१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

वैदेशिक रोजगारका ठग तह लगाउने मिसनमा प्रहरी


१५ बैशाख २०७३, बुधबार  

0
Shares

काठमाडौं १४, वैशाख / परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर प्रहरी अपराध महाशाखा मानव तस्करी रोक्न थप सक्रिय हुने भएको छ । मन्त्रालयमा भएको कार्यक्रममा महाशाखाले वैदेशिक रोजगारीका नाममा हुने ठगी र मानव तस्करी रोक्ने मिसनमा प्रहरी रहेको भन्दै त्यसका लागि सहयोग गर्न परराष्ट्रलाई आग्रह गरेको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रहरीले वैदेशिक रोजगारीमा जाने कामदारको विवरण गन्तव्य देशमा राख्न र आफ्ना नागरिक को कहाँ छन् भनेर सहजै पत्ता लगाउन सक्ने व्यवस्था गर्न सुझाव दिएको छ । नेपाली कामदार नेपालीबाटै ठगिने गरेको भन्दै विवरण राखे दोषी पत्ता लगाउन सहज हुने प्रहरीको भनाई छ ।

अपराध माहाशाखामा वैदेशिक रोजगारीका मुद्दा बढेपछि प्रहरीले त्यसै अनुसारको तयारी सुरु गरेको हो । विदेशमा रहेका कन्सुलर र दूतावासका कर्मचारीलाई दलालबाट टाढा राख्न पराराष्ट्रलाई सुझाव दिएको छ ।

पछिल्लो समय वैदेशिक रोजगारीका नाममा ठगी गर्ने र बेपत्ता पार्ने क्रम बढेकाले यसको नियन्त्रणका लागि परराष्ट्र अन्तर्गतका निकाय नै थप सक्रिय हुनुपर्ने बताएको हो ।

अपराध माहाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक सर्वेन्द्र खनालले मानव तस्कर ठेगान लगाउन प्रहरीले विषेश कदम चाल्ने तयारी गरिरहेको भन्दै त्यसका लागि दूतावास र कन्सुलर शाखाको सहयोग आवश्यक पर्ने बताउनुभएको छ । विदेशमा कर्मचारीकै मिलेमतोमा कामदार ठगी बढेको गुनासो आइरहेकाले नेपाली नागरिक रोएको हेर्न नसक्ने एसएसपी खनालले बताउनुभयो ।

प्रहरीले दूतावास र कन्सुलरलाई ठगबाट सचेत रहन र कामदार प्रति बफादार बन्न सुझाव दिएको छ । परराष्ट्र मन्त्रालयका उच्च अधिकारी सहितको छलफलमा दलालले कर्मचारीसँग मिलेमतो गर्ने भएकाले अब जाने राजदूतले दलालको फूलमाला लगाउन नहुने प्रहरीले बताएको परराष्ट्र श्रोतले जनाएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७३, बुधबार  १२ : २१ बजे