३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

फुटबलर देवनारायण चौधरीलाई अमेरिकामा सम्मान


२९ असार २०७३, बुधबार  

0
Shares

TAFA-USA-02

गौरीगन्ज / फुटबलर देवनारायण चौधरी अमेरिकामा सम्मानित भएका छन्। थारु एन्ड फ्रेन्ड्स एसोसिएसन (टफा)ले अमेरिकाको सिकागोस्थित वार्षिक पिकनिक कार्यक्रममा चौधरीलाई सम्मान गरेको हो। देवनारायण चौधरीले नेपालको फुटबल क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएको भन्दै सम्मान गरेको हो। टफका अध्यक्ष तिलक महतोले चौधरीलाई सम्मान प्रदान गरेका थिए।सम्मानपछि खेलाडी चौधरीले आफूले सिकेको सिप नयाँ पुस्तामा हस्तान्तरण गर्दै जाने बताए। उनले सम्मान गरेको टफाप्रति धन्यवाद ज्ञापन गर्दै यसको उत्तरोत्तर प्रगतिको कामनासमेत गरेका थिए।

चौधरी १८ वर्षको उमेरमा राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। उनले २१ वर्ष महेन्द्र पुलिस क्लब र १५ वर्ष नेपालको राष्ट्रिय टोलीबाट योगदान दिए। त्यसदौरान उनले साफ च्याम्पियनसिप, साफ गोल्डकप बिश्वकप क्वालिफाइङ, ओलम्पिक क्वालिफाइङमा मुख्य योगदान दिइसकेका छन्।

चौधरीले मलेसियाकोपर्लिस क्लब, भारतको इष्ट बंगाल क्लब र मोहमदन क्लब र बंगलादेशको वारी क्लब र फरसगंज क्लबसँग अनुबन्धित भएर आफ्नो क्षमता प्रदर्श गरिसकेका छन्।

उनले गोरखा दक्षिण बाहु चौथोलगायत अन्य धेरै पुरस्कार र सम्मानबाट सम्मानित भएका छन्। ‘देबदा’ को नामबाट सिकागोमा परिचित देवनारायण दाईले हरेक वर्ष ‘समर’ सिजनमा सिकागोको पचासभन्दा बढी नेपाली बालबालिकाहरूलाई आफ्नो फुटबलको सिप बॉड्दै आएका छन्।

अध्यक्ष महतोले टफाले गर्दै आएको कामबारे सबैदलाई जानकारी गराएका थिए। सहभागी सयभन्दा बढी थारुहरुबीच उनले टफाको अगामि योजनाबारे प्रकाश पारेका थिए। उनले अमेरिकीबासी थारुहरुलाई एकजुट भएर विकासका काममा सहयोग गर्न अपिलसमेत गरे। सिकागोबासी थारुहरुले अध्यक्ष महतोलाई भब्य स्वागत गरेका थिए।

टफाले थरुहट अधिकार प्राप्त गर्न संघर्षरत परिवारका लागि आर्थिक संकलनसमेत गरिरहेको सदस्य हेम चौधरीले जानकारी दिए। उनका अनुसार संकलित रकम सिधै पीडितहरुकहाँ पुर्‍याइनेछ।

‘टफा’ संस्था अमेरिकामा रहेका सम्पूर्ण थारूहरूको साझा संस्था हो। यो संस्थाले विगत ८ वर्षदेखि नेपालमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ। टफाले विभिन्न समाजिक काम पनि गर्दै आएको छ।

प्रकाशित मिति : २९ असार २०७३, बुधबार  १२ : ११ बजे