३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

पार्टी हित विपरित अभिब्यक्ति नदिन कांग्रेस प्रदेश सभापति थापाकाे निर्देशन





विर्तामोड १८, भदौ / नेपाली कांग्रेस प्रदेश नम्बर १ का सभापति उद्वव थापाले  पार्टीको नीति निर्णय र पार्टी हित विपरित सार्वजनिक अभिब्यक्ति प्रकट नगर्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

नेपाली कांग्रेस झापाको आज सम्पन्न बैठकलाई सम्बोधन गर्दै नेता थापाले केन्द्रले गठबन्धन गर्ने निर्णय गरिसकेको अवस्थामा पाँचदलीय गठबन्धनलाइ बलियो बनाउँदै संविधान र लोकतन्त्र रक्षाका निमित्त सबै कार्यकर्ताहरु एकताबद्ध भई चुनावी महाअभियानमा जुट्न अपिल गर्नुभयो ।

पार्टी संगठनभित्र र गठबन्धन दलका सहयात्रीबीच मैत्रीपूर्ण सम्बन्ध विस्तार गर्दै  प्रतिगमनकारीको पञ्जाबाट देशलाई जोगाउन सबै तह र तप्काका कार्यकर्ताहरु सचेत रहनुपर्नेमा नेता थापाले जोड दिनुभयो ।
आफू संघ र प्रदेश दुवैमा प्रत्यक्षतर्फको उम्मेद्वार नहुने स्पष्ट पार्दै उहाँले युवा पुस्ता र नयाँ अनुहारलाई अगाडि बढाउन इच्छुक रहेको भनाइ राख्नुभयो ।
समानुपातिकतर्फको उम्मेद्वार बनी १ नम्बर प्रदेशका १४ वटै जिल्लाको चुनाव प्रचारमा खटेर पार्टी र गठबन्धनका उम्मेद्वारलाई विजयी गराउनुपर्ने प्रदेश सभापतिको दायित्व निर्वाह गर्ने बताउनुभयो ।
कार्यक्रममा केन्द्रीय सदस्य सुशिला ढकाल आचार्य, गोमा भटराई, प्रदेश प्रतिनिधि हरिकला श्रेष्ठ र इन्दिरा अधिकारीले उम्मेद्वार बन्नका लागि पार्टीले निश्चित मापदण्ड बनाएर अघि बढ्नुपर्नेमा जोड दिदै उम्मेद्वारी सिफारिस प्रक्रियालाई हदैसम्म खुल्ला गर्दा केही समस्याहरु आएको बताउनुभयो ।

प्रदेशसभा र क्षेत्रबाट सिफारिस भइआएका नामावली क्षेत्रीय समितिका सभापति तथा प्रतिनिधिहरु हरिकुमार बुढाथोकी, खगेन्द्र मैनाली, गणेश पोखरेल, जयनारायण शाह र ढुण्डिराज भण्डारीले बैठकमा प्रस्तुत गर्नुभएको थियो ।

पार्टी सभापति देउकुमार थेवे र उपसभापति केशवराज पाण्डेको आलोपालो सभापतित्वमा सम्पन्न बैठकको सञ्चालन सचिव कृष्ण हुमागाईले गर्नुभएको थियो ।

प्रकाशित मिति : १८ भाद्र २०७९, शनिबार  ४ : १५ बजे