
विर्तामोड ३०, पुस / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह चुनावी प्रतिस्पर्धामा आउन सक्ने चर्चा चलिरहेको झापा क्षेत्र नं. ५ बाट राष्ट्रिय परिवर्तन पार्टीका तर्फबाट सविन चाम्लिङ राईले उम्मेदवारी घोषणा गरेका छन् ।
मंगलबार झापाको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीले राईलाई झापा–५ को प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार बनाउने औपचारिक घोषणा गरेको हो । ३५ वर्षीय राई झापा जिल्लाको कमल गाउँपालिका–५ निवासी हुन् । उनी पेशाले फोटो तथा भिडियोग्राफी व्यवसायमा संलग्न छन् । राई राष्ट्रिय परिवर्तन पार्टीका प्रवक्तासमेत हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै उम्मेदवार राईले आफू जेन–जी पुस्ताको प्रतिनिधिका रूपमा संसदमा पुग्न चाहेको बताए । उनले पुरानो राजनीतिक शैलीले देशलाई निकास दिन नसकेको दाबी गर्दै नयाँ पुस्ताको सोच, संघर्ष र बलिदानको प्रतिनिधित्व गर्न आफू मैदानमा उत्रिएको स्पष्ट पारे ।
“जेन–जी आन्दोलनका घाइते, सहिद परिवार र परिवर्तन चाहने शुभेच्छुकहरूको साझा पार्टीका रूपमा राष्ट्रिय परिवर्तन पार्टी उदाएको हो,” राईले भने, “झापा–५ बाट परिवर्तनको सुरुवात गर्न चाहन्छु ।”

पत्रकार सम्मेलनमार्फत पार्टीले आफ्नो चुनाव चिन्ह ‘बाँसुरी’ सार्वजनिक गर्दै संक्षिप्त घोषणापत्र पनि सार्वजनिक गरेको छ । घोषणापत्रमा पार्टीले राष्ट्रिय सातवटा प्रमुख मुद्दामा आफ्नो धारणा स्पष्ट पारेको छ ।
पार्टीकी महासचिव अञ्जु राईका अनुसार मुलुकको आर्थिक उन्नतिका मुख्य चार आधार जलविद्युत्, पर्यटन, कृषि र खनिज क्षेत्र भएकाले यी क्षेत्रको योजनाबद्ध विकास र सुदृढीकरणमा राज्यले प्राथमिकता दिनुपर्ने पार्टीको धारणा रहेको छ । उनले रोजगारी सिर्जना, युवाको पलायन रोकथाम, पारदर्शी शासन प्रणाली र सामाजिक न्याय पार्टीका प्रमुख एजेन्डा भएको उल्लेख गरिन् ।
राष्ट्रिय परिवर्तन पार्टीका अध्यक्ष जेन–जी आन्दोलनका घाइते राजेश पोर्तेल हुन् । पोर्तेल जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते बिर्तामोडमा प्रहरीसँग भएको झडपमा गम्भीर घाइते भएका थिए । सो घटनामा उनले एउटा खुट्टा गुमाएका छन् । अध्यक्ष पोर्तेलले आफ्नो व्यक्तिगत पीडालाई सामाजिक परिवर्तनको शक्तिमा रूपान्तरण गर्दै अन्याय, दमन र असमानताविरुद्धको राजनीतिक यात्रामा होमिएको बताए ।
पत्रकार सम्मेलनमा पार्टीका नेताहरूले झापा–५ लाई परिवर्तनको केन्द्र बनाउने दाबी गर्दै स्थापित दलहरूबाट निराश भएका मतदाताहरूले राष्ट्रिय परिवर्तन पार्टीलाई विकल्पका रूपमा रोज्ने विश्वास व्यक्त गरे । नयाँ पुस्ताको राजनीतिक चेतना, संघर्ष र समावेशी सोचका आधारमा आगामी निर्वाचनमा बलियो उपस्थिति जनाउने पार्टीको दाबी रहेको छ ।
पत्रकार सम्मेलनमा राष्ट्रिय परिवर्तन पार्टीले आफ्नो स्पष्ट राजनीतिक दिशा र दृष्टिकोणसहित सातवटा प्रमुख एजेन्डा सार्वजनिक गरेको छ । पार्टीका नेताहरूका अनुसार यी एजेन्डाहरू मुलुकमा आमूल परिवर्तन ल्याउने आधार स्तम्भका रूपमा तय गरिएको हो ।
पहिलो एजेन्डाका रूपमा पार्टीले प्रत्यक्ष राष्ट्रपति प्रणाली लागू गर्नुपर्ने धारणा अघि सारेको छ । वर्तमान संसदीय प्रणालीले राजनीतिक अस्थिरता जन्माएको भन्दै जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली आवश्यक रहेको पार्टीको निष्कर्ष छ ।
दोस्रो एजेन्डा शून्य भ्रष्टाचार हो । भ्रष्टाचारविरुद्ध कुनै सम्झौता नगर्ने नीति लिँदै दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याइने पार्टीको प्रतिवद्धता रहेको छ ।
तेस्रो एजेन्डामा सुशासन र इमानदार राजनीति लाई मूल आधार बनाइएको छ । पार्टीले राजनीति सेवा हुनुपर्ने, व्यवसाय वा शक्ति आर्जनको माध्यम बन्न नहुने स्पष्ट पारेको छ ।
चौथो एजेन्डा ‘अब देश विकासमै – नेपालको युवा नेपालमै’ भन्ने नारासहित युवालाई स्वदेशमै रोजगारी, अवसर र सम्मान दिने नीति अघि सारिएको छ ।
पाँचौँ एजेन्डा ‘आर्थिक पारदर्शिता – न्यायाधीश स्वयं जनता’ मार्फत राज्यको खर्च, योजना र निर्णय प्रक्रियामा जनताको प्रत्यक्ष निगरानी सुनिश्चित गर्ने लक्ष्य राखिएको छ ।
छैटौँ एजेन्डामा राष्ट्रिय सार्वभौमिकता र सीमा सुरक्षा लाई प्राथमिकतामा राख्दै राष्ट्रिय स्वाभिमानमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
सातौँ एजेन्डा ‘न्याय, शिक्षा र स्वास्थ्यको देश – नेपालको नयाँ परिवेश’ अन्तर्गत गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा र निष्पक्ष न्याय प्रणालीलाई आधार बनाइने पार्टीले जनाएको छ ।








