३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

आदिवासी संग्रहालयको लाखौँ बजेट फ्रिज


१ श्रावण २०७३, शनिबार  

0
Shares

दमक १ , साउन / दुई वटा समानान्तर समितिका कारण आदिवासी जनजाति साँस्कृतिक संग्रहालय दमक झापाको लागि विनियोजित लाखौँको बजेट फ्रिज भएको छ ।

आदिवासी जनजाति महासंघ नगर समन्वय समिति दमकको दुई समानान्तर समितिका कारण संग्रहालय निर्माणका लागि विनियोजित बजेट फ्रिज भएको हो ।
संग्रहालय निर्माणका लागि दमक नगरपालिकाले विनियोजना गरेको २० लाख रुपैयाँ फ्रिज भएको हो । आर्थिक बर्ष २०७२/०७३ मा नगरपालिकाले विनियोजन गरेको २० लाख रुपैयाँ कार्यान्वयनका लागि कुनै पक्ष सम्झौता गर्न नआउँदा बजेट फ्रिज भएको नगरपालिकाका इन्जिनियर तिर्थनारायाण श्रेष्ठले जानकारी दिए ।
adibasi
प्रत्येक बर्षको बजेटबाट रकम छुटाएर संग्रहालय निर्माणको कार्य गर्ने गरी दमक नगरपालिकाले गत बर्षदेखि बार्षिक रुपमा बजेट छुट्याउन थालेको हो ।

गत बर्ष नगरपालिकाले १२ लाख ५० हजार रुपैयाँ विनियोजना गरेको थियो । सो रकममा जिल्ला विकास समिति झापाको पाँच लाख थप गरी कुल १७ लाख ५० हजार रुपैयाँको लागतमा संग्रहालयको घेराबार निर्माण गरिएको छ ।

आदिवासी जनजाति संग्रहालय निर्माणका लागि दमक–१३ मा २ कठ्ठा दानसहित ९ कठ्ठा जमिन खरिद गरिएको छ ।

चालु आर्थिक बर्षको बजेटबाट संग्रहालयको भवन निर्माण कार्य सुरु गर्ने योजना भएपनि महासंघ दमक नगर समितिमा दुई बर्षदेखिको विवाद यथावत रहँदा बजेट विनियोजन भएर पनि काम रोकिएको छ ।

दमकमा मोहन धिमाल र बासुदेव राईले आआफ्नो नेतृत्वमा आदिवासी जनजाति महासंघ नगर समिति समानान्तर रुपमा चलाउँदै आएका छन् ।

नगर समितिको दोस्रो अधिवेशनका क्रममा अध्यक्ष हुन धिमाल र राईले हानथाप गरेपछि दमकमा आदिवासी जनजाति दुई खेमामा विभाजित भएका हुन् ।

विवाद समाधान हुन नसक्दा नगरभित्रका आदिवासी जनजातिले जातीय विकासका लागि राज्यबाट पाउनुपर्ने अधिकांश रकम फ्रिज हुँदै आएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७३, शनिबार  १० : ०० बजे