१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

‘ दस किलो चामल सक्याे अब के खानु सरकार ?’


७ बैशाख २०७७, आइतबार  

0
Shares

20200419_141443

आत्माराम राजवंशी
गाैरीगंज ७, बैशाख /
झापाको गाैरीगंज गाउँपालिका वार्ड नं. ४ स्थित बाह्रसुद्दी, सतारटाेल, सुनिराम टाेल र धर्माेटाेलका विपन्न परिवारलाई अहिले बिहान बेलुकाको छाक टार्न धौधौ पर्न थालेको छ । कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि बन्दाबन्दी घोषणा गरेपछि कामविहीन भएसँगै उनीहरूकाे दैनिकी अहिले कष्टकर बन्दै गएको हो । यहाँ मुसहर , सन्थाल र गिरी समुदायका करीब ७९ घर परिवारको बसोबास छ । उनीहरु सबैको आम्दानीको स्रोत ज्याला–मजदुरी हो ।

‘लकडाउन भएको केही दिन त घरमा भएको पैसाले खाइयो’, उनीहरु भन्छन्, ‘बाहिर निस्किन मिल्दैन, काम नभएपछि के गरी खानू, दिनरात चिन्ता यही कुराको छ ।’ लकडाउन घोषणा भएको आज २५ दिनका अवधिमा उनीहरुले १० केजी चामल, एकएक केजी दाल र नून, एक लिटर तेल र एउटा साबुन मात्र पाएका हुन् ।

‘चार देखि सात जनाको परिवारलाई १० केजी चामलले के हुन्छ ?’, बार्हसुद्दी मुसहर वस्तीका शाेभालाल ऋषिदेव भन्छन् – ‘राहत त पाइयो तर सकिगाे नि । बन्द खुल्ने छाँटकाँट छैन । के खानु ? ।’

साेही वार्डकाे सुनीराम टाेलका फरक क्षमता भएका (दृष्टिविहिन) मानिकचन गिरीकाे पनि अवस्था उस्तै छ । ६ जना परिवारसंगै रहेका विपन्न परिवारका गिरीकाे छाेराले जनमजदुर गरेर ल्याएकाे पैसाले आफ्नाे जिविका चलेकाे उनले बताए । ‘विहान खायाे साँझकाे छाककाे चिन्ता हुन्छ’ – उनले भने अहिले छाेरा पनि वेकामे भएकाे छ कसरी धान्ने परिवार ? ‘
१० किलाे चामलले कति दिनसम्म खानु सरकार ? उनले दुखेसाे पाेख्दै भने – काम दिवाेस, कि राहत दिवाेस् । ‘
गाैरीगंज गाउँपालिका वार्ड नं. ४ का शाेभालाल र मानिकचन जस्तै सतारटाेलका ६ जना परिवारसंगै बसेका भरत किस्कुकाे अवस्था उनीहरू भन्दा भिन्न छैन ।
उनले भने -‘ आफुसंग भएकाे पैसा र दिएकाे राहतले केही दिनकाे छाक त टर्याे । भएकाे सबै पैसा र चामल सकेपछि अब के खानु ? ‘
गाैरीगंज गाउँपालिका वार्ड नं. ४ का बाह्रसुद्दी बस्ने करिब ३० मुसहर परिवार, सतार टाेलका करिब १५ परिवार, सुनीराम टाेलका ७ घर परिवार र धर्माे टाेलका १७ घर परिवारकाे एउटै दुःखेसाे छ – ‘१० किलाे चामल सक्याे अब के खानु सरकार ? ‘
20200419_141517

गाैरीगंज गाउँपालिका वार्ड नं. ४ का अध्यक्ष कुल प्रसाद गिरीले पहिलो चरणमा वार्डकाे ५ सय ८६ जना विपन्न परिवारलाई राहत वितरण गरिएकाे बताए ।
पहिलो चरणमा गाउँपालिकाले १० केजी चामल, एकएक केजी दाल र नून, एक लिटर तेल र एउटा साबुन दिने निर्णय गरेर राहत पठाएको अध्यक्ष गिरीले बताए । गाउँतिर जादाँ अब कहिले राहत दिने ! चामल त सक्याे भनेर विपन्न परिवारले साेध्ने गरेकाे अध्यक्ष गिरी बताउँछन् ।
‘जनताले विश्वास गरेर मत दिएका छन्’, उनी भन्छन् – ‘अहिले समस्या परेका बेला सहयोग गर्न सकिएन भने त्यसको अर्थ रहँदैन, सकेसम्म वडाबासीलाई राहत दिन्छु ।’

‘भौतिक पूर्वाधार विकासभन्दा पनि जनताको जीवन रक्षा अहिलेको मुख्य विषय हो’, वडाध्यक्ष गिरी भन्छन् – ‘राहत दिने कुरामा म चुक्दिन ।’

गाैरीगंज गाउँपालिकामा वार्डहरूले सिफारिस गरेकाे तथ्यांकअनुसार करिब ३५ सय घर परिवार विपन्न भनेर पहिचान गरि पहिलाे चरणकाे राहत वितरण गरिसकेकाे छ । वार्ड १ देखि ६ सम्मकै छुटफुट परिवार बाहेक सबै विपन्न परिवारलाई राहत वितरण गरिसकेकाे गाउँपालिकाले जनाएकाे छ। तर लडडाउनकाे समय लम्बिएसंगै ती दिन मजदुरी गरेर छाक टार्ने विपन्न परिवारकाे दैनिकी कष्टकर बन्दै गएकाे छ ।

प्रकाशित मिति : ७ बैशाख २०७७, आइतबार  ८ : ३३ बजे