९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

गाैरादहमा साप्ताहिक र अर्ध साप्ताहिक हाट बजारहरुलाई केहि समयका लागि बन्द गर्ने निर्णय


६ चैत्र २०७६, बिहिबार  

0
Shares

20200319_182339
गौरादह ६, चैत /गौरादह नगरपालिकाले नगरभित्र रहेका साप्ताहिक र अर्ध साप्ताहिक हाट बजारहरुलाई केहि समयका लागि बन्द गर्ने निर्णय गरेको छ । गौरादह नगरपालिका वडा नं. १ को वडा कार्यालयको सभाहलमा सरोकारवालाहरुसँग भएको सर्वपक्षिय भेलामा सहभागिहरुले दिएको सुझावलाई संकलन गरि महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस मुक्त नगर बनाउन नगरपालिकाले आवश्यक कदम चालेको छ । नगरभित्र रहेका हाटबजारहरु बन्द गरिए पनि नियमित रुपमा सञ्चालन भइरहेको गुद्री बजारलाई भने यथावत रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । हाट बजार लाग्दा  बढि भिडभाड र मानिसहरुको चहलपहल बढी हुने भएकाले केहि समयका लागि बन्द गर्ने छलफलबाट निर्णय भएको छ । नगरप्रमुख रोहित कुमार शाहले नगर भित्र रहेका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, उद्योग वाणीज्य संघका पदाधिकारी, सामाजिक संघ संस्था, राजनितिक दलका प्रतिनिधि र सुरक्षाकर्मीहरुलाई कोरोना भाइरसबाट बच्न र बचाउन सबैसँग सहयोग गर्न आग्रह गरेका छन् । संविधानसभा सदस्य दिपक कार्कीले नगरपालिका भित्र उपयुक्त स्थान छनौट गरि हेल्थ डेस्क राख्न अनुरोध गर्दै बजारमा हुने काला बजारीलाई अनुगमन गरि काला बजारी भएमा पसलेलाई सम्बन्धित निकायले कार्यवाही गर्न आग्रह गरेका छन् । नगरपालिकाको आयोजनामा सञ्चालन गरिएको भेलाले बजारमा हुने कालाबजारीलाई अनुगमन गरि नियन्त्रण गर्ने, नगर भित्रका सबै हाटबजार तथा नाकाहरुमा स्वास्थ्यकर्मीहरु सहितको हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरिएको छ । कोरोना भाइरसको संक्रमण फैलिरहेको समयमा रोकथाम तथा प्रतिकारात्मक तयारीका लागि नगरपालिकाले सो निर्णय गरेको हो । नगर प्रमुख रोहित कुमार शाहको अध्यक्षतामा भएको भेलाले कोरोना संक्रमणलाई नियन्त्रण गर्न नगर स्तरीय समिति गठन गर्ने निर्णय गर्नुका साथै स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई आवश्यक पर्ने मास्क र कपडा लगायतका सामानहरु नगरपालिकाले खरिद गरि उपलब्ध गराउने, दैनिक उपभोग्य वस्तु नागरिकहरुलाई सहज रुपमा व्यवस्थापन गर्न नियमित रुपमा सञ्चालन भइरहेका नगरभित्रका पसलहरुलाई खुल्ला राख्ने, एम्बुलेन्सलाई तयारी अवस्थामा राख्ने, भोज भतेर , भजन कृतन पुराण विवाह जस्ता कार्यक्रमहरुमा २५ जना भन्दा बढी व्यक्तिलाई भेला नहुन आग्रह गर्ने, विद्यालय कलेज बन्द रहने भएकाले उपयुक्त विद्यालय कलेज वा उपयुक्त स्थानको छनौट गरि क्वारेन्टाइन बनाई कोरोना भाइरसका लक्षण भेटिएका व्यक्तिलाई सो स्थानमा राख्ने व्यवस्था मिलाइने, नगरबासीहरुलाई खाद्यान्नको अभाव हुन नदिन  कम्तिमा ३ महिनाको लागि स्टकको व्यवस्था मिलाउन उद्योग वाणिज्य संघ सँग समन्वय गर्ने, स्कुल, कलेज, बार, सिनेमा हल, क्लबलाई अस्थायी रुपमा बन्द गर्ने, नगरभित्र सरसफाई गर्न जोड दिने, अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गर्ने, चोक, बजार तथा सार्वजनिक स्थलहरुमा भिडभाड नगर्ने, नगरपालिका र निजी संघ संस्थाहरुले गरिब तथा विपन्न परिवारका लागि आवश्यक खाद्यान्नको जोहो गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ । यस्तै नगरभित्र खुला रुपमा रहेका माछा, मासु जन्य पसलहरु केहि समयका लागि रोक लगाउने निर्णय गरेको छ । भेलामा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, उद्योग वाणीज्य संघका पदाधिकारी, सामाजिक संघ संस्था, राजनितिक दलका प्रतिनिधि र सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहिबार  १२ : ४० बजे