गौरीगंज २२, पुस / खजुरगाछी साना किसान कृषि सहकारी संस्थाको कर्मचारीबाट संस्थाको रकम बदनियत पूर्वक अपचलन गरेको पाइएको छ । झापाको गौरीगंज गाउँपालिका वार्ड नं. ६ स्थित खजुरगाछीमा रहेको उक्त संस्थाको डेढ करोड भन्दा बढी रकम अपचलन भएको हो ।
संस्थाका व्यवस्थापक ओमप्रकाश ताजपुरिया र सहायक कर्मचारी तारा खतिवडाले संस्थाको रकम अपचलन गरेको संस्थाको आ.व. २०८० /०८१ को लेखा परिक्षण प्रतिवेदनमा उल्लेख गरिएको पाइएको छ । संस्थाका व्यवस्थापक ओमप्रकाश ताजपुरियाले विभिन्न समयमा संस्थाका १० जना सदस्यहरुको नाममा १८ वटा काल्पनिक ऋणी खडा गरी रु. ८९ लाख ८५ हजार ५ सय ७४ रुपैयाँ ऋण लगानी गरी संस्थाको रकम जानी बुझी दुरुपयोग गरेको लेखा प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसैगरी सहायक कर्मचारी तारा खतिवडाले संस्थाका १० जना सदस्यहरुको नाममा १८ वटा काल्पनिक ऋणी खडा गरी रु. ६७ लाख ५६ हजार २ सय ६७ रुपैयाँ रकम दुरुपयोग गरेकी छन् ।
व्यवस्थापक ताजपुरियालाई संस्थाको संचालक समितिले मिति २०८१ साल ६ महिना १३ गते रकम दुरुपयोग सम्बन्धमा स्पष्टिकरण सोधेको थियो भने सहायक कर्मचारी खतिवडालाई पनि सोही मितिमा स्पष्टिकरण सोधिएको थियो । स्पष्टिकरणमा व्यवस्थापक ताजपुरियाले दुरुपयोग रकम सम्बन्धमा आफुले अपचलन गरेको स्वकार गरेका थिए । उक्त रकम स्पष्टिकरण अगावै संस्थामा दुरुपयोग गरेको रकम मिलान गरेका थिए भने सहायक कर्मचारी खतिवडाले दुरुपयोग गरेको रकमको आंशिक रुपमा नगद तिरेका थिए भने बाँकी रकम निजकै सासुको नामको जग्गा नियमानुसार धितो राखी स्पष्टिकरण अगावै ५४ लाख रुपैयाँ संस्थामा दुरुपयोग रकम मिलान गरेका थिए ।
संस्थाका अध्यक्ष डिककुमारी अधिकारीका अनुसार संस्थाका कर्मचारीले सञ्चालक समिति र कर्जा उपसमिति लाई थाहै नदिई २०७५ सालदेखि नै नक्कली ऋणी खडा गरी पटक पटक कर्जा लगेको बताइन् । धेरैजसो कर्जा लगानीका निर्णयहरु सञ्चालक समितिलाई जानकारी हुने नगरेको, कतिपय लगानी कर्जा उपसमितिकै तहबाट हुने गरेको देखिएकोले समस्या आएको अध्यक्ष अधिकारीले बताइन् । संस्थाको व्यवस्थापकलाई कार्यालयबाट सम्पादन हुने हरेक आर्थिक र प्रशासनिक कामको रेखदेख, निरीक्षण, अनुगमन, निर्देशन, नियन्त्रण र सञ्चालक समितिसंगको समन्वय गर्नु पर्ने कुराको आधारभूत दायित्व रहेको हुन्छ । तर कर्जा समितिले सिफारिस गरे बमोजिमको रकम सञ्चालक समितिबाट अनुमोदन वा स्वकृति नगराई लगानी हुदाँ समेत नियन्त्रण नगरी एकमुष्ठरुपमा ठुलो रकमको लगानी कर्जा अनुमोदन गरियो भन्ने निर्णय लेखि सञ्चालक समितिबाट प्रमाणीकरण नगरी कर्जा प्रवाह गरेको पाइएको छ ।
ऋण लगानी गर्दा तयार गर्नु पर्ने केही तमसुकमा ऋणीको हस्ताक्षर, औठा छाप तथा साक्षीहरुको हस्ताक्षर तमसुकमा नभएको पाइएको प्रतिवेदनमा उल्लेख छ ।
ऋण माग फारममा ऋणी को ऋण माग, ऋण बुझेको अभिलेखसमेत नभएको पाइएको छ ।
संस्थाका सञ्चालक समिति, लेखा समिति र कर्जा उपसमितिका सदस्यहरुले संस्थाबाट लिएको कर्जाको विवरण चौमासिक रुपमा सम्बन्धित नियामक निकायमा पेश नगरेको पाइएको छ ।
गत पुस २० गते शनिवारका दिन गौरीगंज गाउँपालिका वार्ड नं. ६ स्थित खजुरगाछी माध्यमिक विद्यालयमा संस्थाको १० औं साधारण सभामा खैलाबैला मच्चिएको थियो । निज कर्मचारीहरुले शेयरधनीहरुसंग स्टेजमै माफी माग्दै आइन्दा आफूहरुबाट यस्तो गल्ती नहुने बताएपछि अधिकांश शेयरधनीहरुले त्यसको विरोध जनाएका थिए ।
निज कर्मचारीहरुको राजीनामा माग गर्दै उनीहरुलाई कडा भन्दा कडा सजाय हुनु पर्ने सहभागी शेयर सदस्यहरुले माग गरेका थिए । राजीनामा नदिए र कार्वाही नभए सबै शेयरधनीहरुले आफुले संस्थामा गरेको लगानी रकम झिक्ने समेत बताएका थिए । शेयरधनीहरुले निज कर्मचारीहरुको राजीनामा सञ्चालक समितिले स्विकृत नगरी हालसम्म हाजिरी गराएको र कारर्वाही नगरेको भन्दै सभाबाट बाहिरिएको एक सहभागी शेयर सदस्यले बताए । सर्वसाधारण वचत कर्ताको रकम हिनामिना गर्ने र रकम अपचलन गरी दुरुपयोग गर्ने जोसुकैलाई सहकारी विभागको नियमानुसार कानुनी कारर्वाही हुनु पर्ने शेयर सदस्यहरुले बताएका थिए । संस्थाको कुल सदस्य संख्या ७ सय ९९ जना रहेका छन् ।