२० पुस २०८१, शनिबार | Sun Jan 5 2025

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजवंशीको घरमा केराको पातमा पेल्का र माछा भात खाए



झापा, पुष १५ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजवंशीको घरमा केराको पातमा पेल्का र माछा भात खाएका छन् ।

झापाको गौरीगञ्जमा आज आयोजित खबरदारी सभालाई सम्बोधन गर्न आएका प्रचण्डले माओवादी केन्द्रका गौरीगञ्ज १ का वडा कमिटी अध्यक्ष तिलक राजवंशीको महाभारास्थित घरमा कोच संस्कृति अनुसार बिहानको खाना खाएका हुन् । केराको पातमा उनले उसिना चामलको भात , लाफाको पेल्का (लाफा सागको दाल जुन चिप्लो हुन्छ ), आलु र फूलकोभीको भाजी र रहुँ माछा खाएका हुन् ।

कोच संस्कृति अनुसार उनले पलेटी कसेर खाना खाएका थिए । उनीसंगै हरिबोल गजुरेल , इन्द्र आङबो , सावित्रीकुमार काफ्ले , जीवन आचार्य,धर्मशीला चापागाँईलगायतले खाना खाएका थिए । राजवंशीको घरमा करिव ७५ जनाले खाना खाएको एक स्थानीय कार्यकर्ताले बताए । जसको व्यवस्थापन पार्टीको जिल्ला कमिटीले गरेको थियो ।

खाना पकाउन र खुवाउन १० भन्दा बढी टहलुवा र कामकरी ( राजवंशी भाषामा भोजभतेरमा खटिने पुरुष र महिला स्वयंसेवक ) खटिएको ती कार्यकर्ताले जानकारी दिए ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ३ : ५७ बजे