११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

झापाका जनप्रतिनिधिले जनाए प्रतिबद्धता


२१ भाद्र २०७५, बिहिबार  

0
Shares

hinsamahila

विर्तामोड २१ , भदौ /
बढ्दो यौनजन्य हिंसा तथा सडक दुर्घटना न्युनिकरणसँगै यसको रोकथामका लागि झापाका जनप्रतिनिधिले सामूहिक प्रतिवद्धता जनाएका छन् ।
झापाका ८ नगरपालिका र ७ गाउँपालिका गरी १५ वटै स्थानीय तहले झापाका प्रहरी, प्रशासन, गैरसरकारी संस्थाको सहकार्यमा यौनजन्य हिंसा तथा सडक दुर्घटना न्युनिकरण गर्न १५ बुँदे सामुहिक प्रतिवद्धता जनाएका हुन् । झापाको बिर्तामोडमा जिल्ला प्रहरी कार्यालय झापाको आयोजना तथा नेपाल सडक सुरक्षाका लागि युवा संस्थाको सहकार्यमा आयोजित यौनजन्य हिंसा न्युनिकरण र सडक सुरक्षामा स्थानीय तहको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रममा नगर तथा गाउँपालिकाका प्रमुख तथा उपप्रमुखले यस्ता घटना रोकथामका लागि स्थानीय सरकार लागि पर्ने सामूहिक प्रतिवद्धता व्यक्त गरेका हुन् ।
यौनजन्य हिंसा हुन सक्ने अवस्थामा त्यसबाट अपनाउनु पर्ने उपायहरुको बारेमा सचेतनामुलक कार्यक्रम संचालन गर्ने, यौनजन्य हिंसा मादक पदार्थ सेवनबाट हुने भएकाले मादक पदार्थ उत्पादन सेवन र बिक्री वितरणलाई व्यवस्थित बनाउने, समाजमा उश्रृङ्खल र अश्लिल क्रियाकलाप बिरुद्ध जनचेतना जगाउने प्रतिवद्धता जनाएका थिए ।
प्रत्येक स्थानिय तहसँग सडक दुर्घटना न्यूनिकरणमा सहकार्य गर्ने, छाडा चौपाया व्यवस्थापन गर्ने तथा दुर्घटना न्यूनिकरण गर्नका लागि सबैै तहमा जनचेतनामुलक कार्यक्रम सञ्ंचालन गर्नको लागि सहकार्य गर्ने बारेमा समेत प्रतिबद्धता व्यक्त गरिएको थियो । कार्यक्रममा प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले खुल्ला दिसामुक्त अभियान जस्तै नगर तथा गाउँलाई मदिरा तथा अश्लिलता मुक्त घोषणा गर्न सहभागि जनप्रतिनिधिलाई आग्रह गरे । बिर्तामोड नगरपालिका प्रमुख धुव्र शिवाकोटी, अर्जुनधारा नगर प्रमुख हरि राणा, हल्दिवारी गाउँपालिका उपाध्यक्ष डम्बर गिरीलगायतले स्थानीय सरकार यौनजन्य घटना र सडक दुर्घटना रोकथामका लागि प्रहरीसंग हातेमालो गरेर अघि बढन तयार रहेको बताए ।
कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक राजेश राई लगायतले मन्तब्य राखेका थिए।

प्रकाशित मिति : २१ भाद्र २०७५, बिहिबार  २ : १२ बजे