१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मृतक थापाका परिवारलाई १० लाख दिने सहमति


११ कार्तिक २०७४, शनिबार  

0
Shares

birtamod1
विर्तामोड /

झापाको बिर्तामोडमा भएको गोलीकाण्डमा मृत्यु भएका प्रदर्शनकारी पक्षका अर्जुनधारा–११ का नरेश थापाको परिवारलाई सरकारले राहत स्वरुप १० लाख रुपैयाँ दिने निर्णय भएको छ ।

शनिवार इलाका प्रहरी कार्यालय अनारमनीमा बसेको राजनीतिक दल, स्थानीय प्रशासन र पीडित परिवारबीचको बैठकले यस्तो निर्णय गरेको हो । यस्तै किरिया खर्च स्वरुप नगरपालिका र जिल्ला समन्वय समितिले २५–२५ हजार रुपैयाँ दिने समेत निर्णय भएको बिर्तामोड नगरपालिकाकी उपमेयर पवित्रा महतरा प्रसाईंले बताइन् ।

मृतक परिवारको सन्तानलाई अध्ययनका लागि नगरपालिकाले खर्च व्यहोर्ने समेत सहमति भएको छ । बैठकले अर्जुनधाराका ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको हत्याको विषयमा पीडित परिवारको माग अनुसार पुनः दुई दिन थप अनुसन्धान गर्ने निर्णय पनि गरेको छ । दसैंको टीकाको दिन बेपत्ता भएका अर्जुनधारा– ११ का शिवाकोटीको शव त्यसको भोलिपल्ट विर्तामोड– १ वैंसावाडी स्थित झाडीमा फेला परेको थियो ।

हिजो भएको घट्नापछि बिर्तामोडमा लगाइएको कर्फ्युलाइ भने स्थानीय प्रशासनले खुकुलो बनाउँदै लगेको छ । हिजो दिउँसो साढे १ बजेबाट स्थानीय प्रशासनले अनिश्चितकालिन कर्फ्यु लगाए पनि शनिवार बिहानबाट केही खुकुलो बनाएको हो । तर कर्फ्यु भने खुलाउने बारे केहि सहमति भएको छैन ।

मुक्तिचोकको दुई सय मिटर क्षेत्रमा प्रवेश निषेध गरिएको छ भने अन्यत्रको अवस्था सामान्य बन्दै गएको प्रहरीले जनाएको छ । मानिसलाई बाहिर हिँडडुल गर्न तथा यातायात सञ्चालनमा रोक नलगाइएको भए पनि बिर्तामोड क्षेत्रका बजार तथा पसल भने अझै खुलेका छैनन् ।

यसैबीच प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डीएसपी राजकुमार सिलवाललाई जिल्ला तानेपछि उनको स्थानमा जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी जितेन्द्र बस्नेतलाई विर्तामोडमा खटाइएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७४, शनिबार  १० : ४४ बजे