४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

आज उम्मेदवारीको मनोनयन दर्ता हुँदै, कस्को कतिले अग्रता


१६ कार्तिक २०७४, बिहिबार  

0
Shares

jhapa-jibisa

बिर्तामोड /निर्वाचन आयोगले दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा आज कात्तिक १६ गते बिहीवार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवारीको मनोनयन दर्ता हुँदैछ । मनोनयन दर्ता कार्यमा शान्तिपूर्ण एवम् उत्साहजनक रुपमा सहभागी हुन निर्वाचन आयोगले सबै राजनीतिक दल र उम्मेदवारहरुलाई आह्वान गरेको छ ।
मंसीर २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको उम्मेदवार मनोनयनको लागि आवश्यक तयारीबारेमा जानकारी दिने उद्देश्यले मंगलवार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनको उम्मेदवार मनोनयनलाई ऐतिहासिक रुपमा सफल बनाउने अभियानमा सहयोग पु¥याउन सबैसँग आग्रह गरे ।

त्यस्तै नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा आफ्नै क्षेत्रबाट चुनाव लड्ने भएका छन् ।
यसअघि उनी एमाले अध्यक्ष केपी ओलीसँग निर्वाचन क्षेत्र नम्वर ५मा निर्वाचन लड्ने चर्चा चलेको थियो । अब उनी निर्वाचन क्षेत्र नम्वर १बाटै चुनावी मैदानमा आउने भएका छन् ।
सो क्षेत्रमा गोपाल बुढाथोकीलाई चुनावी मैदानमा उतार्ने तीब्र चर्चाकाबीच बाम गठबन्धनले माओवादी नेता तथा पूर्वसञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीलाई अघि सार्ने निर्णय गरेको छ । झापा–५मा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीबिरुद्ध शर्मा उठ्ने चर्चा चल्दै आएको थियो । कांग्रेसले झापाको क्षेत्र नम्वर–२मा उद्धव थापा, ३मा कृष्णप्रसाद सिटौला, ४मा देउमान थेबे र ५मा डा. खगेन्द्र अधिकारीलाई उम्मेदवार बनाउने भएको छ ।
बाम गठबन्धनका उम्मेदवार
प्रदेश नम्वर १अन्तर्गत झापा जिल्लाका सबै निर्वाचन क्षेत्रमा बाम गठबन्धनले उम्मेदवारी टुंगो लगाएको छ ।
गठबन्धनले क्षेत्र नम्वर २, ४ र ५ एमाले, १ माओवादी केन्द्र र ३मा राप्रपाबाट उम्मेदवारी दिने सहमति अनुसार उम्मेदवार चयन गरेको हो । माओवादी केन्द्रले १बाट पूर्व सञ्चारमन्त्री राम कार्कीलाई उठाएको छ भने आफ्नो भागमा परेको दुई प्रदेशसभाका पनि उम्मेदवार चयन गरेको छ ।
४बाट माओवादी जिल्ला इञ्चार्ज झलकसिंह दर्लामी सन्देश र ३ ‘ख’बाट पूर्ण राजवंशीलाई उठाएको स्रोतले जानकारी दिएको छ ।
यता एमालेले भने ५बाट अध्यक्ष केपी शर्मा ओली तथा प्रदेश ‘क’ बाट हिक्मत कार्की र ‘ख’ बाट अर्जुन राईलाई उम्मेदवार बनाएको छ । १ नम्बर प्रदेश सभाको ‘क’मा श्रीप्रसाद मैनाली र ‘ख’ मा गोपाल बुढाथोकीलाई टिकट दिएको छ । झापा ४मा एलपी साँवा र प्रदेश ‘ख’ मा हीरा थापालाई उम्मेदवार बनाएको छ । क्षेत्र नम्बर २मा अग्नि खरेल सिफारिसमा परेका छन् । यसअघि पवित्रा खरेलको चर्चा थियो । यसको टुंगो आज विहीवार लाग्ने बताइएको छ ।
एमालेका लोकप्रिय नेता
‘आउट’ ! नया“ ‘इन’
झापामा नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि अधिकांश ठाउँमा नयाँ अनुहार अघि सारेको छ । एमालेले बिगतमा सांसद उठेर हारेकाहरु र नयाँ अनुहारहरुलाई अघि सारेको छ ।
जितेकाहरु कोही पनि सिफारिसमा परेका छैनन् । नयाँ सिफारिस भएकाहरु पनि राजनीतिक रुपमा र स्थानीय स्तरमा भने चिनिएका तथा प्रभावशालीहरु नै रहेका छन् ।
कार्कीको फेरि सांसद बन्ने बाटो रोकियो
दुईपटक सांसद बनेका तर राजनीतिक रुपमा पीडित बनाइएका दीपक कार्की कहींबाट पनि प्रत्यक्षमा सिफारिसमा परेका छैनन् । उनले पहिलो संबिधानसभा निर्वाचनमा झापाबाट जितेर एमालेको नाक जोगाएका थिए । दोश्रोपटक पनि शानदार रुपमा जितेका थिए उनले । जिल्ला उपाध्यक्ष समेत भइसकेका उनलाई अध्यक्ष बन्न पनि रोकिएको थियो । अहिले साविक ७ नम्बर र ६ नम्बर मिलाएर ५ नम्बर बनेकाले यहाँबाट पार्टी अध्यक्ष ओली उठ्ने भएपछि कार्कीको फेरि सांसद बन्ने बाटो बन्द भएको छ ।
कोइराला भए ‘आउट’
नेकपा एमालेका जिल्ला अध्यक्ष समेत भइसकेका केन्द्रीय सदस्य रबीन कोइरालाको पनि प्रत्यक्ष सांसद बन्ने बाटो बन्द भएको छ । उनलाई १ नम्बरबाट सिफारिस गरिएको छैन । स्थानीय स्तरमा लोकप्रिय मानिएका कोइराला राम्रो वक्ताको रुपमा समेत परिचित छन् ।
दोश्रो संबिधानसभा निर्वाचनमा प्रभावशाली कांग्रेस नेता विश्वप्रकाश शर्मालाई हराएर सभासद् बनेका कोइराला नै यस क्षेत्रबाट सांसद् बन्ने अड्कल काटिएको थियो तर यहाँ उनी सिफारिसमा नै परेनन् ।
प्रेम गिरी पनि परेनन्
प्रेम गिरीको लोकप्रियता र स्थानीय स्तरमा रहेको प्रभावले नै दोश्रो संबिधानसभामा उनी निर्वाचित भएका थिए । यसपटक उम्मेदवारको सूचीमा परेनन् । उनले स्थानीयस्तरको बिकासमा पनि स्याबासी नै पाएका थिए । प्रतिनिधिसभामा अब सांसद बन्ने उनको सम्भावना टरेको बताइएको छ ।

झापा क्षेत्र नं। १
झापा क्षेत्र नं। १ मा मेचीनगर नगरपालिका, भद्रपुर नगरपालिकाका वडा नं। ९ र १०, बुद्धशान्ति गाँउपालिकाका वडा नं। ४, ५, ६ र ७ पर्दछन् । क्षेत्र नं। १ मा १ लाख ९ हजार ६ सय ७६ मतदाता छन् ।
यो क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा प्रमुख तथा वडा अध्यक्षहरुले मतका आधारमा नेपाली कांग्रेसको २५ हजार ५ सय १ मत देखिन्छ भने एमालेको २५ हजार ६३ मत छ । यस्तै माओवादी केन्द्रले ९ हजार ८ सय ८८ मत र राप्रपाको १ हजार ३ सय ३३ र संघीय समाजवादी फोरमले ४ सय ७० मत छ । यस आधारमा यहाँ एमाले र माओवादी बाम गठबन्धनको ३४ हजार ९ सय ५१ मत हुन आँउछ । जुन मत नेपाली कांग्रेसले पाएको मत भन्दा ९ हजार ४ सय ५० बढी हो ।

कस्को कतिले अग्रता

झापा क्षेत्र नं। २
झापा क्षेत्र नं। २ मा अर्जुनधारा नगरपालिका, बिर्तामोड नगरपालिकाका वडा नं। १, २, ३, ४, ५, ६, ७, ८, र ९ पर्दछन् । यस्तै बुद्धशान्ति गाँउपालिका वडा नं। १, २, र ३ पर्दछन भने कन्काई नगरपालिकाका वडा नं। ८ र ९ पर्दछन् । क्षेत्र नं। २ मा १ लाख १४ हजार ३ मतदाता रहेका छन् ।
स्थानीय तहमा यो क्षेत्रमा नेपाली कांग्रेसको २२ हजार ५ सय ८५ मत देखिन्छ भने एमालेको २८ हजार ७ सय २४, माओवादी केन्द्रको ७ हजार ५ सय ३, राप्रपाको ४ हजार ९ सय ४० मत देखिन्छ । यस्तै फोरम लोकतान्त्रिकको ५० र संघीय समाजवादी फोरमको ४ सय ३१ मत छ ।
यहाँ बाम गठबन्धनको मत एकैठाँउमा मिसाँउदा ३६ हजार २ सय २७ हुन्छ जुन नेपाली कांग्रेसको मत भन्दा १३ हजार ६ सय ४१ मत बढी हो । यहाँ राप्रपाको झन्डै ५ हजार मत रहेको छ । क्षेत्र नं। ३ मा नेपाली कांग्रेसले उम्मेदवार बनाँउने भएपछि राप्रपा बाम गठबन्धनतिर लागेको छ । यदी यो मत पनि बाम गठबन्धनतिर जाने हो भने प्रत्यक्ष तर्फको निर्वाचनमा नेपाली कांग्रेस भारी मतले पछाडि पर्ने देखिन्छ ।

झापा क्षेत्र नं। ३
झापा क्षेत्र नं। ३ अन्र्तगत बाह्रदशी गाँउपालिका, हल्दीबारी गाँउपालिका, कचनकवल गाँउपालिका, भद्रपुर नगरपालिकाका वडा नं। १, २, ३, ४, ५, ६, ७ र ८ वडा र बिर्तामोड नगरपालिकाको वडा नं। ८ पर्दछ । यो क्षेत्रमा आगामी निर्वाचनका लागि १ लाख १४ हजार ५ सय ८६ मतदाता रहेका छन् ।
गत स्थानीय तहको निर्वाचनमा झापा ३ मा नेपाली कांग्रेसले २० हजार ५ सय ४५, नेकपा एमालेले १९ हजार ८ सय ८०, माओवादी केन्द्रले ९ हजार ५ सय ८८, राप्रपाले १४ हजार १ सय ५, फोरम लोकतान्त्रिकले २ सय ५ र संघीय समाजवादी फोरमले ७ सय ८६ मत पाएको थियो ।
यस आधारमा यहाँ बाम गठबन्धन सहित राप्रपाको मत मिसाँउदा ४३ हजार ५ सय ७३ हुन्छ । जुन नेपाली कांग्रेसले पाएको मत भन्दा २३ हजार २८ मत बढी हो ।
यहाँ नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला र राप्रपाका नेता राजेन्द्र लिङ्देन बिच प्रतिष्पर्धा हुने भएको छ । झापामा कांग्रेससँगको गठबन्धन तोड्दै राप्रपाले एमालेसँग तालमेल गरेको छ । यो क्षेत्रमा बाम गठबन्धनको सहयोगमा राप्रपाका लिङ्देनले जित हात पार्ने देखिएको हो ।

झापा क्षेत्र नं। ४
झापा क्षेत्र नं। ४ मा झापा गाँउपालिका, गौरादह नगरपालिका वडा नं। ९, गौरीगञ्ज नगरपालिका वडा नं। १ र २, कन्काई नगरपालिका वडा नं। १, २, ३, ४, ५, ६, ७ र शिवशताक्षी नगरपालिका पर्दछन् । यो क्षेत्रमा आगामी निर्वाचनका लागि १ लाख ९ हजार ४ सय १ मतदाता रहेका छन् ।
गत स्थानीय तहको निर्वाचनमा क्षेत्र नं। ४ मा मोटामोटी रुपमा नेपाली कांग्रेसको २२ हजार ९ सय २९, एमालेको २६ हजार ४ सय १४, माओवादी केन्द्रको ९ हजार ६ सय ९९, राप्रपाको १९ सय ४२, फोरम लोकतान्त्रिकको ६ सय ३९ र संघीय समाजवादी फोरमको १ सय २९ मत रहेको छ ।
यसआधारमा यहाँ बाम गठबन्धन सहित राप्रपाको मत जोड्दा ३८ हजार ५५ हुन्छ । नेपाली कांग्रेस र फोरम लोकतान्त्रिकको मत जोड्दा २३ हजार ५ सय ६८ हुन्छ । अर्थात यहाँ बाम गठबन्धनको पक्षमा नेपाली कांग्रेसको भन्दा १४ हजार ४ सय ८७ मत बढी देखिन्छ ।

झापा क्षेत्र नं। ५
झापा क्षेत्र नं। ५ मा गौरीगंज गाँउपालिकाका वडा नं। ३, ४, ५ र ६, गौरादह नगरपालिकाका वडा नं। १, २, ३, ४, ५, ६, ७ र ८, दमक नगरपालिका र कमल नगरपालिका पर्दछन् । यो निर्वाचन क्षेत्रमा १ लाख ३७ हजार ५ सय ६२ मतदाता छन् ।

गत स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा नेकपा एमाले पहिलो दल बनेको थियो । मोटामोटी रुपमा नेपाली कांग्रेसको २३ हजार २ सय ५०, नेकपा एमालेको २९ हजार ४ सय ६०, माओवादी केन्द्रको १३ हजार ५ सय ८३, राप्रपाको १० हजार २ सय २२, फोरम लोकतान्त्रिकको ११ सय ९४ र संघीय समाजवादी फोरम लोकतान्त्रिकको १ हजार ३४ मत रहेको छ ।

यसआधारमा यहाँ बाम गठबन्धन सहित राप्रपाको मत जोड्दा कूल ५३ हजार २ सय ६८ हुन्छ । यस्तै नेपाली कांग्रेस र फोरम लोकतान्त्रिकको मत जोड्दा २४ हजार ४ सय ४४ हुन्छ । अर्थात यहाँ बाम गठबन्धनको नेपाली कांग्रेसको भन्दा २८ हजार ८ सय २४ मत धेरै रहेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७४, बिहिबार  ६ : ०४ बजे