२८ भदौ २०८२, शनिबार | Sun Sep 14 2025

जेनजी आन्दोलनका सहिद दिनेश राजवंशीको फूलमती खोला किनारमा अन्त्येष्टि



गौरीगंज २८,भदौ / जेनजी आन्दोलनका क्रममा शहादत प्राप्त गरेका अर्जुनधारा नगरपालिका–८ हात्तीकिल्लाका ३२ वर्षीय दिनेश राजवंशीको आज अन्त्येष्टि गरिएको छ । अर्जुनधारा नगरपालिकामा रहेको फूलमती खोलामा परम्परागत राजवंशी विधि अनुसार उनको अन्तिम संस्कार सम्पन्न गरिएको हो ।

अन्त्येष्टिमा परिवारका सदस्य, नातागोता, स्थानीय बासिन्दा र जेनजी आन्दोलनका कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो । श्रद्धाञ्जलीका क्रममा राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशीले दिनेश राजवंशीको बलिदान नेपाली समाज र विशेषगरी राजवंशी समुदायका लागि कहिल्यै बिर्सन नसकिने बताए । उनले दिनेशसहित अहिलेसम्म आन्दोलनको क्रममा झापामा तीन जनाले शहादत प्राप्त गरिसकेको उल्लेख गर्दै देश परिवर्तनको यात्रामा सयौं राजवंशी युवाले बलिदान दिएको स्मरण गरे ।

अध्यक्ष राजवंशीले जेनजी पुस्ताले अघि सारेको आन्दोलनलाई सबै समुदायको साथ र सहयोगले अघि बढाइरहेकाले अवश्य पनि देश परिवर्तन सम्भव हुने विश्वास व्यक्त गरे । दिनेश राजवंशीको बलिदानलाई व्यर्थ जान नदिने संकल्पसहित अन्त्येष्टिमा सहभागीहरूले एकताबद्ध भएर आन्दोलनलाई अझ प्रभावकारी बनाउने अठोट व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २८ भदौ २०८२, शनिबार  ८ : ३३ बजे