
लघु कथा
फुईयाको फुरफुर (१७)
जमाना फेरियो। विवाह प्रतिको विचार, चिन्तन र मनन् पनि फेरियो। विवाह प्रतिको दृष्टिकोण पनि फेरियो। उ पनि एक अविवाहित लन्ठु, कस्तो केटी विवाह गर्ने त भनेर विचार गर्यो। परापूर्वकालमा विवाह पश्चात पत्नी जति पतिका दासी हुन रुचाउँथे, पतिव्रता धर्मको पालन गर्दथे। पतिलाई स्वामी भनेर पुज्दथे। पुरुष जति आफ्ना पत्नीको जोइतिङ्ग्रे बन्दथे। उसले अहिलेको समाज हेर्यो, आदिमबाट आधुनिक हुन लम्किरहेको अनि बोल्यो, पतिलाई स्वामी भन्ने श्रीमती जति आफ्ना पतिका झोले हुन। देशको राजनीतिमा जसरी नेताका झोलेको गन्ती हुन्छ, त्यसैगरी घर चलाउनमा पनि पत्नीको हात हुन्छ। उसले आफ्नो विचार व्यक्त गर्यो। उसले घोषणा गर्यो, विवाह पश्चात हरेक पुरुष नेता बन्दछ तथा हरेक महिला आफ्नो नेता पतिको झोले। अब झोलेको माग नेताले पूरा गर्नै पर्यो। घर, लत्ता कपडा, गाडी, जग्गा जमीन आदि इत्यादि। यो आदिम समाज हो। आधुनिक समाजमा महिला पतिव्रता होइन पारपाचुके खोज्दछन्। आफ्नै सिद्धान्त अनुसार अब विवाह गरेर स्वामी भन्ने श्रीमतीको नेता बन्ने कि आधुनिक खोजेर स्वतन्त्रता दिएर पारपाचुकेको त्रासमा बस्ने उ अलमल्ल पर्यो। फुईयाको फुरफुर ।
फुईयाको फुरफुर (१८)
संसारमा धेरै प्रकारका धर्म छन। उसले हिन्दु र इस्लाम धर्मको प्रसङ्ग निकाल्यो। हिन्दु धर्म अनुसार मुस्लिम जति ऋषिको श्राप पाएर हिन्दु धर्मको उल्टो गर्ने भए। लेख्दा दाहिने बाट देब्रे, र खसी बाख्रा काट्दा हलाल भनेर उल्टो बाट रेट्ने। सायद अरु कुरा सुल्टै गर्दछन होला, उसले सोधेन पनि। उसले समाज हेर्यो। हिन्दुको समाज कलियुगमा छ, शास्त्र सम्मत प्राय अधर्ममा लागेका छन्। उसले मुस्लिम समाज हेर्यो, जहाँ शिक्षाको ज्योति पाएर, तेल खानीबाट सम्पत्ति पाएर पनि महिलालाई बुर्का लगाएर अशिक्षाको डोरीमा बाँधेर, धर्मको प्रचार गरिरहेका । हिन्दु धर्ममा पनि पतिव्रता नारीहरू भरपूर्ण छन। इस्लामले पनि पतिव्रता र बहुविवाहलाई महत्व दिन्छ। उसले निष्कर्ष निकाल्यो, हिन्दु जति कलियुगमा छन एबम् इस्लाम सत्य युगमा। सायद उल्टो गर्ने ऋषिको श्रापले। फुईयाको फुरफुर ।
फुईयाको फुरफुर (१९)
समाज बदलिँदैछ, आधुनिकतातर्फ लम्किदैछ। उसले विवाहको प्रसङ्ग निकाल्यो। कुनै बेला हिन्दु समाजमा दाइजो प्रथा थियो जहाँ विवाहमा ससुराली पक्षले ज्वाइँलाई छोरीको निम्ति भनेर दाइजो दिन्थे। उसलाई प्राध्यापक बन्नु छ, कसैले फ्याट्ट सोधिहाले, के तपाईं दाइजो प्रथालाई समर्थन गर्नु हुन्छ ? उसले बोल्यो, दाइजो सम्पत्ति भएकाको लागि आफ्नी छोरीलाई उपहार हो, जसलाई ज्वाइँले पनि भोग चलन गर्न पाउँदछन्, सम्पत्ति नहुनेको लागि श्राप हो। अब मलाई हेर्नुस्, मलाई प्राध्यापक बन्नु छ, विवाहमा ससुरालीले भरपूर्ण दाइजो दिए भए, मैले त जिन्दगी सुख चैनमा बिताउने भएँ, घुमेर डुलेर रजाइँ गरेर बस्ने भएँ। यस्तो हुँदा म कसरी प्राध्यापक बनेर दाइजो प्रथा सही की गलतको ज्ञान दिनु, जबकि कानुनले दाइजो वर्जित गरेको छ, साथै मैले प्राध्यापक बन्नु छ। प्रश्नकर्ता रनभुल्लमा पर्यो। फुईयाको फुरफुर