१८ असार २०८२, बुधबार | Wed Jul 2 2025

राजवंशी समुदायबाट फोर जीपीए ल्याउने हेमन्त र रोशिका




झापा १७ , असार / झापा गौरादह ७ ग्वालडुब्बास्थित इमिनेन्ट कंचनजंघा इङ्गिलस बोर्डिङ स्कुलका हेमन्त राजवंशी र रोशिका राजवंशीले राजवंशी समुदायबाट एसईई परीक्षामा फोर जीपीए ल्याएका छन् । जिल्लाभरि ३१ जनाले फोर जीपीए ल्याएकोमा राजवंशी समुदायबाट फोर जीपीए ल्याउने हेमन्त र रोशिका मात्र हुन् । हेमन्त र रोशिकासहित इमिनेन्ट कंचनजंघाबाट चारजनाले फोर जीपीए ल्याएका छन् । आदिवासी जनजाति समुदायका धेरै विद्यार्थीहरु अध्ययनरत इमिनेन्ट कंचनजंघामा कुशल लिम्बूले पनि फोर जीपीए ल्याएका छन् । सोही विद्यालयबाट रुपेश राजवंशीले ३.९१, प्रमिशा हिङमाङले ३.९० , सुरज श्रेष्ठले ३.८७ , विवेक राजवंशीले ३.८६ , कृष्णकुमार राजवंशीले ३.८३ , अनिशकुमार राजवंशीले ३.७९ , गोपाल ताजपुरियाले ३.६७ , समिर टुडूले ३.५२ , रोहन भुजेलले ३.३० जीपीए ल्याएका छन् । सो विद्यालयबाट ३३ जनाले एसईई दिएकोमा शतप्रतिशत उत्तीर्ण भएका छन् । आफूहरुको विद्यालयमा अधिकांश आदिवासी जनजाति समुदायका विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालय संचालक समितिका अध्यक्ष रहेका कोशी प्रदेश सरकारका सभामुख अम्बरबहादुर विष्टले बताए । विगत १६ वर्षदेखि एसईईमा लगातार शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै आएको इमिनेन्ट कंचनजंघाले तीन वर्षदेखि सर्वोत्कृष्ट स्थानसमेत लिन सफल बनेको छ । गौरादहको बैरातीस्थित मामा देवकुमार राजवंशीको घरमा बसेर पढ्दै आएकी नन्दकिशोर र रीना राजवंशीका छोरी रोशिका मेडिकल पढ्न चाहन्छिन् । मेघलाल र चन्द्रा राजवंशीका छोरा हेमन्तको भने कम्प्युटर साइन्स पढ्ने इच्छा छ ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ९ : ५० बजे