४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

´आन्दोलनमा आदिवासी, जनजातिको दर्विलो उपस्थिति भए पनि यो वर्ग शोषित छ ` ,- पर्यटनमन्त्री किराँती



तेजन खड्का
उर्लाबारी २४, साउन / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले अहिले आदिवासी जनजातिले पहिचानको कुरा उठान गरिरहेको बताउनुभएको छ । नेपाल आदिवासी जनजाति महासंघ उर्लाबारी नगर समितिले उर्लाबारीमा २९ औं विश्व आदिवासी दिवशको अवसरमा आयोजना गरेको बृहत सभामा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले ‘४६ को जनआन्दोलनपछि ६२÷६३ को आन्दोलनमा आदिवासी, जनजातिको दर्विलो उपस्थिति भए पनि यो वर्ग शोषित रहेको उल्लेख गर्नुभयो।

नेपाली समाजको शल्यक्रिया गरिनु आजको आवश्यकक्ता भएको उल्लेख गर्दै उहाँले नेपाली संस्कृतिको मनोविज्ञानबाट अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । अब एकले अर्कालाई निषेध गरेर कोही पनि अगाडि बढ्न नसक्ने उहाँको भनाइ थियो ।
मन्त्री किरातीले नेपालको आफ्नै मौलिक संस्कृति र सांस्कृतिक सम्पदा हुँदाहुँदै विदेशी संस्कृति र सम्पदाको नक्कल गर्नु मूर्खता भएको बताउनुभयो ।

हाम्रो आफ्नै विशिष्ट संस्कृति छ, सम्पदा र इतिहास छ । जो अरूसँग छैन । हामीले तिनै संस्कृति र सम्पदालाई जोगाउने हो । पर्यटनसँग जोड्ने हो ,उहाँले भन्नुभयो ।

नेपाल संस्कृति र प्रकृतिले धनी भएकाले पर्यटनको विकासका लागि नयाँ संरचनाहरू बनाउनुभन्दा पनि विद्यमान मौलिक संस्कृति, सम्पदा र प्रकृतिको संरक्षणमा जोड दिनुपर्ने मन्त्री किराँतीको भनाइ छ ।
उहाँले अबको नेपालको पर्यटन नेपालीपनको हुने दाबीसमेत गर्नुभयो । रैथाने स्वाद र संस्कृतिसहितको अबको पर्यटन हुनुपर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, संस्कृति, रैथाने ज्ञान र स्वादसहितको पर्यटन विकास गर्नुपर्छ, रैथाने स्वादलाई पर राखेर पर्यटन विकासको कल्पना गर्न सकिँदैन, हाम्रा होटल रेस्टुराँमा पनि नेपाली स्वाद पस्कने वातावरण बन्नुपर्छ, विदेशी परिकारको मात्र भर परेर पर्यटनको विकास हुँदैन ।
मन्त्री किराँतीले नेपालमा पर्यटनका लागि अथाह सम्भावना भए पनि त्यसको परिचालन गर्ने नीतिहरूकै अभाव देखिएको बताउनुभयो ।

उहाँले मुलुकको पर्यटन व्यवसायलाई अघि बढाउनका लागि सोसम्बन्धी अध्ययन, अनुसन्धान हुनुपर्नेमा पनि जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘पर्यटन नीति हामीले अहिलेसम्म बनाउनै सकेनौँ । हाम्रो संस्कृति नीति बनाउनै सकेनौँ । चाइनिज कल्चर सेन्टर छ नेपालमा, स्पेनिस कल्चर सेन्टर छ । रसियन कल्चर सेन्टर, इन्डियन कल्चर सेन्टर छ नेपालमा । तर नेपालको त केही पनि छैन ।

हामीसँग संसारमा कतै नभएका अनौठा संस्कृतिहरू छन, सगरमाथा हामीसँगै छ, बुद्धको जन्मस्थल हामीसँगै छ, हरियाली वनजङ्गल हामीसँगै छ । हामीले तिनलाई संरक्षण गरिदिए पुग्छ । पर्यटक यतिकै आउँछन । नयाँ बनाउन आवश्यक नै छैन ।’ मन्त्री किरातीले भन्नुभयो ।
। नेपाल आदिवासी जनजाति महासंघ उर्लाबारी नगर समितिका अध्यक्ष शमशेर लिम्बूको सभापतित्वमा भएको कार्यक्रममा कोशी प्रदेश सभा सदस्य विद्या चाम्लिङ, नेपाली कांग्रेसका कोशी प्रदेश सहमहामन्त्री तथापूर्वमेयर खड्गबहादुर फागो, उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेल, उपमेयर मीना पौडेल लगायतले बोल्नुभएको थियो । कार्यक्रममा बिभिन्न जातजातिको झाँकी प्रर्दशन गरिएको थियो ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ११ : ४५ बजे