
झापा । जापानको फुकुओकामा अध्ययनरत अवस्थामा मृत फेला परेकी झापा भद्रपुर नगरपालिका–७, अन्जनी मोड निवासी २५ वर्षीया स्वर्गीय लक्ष्मी राजवंशीको न्याय तथा घटनामा संलग्न दोषीमाथि कडा कारबाहीको माग गर्दै झापा, मोरङ र सुनसरीका विभिन्न स्थानमा शोकसभा तथा दीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न भएको छ।
राजवंशी समाज विकास समिति केन्द्रीय समितिको आह्वानमा आज विराटनगर, धरान, भद्रपुर, गौरीगंजलगायत झापा, मोरङ र सुनसरीका विभिन्न स्थानमा एकैसाथ शोकसभा तथा दीप प्रज्ज्वलन कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा सहभागीहरूले स्वर्गीय लक्ष्मी राजवंशीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घटनाको निष्पक्ष तथा प्रभावकारी अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई कानुनबमोजिम कडा कारबाही गर्न माग गरेका छन्।
कार्यक्रममा सहभागीहरूले लक्ष्मी राजवंशीको शंकास्पद मृत्युको घटनालाई गम्भीरतापूर्वक लिएर जापानमा भइरहेको अनुसन्धानलाई प्रभावकारी बनाउन नेपाल सरकार, परराष्ट्र मन्त्रालय तथा जापानस्थित नेपाली दूतावासले आवश्यक पहल र समन्वय गर्नुपर्नेमा जोड दिएका थिए। साथै, मृतकको शव यथाशीघ्र नेपाल ल्याई परिवारजनलाई बुझाउने व्यवस्था मिलाउन सरकारसँग माग गरिएको छ।

लक्ष्मी राजवंशीको न्याय र शव नेपाल ल्याउन सांसदद्वयको सरकारसँग माग
यसैबीच, प्रतिनिधिसभाका माननीय सांसदद्वय सन्तोष राजवंशी र प्रकाश पाठकले समेत स्वर्गीय लक्ष्मी राजवंशीको घटनामा संलग्न दोषीलाई कडा कारबाही गरी पीडित परिवारलाई न्याय दिलाउन तथा मृतकको शव नेपाल ल्याई परिवारसम्म पुर्याउने व्यवस्था मिलाउन नेपाल सरकारसमक्ष संसदमार्फत माग गर्नुभएको छ। सांसदद्वयले घटनाको सत्यतथ्य छानबिन तथा पीडित परिवारलाई आवश्यक सहयोग र सहजीकरणका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको हो।
दीप प्रज्ज्वलन कार्यक्रममा सहभागीहरूले ‘लक्ष्मी राजवंशीलाई न्याय देऊ’, ‘दोषीलाई कडा कारबाही गर’, ‘लक्ष्मीको शव यथाशीघ्र नेपाल ल्याऊ’ लगायतका माग राख्दै न्यायका लागि आवाज उठाएका थिए। उनीहरूले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाही नभएसम्म न्यायको आवाज निरन्तर उठाइरहने प्रतिबद्धता व्यक्त गरेका छन्।
त्यसैगरी, कार्यक्रममा स्वर्गीय गरिमा चौधरीप्रति समेत शोकसभा तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ। सहभागीहरूले गरिमा चौधरीको निधनप्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना तथा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका थिए।
कार्यक्रममा राजवंशी समुदायका अगुवा, सामाजिक अभियन्ता, विभिन्न संघ–संस्थाका प्रतिनिधि, युवा, महिला तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो।

राजवंशी समाज विकास समिति केन्द्रीय समितिले लक्ष्मी राजवंशीको घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कडा कानुनी कारबाही तथा शव नेपाल ल्याउने प्रक्रियामा सरकार र सम्बन्धित निकायबाट तत्काल प्रभावकारी पहल हुनुपर्नेमा जोड दिएको छ।







