लक्ष्मी उप्रेती,
बुद्धशान्ति । निर्धारित समयभन्दा झण्डै डेढ वर्षअघि निर्माण सम्पन्न झापाको बुद्धशान्ति गाउँपालिकाका वडा नम्बर ६ र ७ जोड्ने देशकै तेस्रो तथा कोशी प्रदेशकै लामो झोलुङ्गे पुल बिहीवार उद्घाटन भएको छ । बुद्धशान्ति गाउँपालिका वडा नम्वर ६ र ७ लाई जोड्ने ४ सय ७७ मिटर लामो डी आकृतिको रमिते गौंडा कोल्बुङ्गे गौडा झोलुङ्गे पुलको उद्घाटन गरिएको हो । २०८१ जेठ २४ गते ठेक्का सम्झौता गरी २०८३ जेठ २३ गतेभित्रमा निर्माण सम्पन्न गरिसक्ने म्याद रहेकोमा करिब ६ महिनामै पुल निर्माण सम्पन्न हो । ५ करोड ९८ लाख ८१ हजार ७६१ रुपैयाँमा थानी जगदम्बा जेभी काठमाण्डौले पुल निर्माणको ठेक्का पाएको थियो ।
प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले पुल उद्घाटन गरेका हुन् । पुलको गत असार २४ गते शर्माले नै शिलान्यास गरेका थिए । उद्घाटनका अवसरमा सन्सपेन्सन बृज डिभिजन पुल्चोकका पूर्व प्रमुख इञ्जिनियर कुमार थापासहित जग्गादातादेखि निर्माण व्यवसायी र मजदुरहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य शर्मा, विशिष्ट अतिथि कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापा, कोशी प्रदेश सभा सदस्यद्वय सविना बजगाईँ, निर्मला तावालगायतले अविर, माला र दोसल्लासहित सम्मानपत्र प्रदान गरेका थिए ।
मेची राजमार्गबाट ५ सय मिटर पूर्व टिमाई खोलामाथि बनेकोे झोलुङ्गे पुल सञ्चालनमा आएपछि बुद्धशान्ति गाउँपालिकाका २ वटा वडा जोड्नुका साथै इलाम र झापाका थुप्रै सर्वसाधारणलाई आवत–जावतमा सहज हुने वडाध्यक्ष बुद्धशान्ति वडा नम्बर ६ का वडाध्यक्ष शिवराज पौडेलले जानकारी दिए । झोलुङ्गे पुल सञ्चालनमा आएपछि आन्तरिक एवम् बाह्य पर्यटकको आकर्षण बढेको बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईले जानकारी दिए । ‘यो पुल बुद्धशान्तिको पर्यटकीय स्थलको रुपमा एउटा आर्कषणको गन्तव्य बनेको छ’अध्यक्ष प्रसाईले भने,‘अब यसको संरक्षण र प्रवर्द्धन गर्ने जिम्मा तपाई हामी सवैको हो । अनावश्यकरुपमा पुलको दुरुपयोग नगरौ, टिकटक बनाउने नाममा पुलमा हेलचेक्र्याई नगरौ ।’
झापाका विभिन्न स्थानसहित इलाम, पाँचथरलगायतका स्थानबाट घुम्नका लागि मानिसहरु आउन थालेको बताइएको छ । अहिले पुलबाट वारिपारी गर्ने, पुल चढ्ने , फोटो खिच्ने, टिकटक बनाउनेको संख्या बढ्न थालेको छ । बालबालिकादेखि ८० बर्षसम्मका सयौ मानिस पुलमा आउने गरेकाले स्थानीय पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नुको साथै जरेवर पार्क, धारागोला भ्युटावर र हरित पार्कसम्म मानिसहरु घुमफिर गरि फर्कने गरेको बुद्धशान्ति–७ का वडाध्यक्ष चन्द्रप्रसाद भण्डारीले बताए ।
पुल उद्घाटन कार्यक्रममा प्रमुख अतिथि शर्मा, विशिष्ट अतिथि कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापा, कोशी प्रदेश सभा सदस्यद्वय सविना बजगाईँ, निर्मला तावा, मेचीनगर नगरपालिका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाई, रोङ गाउँपालिका इलामका अध्यक्ष मनिकुमार स्याङ्बो, सन्सपेन्सन बृज डिभिजन पुल्चोकका पूर्व प्रमुख इञ्जिनियर कुमार थापा, अग्रज सञ्चारकर्मी चन्द्र भण्डारीलगायतले बोलेका थिए । उद्घाटनका क्रममा बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईं, मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीलगायत विभिन्न पालिकाका प्रमुख, प्रतिनिधिलगायत सर्वसाधारणको सहभागिता रहेको थियो ।