१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

‘हामी कसरी पढ्नु ?’ बाढी पीडित बालबालिका


१८ श्रावण २०७३, मंगलबार  

0
Shares

भद्रपुर / balbalika 1केही दिनअघिको लगातारको बर्षाले धेरै स्कुले बालबालिकाको किताब कपी लगायतका शैक्षिक सामाग्री बगाएको वा डुबाएको छ । कतिको गाउँ पसेको खोलाले बगाएको छ भने कतिको घर पानीमा डुब्दा उनीहरुका किताब कपी पनि डुबेको छ । अहिले पनि उनीहरु कसरी पढने भन्ने चिन्तामा छन् ।

लगातारको बर्षाले विशेषगरी दक्षिणी झापा जलमग्न बनाइदियो । मानिसलाई घरबार विहीन बनाइदियो । घर गाउँ टोल सबै जलमग्न भए । खानेकुरा लत्ताकपडा त सबै पानीले बगाइदियो । त्यस्मा पनि स्कुल जाने बालबालिकाका पाठ्य पुस्तक कपी लगायतका शैक्षिक सामाग्री पनि केही बाँकी रहेनन् ।

दक्षिणी झापाका पाठामारी केचना भद्रपुर पृथ्वीनगर लगायतका स्थानहरुमा आदिवासी राजवंशी मुसलमान लगायतका समुदायका मानिसहरुको बसोबास छ । भद्रपुर १ भैंसाबाडीका एक सय २३ घर परिवारका ६ सय २२ जना घरबार विहीन बाढी पीडितमध्ये दुई तिहाई स्कुले बालबालिका छन् । ति अधिकांशको किताब कपी सबै गाउँ पसेको मेची नदीले बगाएर लगिदियो । हिमाली उच्च मावि पृथ्वीनगरमा अध्ययनरत भैंसाबाडीकी सरस्वती गणेशले आफ्ना सम्पूर्ण किताब कपी मेची नदीले बगाइदिएको बताइन् ।

पाठामारी तथा केचना गाविसका बालबालिकाको हालत झन् खराब छ । उनीहरुलाई अब कसरी पढने भन्ने ठूलो चिन्ता भएको केचनाका साहिल आलमले बताए । महेन्द्र रत्न माध्यमिक विद्यालय केचनाका प्रधानाध्यापक जीवनप्रसाद सिंह राजवंशीका अनुसार अधिकांश बाढी पीडित अधिकांश विद्यार्थीको शैक्षिक सामाग्री पानीले बगाएको छ ।

जिल्ला शिक्षा कार्यालय झापाले ति बाढी पीडित बालबालिकाका लागि बाढीको प्रभाव नपरेका स्थानका विद्यालयहरुबाट पुराना पाठ्य पुस्तक ल्याएर उपलब्ध गराउने काम गर्ने जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुईंटेलको भनाई छ ।

बाढी पीडितका लागि आएको सहयोगबाट पनि केही प्रतिशत बालबालिकाको शैक्षिक सामाग्री खरिदका लागि सञ्चित गर्ने कोशिस भइरहेको बाढी पीडित क्षेत्रका अगुवाहरुले बताएका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०७३, मंगलबार  १२ : २९ बजे