२७ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025

जीवनको साँझ र उज्यालोको पर्खाइ : भिमादेवी घिमिरेको कथा




आत्माराम राजवंशी /

गौरीगंज गाउँपालिका–२, तुलाचनस्थित एक सामान्य घरको चोकमा शान्त, तर कहालीलाग्दो मौनता छ । त्यही मौनताभित्र जीवनको कठोर वास्तविकता बोकेर बसिरहेकी छन् ४४ वर्षीया भिमादेवी घिमिरे । उनी जन्मिँदा शारीरिक रूपमा पूर्ण स्वस्थ थिइन्, तर समयसँगै शरीरले साथ दिन छाड्यो । आज उनी राम्रोसंग बोल्न सक्दिनन्, आफैं उठ्न, बस्न सक्दिनन् । खुट्टा सिधा गर्न सक्दिनन्, हिँडडुल गर्न त झन् सपना जस्तै हो ।
दिउँसो बित्छ, रात बित्छ तर जीवन भने एकै ठाउँमा ठप्पिएको छ । भिमादेवीको हरेक दिन पीडादायी छ, हरेक क्षण अपूर्णताको अनुभूति गर्छिन् । घरको अवस्था पनि उनलाई बाँच्न सहज छैन । उनकी ९० वर्षीया आमा कौशिला देवी आफैं वृद्ध अवस्थामा छन् । दाजु मात्रिका प्रसाद घिमिरे मानसिक रोगी छन् । बुबाको स्याहार गुमाइसकेकी भिमादेवीका लागि संसारको भर एकमात्र दिदी देवीमाया घिमिरे नै हुन् ।

देवीमाया नै उनकी आँखा, कान, स्वर र सहारा हुन् । दिदीको सहायतामा उनी बाँचिरहेकी छन् । दिदी नै उनलाई उठाउँछिन्, खाना खुवाउँछिन्, लुगा फेर्न मद्दत गर्छिन् । दिदी बिना भिमादेवीको जीवन ठप्प छ । “बहिनीलाई मैले हेर्नैपर्छ, हेर्न नपाउँदा त मनमै पीडा हुन्छ,“ देवीमाया भन्छिन्, “स–सानो खुसीका लागि पनि उनी मसँग आँखा जोडेर हेर्छिन्, म बुझ्ने प्रयास गर्छु ।’

दिदीको ममता र सहारामै टेकेर भिमादेवीले जीवनको चिसो साँझमा केही न्यानो अनुभूति गर्न पाइरहेकी छन् । केही महिनाअघि गाउँमै करुणा फाउन्डेसन र स्थानीय सरकार तथा प्रदेश सरकारको सहकार्यमा आयोजित अपाङ्गता मूल्याङ्कन शिविरले केही उज्यालोको झिल्को दिएको छ । शिविरपछि भिमादेवीलाई ह्वीलचेयर दिइएको छ, जसले उनलाई केही हदसम्म हिँडडुल गर्न सक्ने अवस्था दिएको छ ।

“पहिला त उ हिल्न पनि सक्दिनथी,“ भन्छिन् उनकी आमा कौशिला देवी, “अब त ह्वीलचेयरको सहाराले घरबाहिरको आँगन पनि हेर्न पाउँछे । यो त ठूलो कुरा हो हाम्रा लागि ।“

भिमादेवीको जीवन पीडाको चिसो पहाडजस्तै देखिन्छ, तर त्यो पहाडमा पनि देवीमाया जस्ता सहारा र करुणा फाउन्डेसनको सानो सहयोगले उज्यालोको एक झल्को ल्याएको छ । अहिले पनि उनीहरूको घरमा भविष्यप्रतिको चिन्ता छ, तर साथमा आशा पनि छ — कहिले त जीवनले नयाँ दिशा लिनेछ भन्ने ।

भिमादेवी घिमिरेको कथा एउटा व्यक्तिको मात्र होइन, हजारौं जीवनका पीडाहरूको प्रतिनिधि हो, जहाँ मानवीय सहारा, माया र सहकार्यले थोरै भए पनि बाँच्ने आधार दिन सक्छ ।
भिमादेवी घिमिरेको जीवन नियाल्दा लाग्छ– शरीर बाँचिरहेको छ, तर सपनाहरू कैद छन् । उनी नबोली पनि धेरै कुरा भन्छिन्, उनका आँखाले भन्छन् । त्यो मौनता शब्दभन्दा बलियो अनुभूति बनेर निस्किन्छ । बिगतका दिनमा उनी घरको कुना कुनामा थन्किन्थिन्, जीवनप्रतिको आशा झिनो थियो । परिवारको अभाव, समाजको नजर, र शरीरको असहयोगबीच उनी आफैं हराएको अनुभव गर्थिन् ।

दिदी देवीमाया घिमिरे भने उनका लागि फरक संसार हुन् । देवीमायाको स्नेह, सेवा र समर्पण नहुँदो हो त भिमादेवी आज कहाँ हुन्थिन्, भन्नै गाह्रो छ । भन्छिन्, “उसको अनुहारमा मुस्कान देख्न सक्नु मेरो सबैभन्दा ठूलो खुसी हो । म जे सक्छु गर्छु उसलाई केही सहज बनाउने प्रयासमा ।’

यस्तैमा करुणा फाउन्डेसन, प्रदेश सरकार र स्थानीय तहको ह्वीलचेयरको सहयोगले भिमादेवीलाई घरभित्र घिस्रिने अवस्थाबाट बाहिरको संसार हेर्ने अवसर दिएको छ ।

तर यो पूर्ण समाधान होइन । यो त सुरुआत हो– जहाँ अझ धेरै माया, सहयोग र नीतिगत परिवर्तनहरू आवश्यक छन् । भिमादेवीहरुको जीवनमा साँचो परिवर्तन ल्याउन, उनीहरूको मौन आवाज सुन्ने कान र बुझ्ने मन राज्य, समाज र हामी सबैसँग हुन जरुरी छ । उनको दिदी देवीमाया भन्छिन्, “ह्वीलचेयर पाउँदा केही सजिलो भयो, तर अझै धेरै गाह्रो छ । उहाँले सिधा उठबस गर्न सक्नुहुन्न, शौच गर्न झन् धेरै पीडा हुन्छ । त्यसैले मेरो धेरै ठूलो अपेक्षा छ– उहाँका लागि एक थान बसेर दिसापिसाव गर्न मिल्ने विशेष प्रकारको श्वेलचेयर सहयोग गरी पाउँ ।

उनको माग केवल उपकरणको होइन, त्यो मानवीय संवेदनाको गुहार हो । भिमादेवीजस्ता धेरै अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा यस्ता सानातिना सहयोगले पनि ठूलो सहजता र सम्मानपूर्ण जीवन ल्याउन सक्छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८२, सोमबार  ८ : २५ बजे