२३ माघ २०८१, बुधबार | Wed Feb 5 2025

शिखर शैलीमा निर्माण गरिएको गौरीगंज दुर्गा मन्दिरको विधिवत् उद्घाटन, स्थानिय युवा अभिषेक दासले गरे मन्दिरको डिजाइन



गौरीगंज २१ माघ / गौरीगंज गाउँपालिका वार्ड नं. ३ स्थित बुधबारे वजारमा रहेको ऐतिहासिक एवं पौराणिक गौरीगंज दुर्गा मन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठान गरिएको छ । आज सोमबार कोशी प्रदेशका मुख्यमन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि हिक्मत कुमार कार्कीबाट धार्मिक मन्त्रोउच्चारण सहित उद्घाटन तथा अनावरण गरिएको हो । माघ १९ गतेबाट धार्मिक अनुष्ठानसहित मुर्तिको प्राणप्रतिष्ठान तथा मन्दिरको उद्घाटन गरिएको कार्यक्रममा संविधान सभा सदस्य दिपक कार्की, गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी, उपाध्यक्ष पुजन न्यौपाने कुवँर, गौरीगंज गाउँपालिकाका निवर्तमान अध्यक्ष बाबुराजा श्रेष्ठ, निवर्तमान उपाध्यक्ष दिपिन्द्र थापा, वार्ड नं. ३ का वडा अध्यक्ष श्रवण गिरी, पुर्व गौरीगंज गाविस अध्यक्षहरु घनश्याम रिजाल, डोमनलाल राजवंशी, विजय अग्रवाल, देवी प्रसाद राजवंशी, झापा उद्योग वाणिज्य संघ गौरीगंजका अध्यक्ष रुपक श्रेष्ठ, गौरीगंज बहुमुखी क्याम्पसका व्यवस्थापन समितिका अध्यक्ष मखना महतो, वार्ड सदस्य गंगा प्रसाद राजवंशी, समाजसेवी सानुराजा श्रेष्ठ, मन्दिर निर्माण समितिका संयोजक शोभाकान्त दास, समाजसेवी कविराज वान्तवा, अमर सिवाकोटीलगायतको उपस्थिति थियो । गौरीगंज दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुनिल कुमार दासको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा स्वागत पुष्पराज रिजाल र सञ्चालन सम्झना अधिकारी अग्रवालले गरेका थिए ।
उक्त मन्दिरको समाजसेवी स्व.टिकालाल ताजपुरिया, अगमलाल हलुवाईका दाजुभाईहरु अर्जीलाल, ऊजारुलाल, मुनिलाल रौनियारलगायतका समाजसेवी अगुवाहरुले वि.स. १९९० सालमा परालको छानाले स्थापना गरेका थिए । केही वर्ष पछि उक्त मन्दिरको छाना जस्तापाता ( टिन ) र काठको घेराबेराले पुनः निर्माण गरिएको थियो । त्यसपछि यस मन्दिरलाई थप पुनः निर्माण गर्न साप्ताहिक श्रीमद्भागवत पुराण समेत आयोजना गरिएको समाजसेवी रामनारायाण दासले बताए । विश्वकै उत्कृट मन्दिरको डिजाइनहरु मध्ये शिखर शैलीमा निर्माण गरिएको उक्त दुर्गा मन्दिर सम्भव्त गौरीगंज क्षेत्रको मात्रै होइन झापा जिल्ला कै उत्कृष्ट मन्दिरको रुपमा निर्माण भएको बताइएको छ । मन्दिर व्यवस्थापन समितिद्वारा गठित मन्दिरको डिजाइन कार्यमा डिजाइन तथा नापनक्साङ्कन समितिका संयोजक पवन कुमार दास, सदस्यहरु पुष्पराज रिजाल, चन्द्रनारायाण दासको अथक प्रयासबाट स्थानिय युवा अभिषेक दासले शिखर शैलीमा मन्दिरको डिजाइन गरेका हुन् । करिब १ करोड ५० लाख रुपैयाँमा निर्माण गरिएको उक्त मन्दिर, मुर्ति, घेराबेरा, गेट र अन्य संरचनाहरु आकर्षक देखिएका छन् । गौरीगंज गाउँपालिकाका अध्यक्ष फुलवती राजवंशीले मन्दिरको पुनः निर्माणले यस क्षेत्रको इतिहासलाई जगेर्ना गर्ने कार्य भएको बताइन् । गाउँपालिका यस मन्दिर निर्माणमा थोरै भएपनि सहयोग पुरयाएको भन्दै गौरीगंजवासी मात्रै होइन सम्पुर्ण समाजसेवी महानुभावहरुले सहयोग र सहकार्य गर्नुपर्ने अध्यक्ष राजवंशीले बताइन् । अन्य क्षेत्र भन्दा पछाडि परेको गौरीगंज गाउँपालिकालाई यसै क्षेत्रका सम्मानिय प्रधान मन्त्री केपी शर्मा ओली , कोशी प्रदेश मुख्यमन्त्री हिक्मत कुमार कार्की, संविधान सभा सदस्य दिपक कार्कीले गौरीगंज क्षेत्रको हरेक विषयमा जानकार रहेको भन्दै गौरीगंजको समग्र विकास निर्माण कार्यमा विशेष ध्यान दिनुपर्नेमा अध्यक्ष राजवंशीको भनाई थियो ।

मन्दिर पुनः स्थापनाले यस क्षेत्रको धार्मिक पर्यटनलाई टेवा पुर्याउने निर्वतमान गौरीगंज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए । गौरीगंजका यसप्रकारको ऐतिहासिक धरोहरहरुलाई सरकारले संरक्षण र सम्र्वद्वन गर्नुपर्ने निवर्तमान गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए ।
गौरीगंज गाउँपालिका वार्ड नं. ३ का वडा अध्यक्ष श्रवण गिरीले गौरीगंज क्षेत्रमा विभिन्न सार्वजनिक महत्वका मन्दिर निर्माण, भवनलगायत अन्य संरचनाहरु निर्माण गर्न जग्गादान गरेका महान समाजसेवीहरुप्रति हार्दिक सम्मान जनाए ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ८ : ४३ बजे