७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

प्रदेश १ को बजेट अधिवेशन सक्यो, प्रदेशको नामकरण हुन सकेन


८ आश्विन २०७६, बुधबार  

0
Shares

image 1

विराटनगर ८, असोज / प्रदेश १ प्रदेशसभाको चौथो अधिवेशन बुधबारदेखि अन्त्य भएको छ। यो अधिवेशनबाट पनि प्रदेशसभाको मुख्य कामको रूपमा रहेको प्रदेशको नामकरण हुन सकेन। प्रदेशसभाको चौथो तथा बजेट अधिवेशन सकिँदासम्म ५ वटा विधेयक संशोधनसहित ४३ वटा पूर्ण विधेयक पारित भएका छन्। २०७६ जेठ १३ गते सुरु भएको चौथो अधिवेशनमा प्रदेशसभाको ५३ वटा बैठकबाट १४ वटा विधेयक पारित भएका छन्। तेस्रो अधिवेशनमा दर्ता भएका ४ वटा विधेयकसहित ८ वटा विधेयक समितिमार्फत र अन्य सभामार्फत नै पारित गरिएको अधिवेशन अन्त्यका क्रममा सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए। प्रदेशसभामा बोल्दै सभामुख भण्डारीले प्रदेशसभाले आफ्नो जिम्मेवारी समयमै सम्पन्न गर्न सकेको दाबी गरे। प्रदेशसभामा अब छलफलका लागि कुनै पनि विधेयक रहेका छैनन्। नामकरण अधुरै, संरचना बनाउने सुरसार भएन यद्यपि प्रदेशको नामाकरणको विषय भने प्रदेशसभामा प्रवेश पाएन। जसका कारण प्रदेशसभाको एउटा महत्वपूर्ण जिम्मेवारी अझै थाँती रहेको छ। यस्तै, प्रदेशको राजधानीसमेत टुंगो लागिसकेको अवस्थामा चौथो अधिवेशन अन्त्य हुँदासम्म प्रदेशसभाको भवन र भौतिक संरचना निर्माणमा अझै सुरुवात भएको छैन। सभामुख भण्डारीले प्रदेशसभाको सुविधासम्पन्न भवन निर्माणका लागि प्रदेशसरकारले जग्गा उपलब्ध गराइदिने विश्वास व्यक्त गरे। यता, प्रदेशसभाको अधिवेशन अन्त्य हुनुपूर्व सभालाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलले भने सहमतिको संस्कृतिलाई सत्तापक्षले उल्ट्याउन खाजेको बताएको छ। सभामा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता राजिव कोइरालाले मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक जबरजस्ती सत्तापक्षले पारित गराएर मुढभेडमा लैजान खोजेको बताए। उक्त विधेयक पारित गर्ने क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले असहमति राख्दै रोष्टम घेराउ र नाराबाजी गरेका थिए। नाराबाजीकै बीचमा विधेयक पारित भएको थियो। सरकार तथा सत्तारुढ दलको तर्फबाट सम्बोधन गर्दै आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले भने एकदुई वटा कमिकमजोरीकै कारण सहमति नभाँडिने बताए। सभामा बोल्दै प्रतिपक्षी दलका नेताहरू जयराम यादव, इन्दिरा राईलगायतले मुख्यमन्त्रीले खेलेको भूमिकाको प्रसंसा गरेका थिए। उनीहरूले सरकारले बजेट कार्यान्वयनको क्यालेन्डर तय गरेअनुसार नै हुने आशा व्यक्त गरे। सभामा बोल्दै संघीय लिम्बूवान राष्ट्रिय मञ्चकी संसदीय दलको नेता विष्णुमाया तुम्बाहाम्फेले भने सरकार एकलौटी ढंगले अगाडि बढ्न खाजेको आरोप लगाउनु भएको थियो। प्रदेशसभाको चौथो अधिवेशनको ५१ र ५२ औं बैठकमा कांग्रेसका सांसदले रोष्टम घेर्ने र त्यहीबीचमा विधेयक पारित गरेको घटनाबाहेक प्रदेशसभा सहमतिका साथ नै चलेको सभामुखको दाबी छ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  १२ : १९ बजे