
झापा २५ , भदौ / झापा जिल्लाभर कर्फ्यू आदेश जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोपाल कुमार अधिकारीको अध्यक्षतामा आज बसेको जिल्ला सुरक्षा समितिको आपतकालीन बैठकले आइतबार बिहान ६ बजेसम्म कर्फ्यू लागू गर्ने निर्णय गरेको हो ।
बैठकले अत्यावश्यक काम बाहेक जिल्लाभरका नागरिकलाई घर बाहिर ननिस्कन आदेश दिएको छ । त्यस्तै, कफ्र्यु अवधिभर जिल्लाभित्र जुलुस, सभा, सम्मेलन, धर्ना, घेराउ तथा भीडभाडजन्य गतिविधि पूर्णतः निषेध गरिएको छ । हालैको असुरक्षित घटनाक्रमलाई मध्यनजर गर्दै जनताको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले कफ्र्यु लगाइएको प्रशासनले जनाएको छ । जिल्ला प्रशासनले शान्ति–सुरक्षा कायम गर्न सबैलाई संयमित रहन, आदेशको पूर्ण पालना गर्न तथा अफवाहमा नपर्न आग्रह गरेको छ ।
कर्फ्यू अवधिभर सुरक्षाकर्मीलाई उच्च सतर्कतामा परिचालन गरिएको छ भने अनावश्यक भिडभाड र सम्भावित अप्रिय घटना रोक्न कडा निगरानी हुने प्रशासनले स्पष्ट पारेको छ ।