१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

झापाका निजी विद्यालयका सवारी अनिश्चितकालीन बन्द


८ बैशाख २०७३, बुधबार  

0
Shares

विर्तामोड ८, वैशाख /  विभिन्न तीन सूत्रीय माग राख्दै झापाका निजी विद्यालयका चालक तथा सहचाकल आन्दोलित भएका छन् । तबल बृद्धि, दसैँ खर्च, निःशुल्क शिक्षाको माग गर्दै चालक संघ आन्दोलित भएको हो ।

झापाको विर्तामोडमा बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै निजी विद्यालय चालक संघ झापा अध्यक्ष पदमलाल तामाङले प्याब्सन, एनप्याब्सन र हिसान झापालाई मागबारे जानकारी गराए कुनै चासो नदिएको बताए । पटक–पटक आफूहरुले माग गर्दै आए पनि त्यसको सुनुवाई नभएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

‘हामीले न्यूनतम् माग राखेका छौँ’, अध्यक्ष तामाङले भने, ‘पूरा गर्न नसकिने खालका माग हामीले गरेका छैनौँ ।’ निजी विद्यालयले राम्रो आम्दानी गरे पनि आफूहरुलाई उचित तलब नदिएको उनको आरोप छ । हाल विद्यालयका चालकहरुले ५÷६ हजार र सहचालकले ३÷४ हजा रुपैयाँमा काम गरिरहेका उनले सुनाए । ‘कुनै कुनै विद्यायलमा ८ देखि १२ हजार रुपैयाँ पनि छ’, उनले भने, ‘काम एउटै भएपछि सबैको तलब समान हुनुपर्छ भन्ने हो ।’

तलब बृद्धिको कुरा गर्दा विद्यालय सञ्चालकले ‘पार्टटाइम काम त हो नि’ भन्ने जवाफ दिने गरेको उनले गुनासो गरे । ‘बिहान विद्यार्थी लिन जानुपर्छ, बेलुका पुर्याउन’, उनले भने, ‘दिउँसो अन्य कुनै काम गर्नै भ्याइँदैन, कसरी भयो त पार्टटाइम ?’ विद्यालय प्राप्त तलबबाट जीवीका चलाउनै गाह्रो भएपछि तलब बृद्धिको माग गर्दै आन्दोलन गर्नु परेको उनको भनाइ छ ।

चालक संघले सवारीको वर्गीकरण गरेर न्यूनतम् तलबमान तोकेको छ । ठूलो मिनीबस चालकको न्यूनतम् १८ हजार, माइक्रो बस चालकको १६ हजार, सानो भ्यान गाडी चालकको १४ हजार र सहचालकको ९ हजार ७ सय रुपैयाँ हुनुपर्ने संघको माग छ । त्यस्तै, दसैँ खर्च वापत एक महिनाको तलब, कार्यरत चालक, सहचालकका एक जना बालबालिकालाई निःशुल्क शिक्षाको समेत माग गरेको छ ।

चालक संघले आन्दोलनको कार्यक्रम अन्तरगत बैशाख १० गतेदेखि माग पूरा नभएसम्म विद्यालयको सवारी नचलाउने र चलाउन समेत नदिने निर्णय गरेको छ । यदि कसैले जोरजबरजस्ती गरेर विद्यालयका सवारी चलाए त्यसबाट आउने परिणामको जवाफदेही स्वयम् विद्यालय नै हुनुपर्ने चेतावनी समेत दिएको छ । त्यस्तै, वैशाख ११ गते र्याली र १२ गते प्याब्सन तथा एनप्याब्सनको कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

जिल्लाभरका करिब १ सय ६७ जना चालकहरु संगठित भइसकेको र हुनेक्रम जारी रहेको अध्यक्ष तामाङले बताए । झापामा करिब ४ सय निजी विद्यालय रहेका छन् । चालक संघको आन्दोलनलाई अखिल नेपाल टे«ड युनियन महासंघ झापाले नेतृत्व गर्ने महासंघकी अध्यक्ष सीता सापकोटाले बताइन् । कार्यक्रममा महासंघका कोषाध्यक्ष भूपाल ओलीले चालक संघको जायज मागलाई सरोकारवालाले पूरा गर्न कञ्जुस्याइँ गर्न नहुने बताए ।

प्रकाशित मिति : ८ बैशाख २०७३, बुधबार  ११ : ३९ बजे