेललाई हुसेनको घरदेखि टाढाको चोकमा बोलाएर सँगै गएकी श्रीमतीलाई बस्दै गर्नु हामी घर पुगेर पैसा लिएर आउँछौ भनी पौडेललाई अपहरण शैलीमा लगेर हत्या गरेको भेटियो’, ढकालले भने ।

उनका अनुसार हुसेनले नेपाल–भारत सिमाना नजिकै पुर्‍याएर पौडेलको हत्या गरी नालीमा फालेको अवस्थामा शव भेटिएको थियो । हुसेनले हत्या गरी घरमा गएर आफ्नो लुगा धोएर नुहाई बसेको अवस्थामा इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको टोलिले हुसेनलाई मंगलबार पक्राउ गरेको थियो ।

हत्या गरिएका पौडेल र हुसेनबीच व्यापारिक कारोबारमा रकम लेनदेन हुने गरेको थियो । त्यही क्रममा लामो समयसम्म रकम फिर्ता नगर्दा पौडेलले सार्वजनिक स्थानमा समेत हुसेनलाई गालीगलौज गरेकाले हत्या त्यही रिसइबीमा हत्या गरेको हुसेनले प्रहरीलाई बयान दिएका छन् ।

पौडेलसँगै गएकी उनकी श्रीमतीले लामो समयसम्म श्रीमान नफर्किएपछि फोन गर्दा पनि सम्पर्क भएको थिएन । त्यसपछि नजिकैको इलाका प्रहरी कार्यालय गौरीगञ्जमा उनले खबर गरेकी थिइन् । खबर पाउनासाथ खटिएको प्रहरीले पौडेललाई हत्या गरिएको अवस्थामा फेला परेको हो ।

प्रकाशित मिति : २७ भाद्र २०७५, बुधबार  २ : ०७ बजे