काठमाडौं / झापा विद्रोहका योद्धा डीकेन्द्र राजवंशीले बल्खु स्थित नेकपा (एमाले) को मुख्यालयमा गएर आत्महत्या गरे । कारण थियो, एमाले नेताहरुको हेपाहा व्यवहार र उपेक्षा । आफ्ना छोरा शम्भुको रोजगारीको व्यवस्था होस् भनेर नेताहरुलाई भेट्न गएका डीकेन्द्रले सवैबाट नकारात्मक जवाफ मात्र पाए । आफ्ना भाइ, भतीजा, भान्जा, भान्जी र सालालाई जागिर खुवाउने नेकपा एमालेका नेताहरूले क्रान्तिकारी योद्धाको घोर अपमान गरे ।
त्यो अपमान सहन नसकेर डिकेन्द्रले एमालेको निधारमा कलंक र अभिषापको टिका लगाइदिँदै केन्द्रीय कार्यालयमै आएर २०६७ वैशाख ६ मा आत्महत्या गरे । विधिको बिडम्वना नै भन्नु पर्छ बाबुको आत्महत्याको शोक र बेरोजगार हुनुको पीडा खप्न नसकेर डिकेन्द्रका छोरा शम्भुले पनि चार महिनापछि आत्महत्या गरे ।
उनले त्यसरी आत्महत्या गर्नुको मुख्य कारण एमाले नेता केपी ओलीको हेपाहा व्यवहार नै थियो । वैशाख ३ गते बिहानै डिकेन्द्र छोरा शम्भुको जागिरको व्यवस्था हुने आशामा एमाले नेता केपी ओलीलाई भेट्न उनको भक्तपुर, बालकोटस्थित निवासमा गएका थिए । त्यहाँ पुगेर डिकेन्द्रले ओलीसँग छोराको रोजगारीको याचना गरेका थिए । ओलीबाट उनले सकारात्मक जवाफ पाएनन् । उल्टै अपमान सहनु परेको कुरा कसरी पनि पुष्टि हुन्छ भने त्यसै रात उनले आत्महत्या गरेका थिए । नेताहरूको हेपाहा व्यवहार र उपेक्षा खप्न नसकी एमालेका एक संघर्षशील कार्यकर्ता डिकेन्द्र राजवंशीले बल्खुस्थित पार्टी मुख्यालयमै आत्महत्या गरेको खबर चारैतिर फैलियो । एमाले नेताहरूले चाहँदा-चाहँदै पनि घटना ढाकछोप हुन सकेन ।
झापा, दुवागढी ५ का ६५ वर्षीय डिकेन्द्रले बल्खु मुख्यालयमा रहेको आरुबखडाको रूखमा तौलियाको पासो लगाई आत्महत्या गरेका थिए । एमालेका संगठित सदस्य राजवंशी आफ्ना २४ बर्षिय छोरा शम्भुको जागिरका लागि दुई महिनादेखि वरिष्ठ नेता र मन्त्रीका घर ढोका चहारिरहेका थिए । आत्महत्या गर्ने दिन बिहान चार घन्टाभन्दा बढी प्रतिक्षा गरेर ओलीलाई भेटेका डिकेन्द्रले छोरालाई जागिरमा लगाइदिन आग्रह गरेका थिए । ओलीले राजवंशीलाई २०३३ सालमा केन्द्रीय कारागारमा बन्दी हुँदादेखि चिनेका थिए । तर, उनले पनि हेरेनन् ।
डिकेन्द्र त्यसबेला एक वर्षदेखि नै छोरालाई जागिर खुवाउनकै लागि झापाबाट पटक-पटक एमाले केन्द्रीय कार्यालयमा धाउने गर्थे । ‘पटक-पटक आएर पार्टी नेताहरूलाई भेट्ने गरेका थिए’, एमालेका झापाका एक कार्यकर्ता भन्छन, ‘डिकेन्द्रले पटक-पटक एमाले नेताहरुलाई हात जोडेर छोराको जागिरको लागि याचना गरेको देखिन्थ्यो । एमाले नेताहरू भने डिकेन्द्रलाई नचिने झैं गरेर तर्किन्थे ।’ कुनै-कुनै बेला उनी पत्रकारहरूलाई पनि जागिरको व्यवस्था मिलाइदिन आग्रह गर्थे । सम्पत्तिको नाममा एक चपरी पनि जग्गा नभएका डिकेन्द्रको जेठो छोरा साउदी अरबमा काम गर्थे । उता पनि राम्रो कमाइ भएन ।
जीवन चलाउन नसक्ने भएपछि उनी कान्छा छोरालाई जागिर लगाउन काठमाडौं आएका थिए । तीन महिनादेखि छोरालाई जागिर लगाउने चक्करमा पार्टी कार्यलयमा काटे । गेष्ट हाउसमा डेरा जमाएर बसे । पछिल्लोपटक उनी एमाले केन्द्रीय कार्यालयकै आवास गृहमा बसेका थिए । सामान्य लेखपढ गरेका छोरा शम्भु पनि जागिरको आसले झन्डै चार महिनादेखि एमाले मुख्यालयमै बस्दै आएका थिए । आत्महत्या गरेको भोलिपल्ट अर्थात् वैशाख ४ गते शनिबार बिहान लाइब्रेरियन रामचन्द्र बोहराले बगैंचामा डिकेन्द्र झुन्डिएको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा शव पोस्टमार्टमपछि अन्तिम संस्कारका लागि उनको शव झापा लगिएको थियो ।
तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले हङकङको महावाणिज्य दूतमा आफ्ना भाइ सरोज उपाध्यायलाई नियमविपरीत नियुक्त गरेका थिए । अर्का भाइ विनोद उपाध्यायलाई गरिबी निवारण कोषको सदस्य बनाए । पहुँच भएका एमालेका सयौं कार्यकर्ताहरुले आफ्नो सरकार हुनुको फाइदा उठाउँदै विभिन्न सरकारी निकायमा जागिर पाए । अन्य नेताहरुले पनि आफ्ना नातागोतालाइ जागिरे बनाएपछि राजवंशीलेआफ्नो छोरालाई जागिर लगाइदिन गृहदेखि प्रधानमन्त्री समेतलाई अनुरोध गरेका थिए । भागवण्डाका लागि राष्ट्र वैंकको गभर्नर नियुक्ति समेत तीन महिना रिक्त रहेको अवस्थामा छोरालाई सामान्य जागिरका लागि राजवंशीले गरेको आग्रहलाई एमालेले व्यवास्त गरे पछि आर्थिक कठिनाइका कारण उनले आत्महत्या गरेका थिए । जागिरको सट्टा गृहमन्त्रीले पनि उनलाई उल्टै हप्काएर पठाएका थिए । सबै एमाले नेताहरुका काठमाडौंमा महल र छोराछोरीहरु विदेशका महंगा कलेजहरुमा छन भने उनीहरुका नातेदारहरु महत्वपूर्ण पोष्टमा जागिरे छन् । सहिदका छोराछोरी पढाउने कोटामा आफ्ना पठाएका छन्। तर, १० वर्ष लामो जेल जीवन बिताएका राजवंशीको आर्थिक अभावका कारण आत्महत्या गर्नुपर्यो ।
०२८ सालबाट सुरु भएको झापा विद्रोहका वेला नेकपा मालेबाट राजनीतिमा होमिएका डिकेन्द्र ०३३ सालमा झापा आन्दोलन हुँदा सीपी मैनाली, आरके मैनालीका सहयात्री थिए । तत्कालीन मालेका नेताहरूलाई सेल्टर दिएर सघाएको आरोपमा राज्यविरुद्धको अभियोगमा उनलाई ९ वर्ष जेल चलान गरिएको थियो । ०४६ बाट उनी एमाले कार्यकर्ता भएका थिए । तर, उनलाई जिल्लास्तरको राजनीतिभन्दा माथि सक्रिय भएर उठ्न दिइएन । नेकपा मालेका महासचिव सीपी मैनालीले डिकेन्द्र झापा आन्दोलनताकाका सक्रिय कार्यकर्ता भएको र गरामनीमा भएको प्रदर्शनपछि उनी पक्राउ परेको बताएका थिए । ०६२ सालको जनआन्दोलनको समयमा उनको खुट्टामा गोली लागेको थियो ।
डिकेन्द्रले आत्महत्या गरेको ४ महिनापछि साउनमा राजवंशीका छोरा शम्भुले पनि आत्महत्या गरे । झापा दुवागढीका २२ वर्षका शम्भुले आफ्नै निवासमा आत्महत्या गरेका थिए । पार्टीले सम्पूर्ण जीवन समर्पण गरेर काम गर्दा पनि वेवास्ता गरेपछि शम्भुले आत्महत्या गरेका थिए । बाबुको मृत्युपछि विक्षिप्त बनेका शम्भू राजवंशीका दुई छोरामध्ये कान्छा थिए ।
हाम्रो कुरा डटकमबाट