९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025

दशगजाका ४ सीमास्तम्भ ढलेकै अवस्थामा, गौरीगंजमा सीमा सहजीकरण समिति गठन



गौरीगंज २, भाद्र / झापाको गौरीगंज गाउँपालिकाको क्षेत्रभित्र दशगजामा पर्ने ४ वटा सीमास्तम्भ बाढीले ढलेको करिब एकमहिना वितिसक्दा पनि ज्युँकात्युँ अवस्थामा छन् ।
गत असार महिनामा तीनदिनसम्म आएको अविर वर्षाका कारण कमल खोलामा आएको बाढीले गौरीगंज वार्ड नं. २ स्थित लालमाटी छेउ दशगजामा रहेको १४० / १५ नम्बरको सीमास्तम्भ ढलेको थियो भने गौरीगंज गाउँपालिका वार्ड नं.४ अल्तावारीमा रहेको पीलर नं. १४९/२६, गौरीगंज गाउँपालिका वडा नं. २ आमगाछी छेउमा रहेको पीलर नं. १४५/११ र गौरीगंज गाउँपालिका वार्ड नं. ४ मा अल्तावारीमा रहेको पीलर नं. १४९/८ खोलामा ढलेको सशस्त्र सीमा सुरक्षा बल गौरीगंजले जनाएको छ । ढलेका सीमास्तम्भहरुलाई साविक स्थानमा कायम गर्न हाल सम्म सम्बन्धित निकायले चासो नदेखाएकोमा स्थानियहरुले चिन्ता व्यक्त गरेका छन् । गौरीगंज गाउँपालिका वार्ड नं. ४ का जयप्रसाद ताजपुरियाले सीमास्तम्भ ढलेको करिब एक महिना भन्दा बढी भइसक्यो सम्बन्धित निकायले कुनै चासो नदिएको बताए । उनले भने, – पीलर ढलेको १ महिना भन्दा बढी भइसक्यो कसैको चासो देखिएन, सकभर छिट्टै साविक स्थानमा पीलर राख्ने काम गरियोस् नभए भारतीय पक्षले सीमाना सार्ने बेर छैन् ।’

सीमा सहजीकरण समिति गठन
सीमाक्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि न्युनिकरण गर्न र सूचना आदानप्रदान गर्न सीमा सहजीकरण समिति गठन गरिएको छ ।
गौरीगंज गाउँपालिका वार्ड नं. ५ का वडा अध्यक्ष विजयसिंह गन्गाईको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको हो । समितिले गौरीगंज गाउँपालिकाको दक्षिणी सीमासंग जोडिएको खुल्ला सीमाबाट हुनसक्ने आपराधिक गतिविधिको सूचना आदानप्रदान गर्ने,सीमा स्तम्भ डुवानमा परे वा जोखिममा भए त्यसको जानकारी दिने र सीमा क्षेत्रका वारेमा महिनामा एकपटक वैठक बसी छलफल गर्ने निर्णय गरेको छ । सशस्त्र प्रहरी नायव उपरिक्षक अस्मिन कुमार थापाको रोहवरमा समिति निर्माण गरिएको छ । समितिको संयोजकमा वडा अध्यक्ष विजयसिंह गन्गाई, सदस्यहरुमा इलाका प्रहरी कार्यालय गौरीगंजका प्रहरी निरिक्षक विजय कार्की, सशस्त्र प्रहरी निरिक्षक रुद्र बुढाथोकी, वडा सदस्य देवनारायण गन्गाई, गन्गाई समाजका सहदेव गनगई, अमर खेलकुदका प्रतिनिधि असोक राज थापा, उद्योग वाणिज्य संघका प्रतिनिधि रोशन यादव, जनता वालविकास प्राविका ममता कुमारी सिंह, नागरिक समाजका प्रतिनिधि सन्तोष गन्गाई, गोपालप्रसाद गन्गाई र पत्रकार आत्माराम राजवंशी रहेका छन् ।

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  १० : ५६ बजे