६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

कांग्रेस पार्टीद्वारा घर निर्माण हुने भएपछि मणिराम दंग !



कमल१७, फागुन / झापाको कमल गाउँपालिका – १ सरङपाडाका विपन्न एक परिवारलाई नेपाली कांग्रेसले घर बनाइदिने भएको छ । कांग्रेस कमल १ नम्बर वडा समितिको पहलमा स्थानीय मणिराम न्यौपानेको पक्की घर निर्माण हुने भएको हो ।

दैनिक जनमन गरेर जीविकोपार्जन गर्दै आएका न्यौपानेको घर मंगलबार शिलान्यास गरिएको छ । कांग्रेसका क्रियाशील सदस्य र शुभेच्छुकहरुसंग सहयोग संकलन गरी घर निर्माण गरिने निर्माण समितिका संयोजक फणीन्द्र भण्डारीले जानकारी दिए ।
शौचालय र बाथरुमसहित दुई कोठे घर आगामी चैत मसान्तसम्ममा निर्माण सम्पन्न हुने भण्डारीले जनाए । आर्थिक अवस्था कमजोर रहेका ६० बर्षीय न्यौपानेका श्रीमती र दुई छोरी रहेका छन् । न्यौपाने दम्पती नै श्रवणशक्ति शून्य (कान नसुन्ने) अवस्थामा छन् ।

घर शिलान्यास कार्यक्रममा नेपाली कांग्रेस झापा ५ (क) का सभापति जीवनकुमार राईले दीनदुःखीहरुको सहयोगमा लागिपरे मात्रै वीपीले परिकल्पना गरेको समाजवादले सार्थकता पाउने बताए ।

कमल-१ का वार्ड सभापति भीष्म सुबेदीले भाषणमा सीमित नभएर जनउत्थानमा समर्पित हुन सक्नु नै कांग्रेसको चिनारी भएको बताए ।

कार्यक्रममा कांग्रेस झापा क्षेत्र नं. ५ का सभापति ढुण्डिराज भण्डारीले गरिबीका रेखा मुनि रहेका नागरिकलाई राज्यले नीति बनाएरै संरक्षण गर्नुपर्नेमा त्यसो हुन नसक्नु दु:खदायी भएको बताए । कांग्रेस पार्टीद्वारा घर निर्माण हुने भएकाेले कांग्रेसीजन सबैले सहयाेग गर्नुपर्ने क्षेत्रिय सभापति भण्डारी बताए ।

शिलान्यास कार्यक्रममा कमल गाउँपालिका – १ का वडाध्यक्ष केदार कटुवाल, कांग्रेस झापा – ५ (ख) का सभापति रवि केसीलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  १० : ३१ बजे