३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

अम्बरको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिन्छः मन्त्री पोख्रेल


२५ जेष्ठ २०७३, मंगलबार  

0
Shares

काठमाडौं , २५ जेठ  /  पर्यटन, सँस्कृति तथा नागरिक उड्डेयन मन्त्री आनन्द पोख्रेलले दिवंगत अम्बर गुरुङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने बताएका छन् ।

गुरुङलाई श्रद्धाञ्जली दिन मंगलबार प्रज्ञाभवन कमलादी पुगेका मन्त्री पोख्रेलले पत्रकारहरुसँग कुरा गर्दै सरकारले गुरुङलाई राष्ट्रिय सम्मान दिने बताए । ‘यसअघि उपचारमा पनि सरकारले सहयोग गर्दै आएको थियो,’ मन्त्री पोख्रेलले भने, ‘अब राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिन्छ ।’

अम्बर गुरुङको योगदानको सरकारले उच्च मूल्यांकनसहित सम्मान गर्ने मन्त्री पोख्रेलले बताए ।

नेताहरूले यसरी सम्झिए

गुरुङलाई सम्मान दिन सरकारका मन्त्री र राजनीतिक दलका नेताहरु पनि प्रज्ञाभवन पुगेका छन् । सहकारी तथा गरिबी निवारण मन्त्री चित्रहादुर केसीले अम्बर गुरुङ सधैं अमर रहने बताए । सबै नेपालीको मनमा बस्न सफल गुरुङले नेपाली गीत संगीत क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको बताए ।

यसैगरी एमाले वरिष्ठ नेता झलनाथ खनालले नेपाली गीत संगीतका लागि अम्बर गुरुङ सँधै अमर रहेको बताए । उनले नेपाल र नेपाली संगीतमा पुर्‍याएको योगदानलाई बिर्सनै नसकिने बताए । उनले शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरे ।

प्रधानमन्त्री राजधानीमा नहुँदा अलमल

यसैवीच प्रधानमन्त्री केपी शर्मा ओली पूर्वनिर्धारित कार्यक्रमका लागि सुर्खेत गएका कारण गुरुङको अन्त्येष्टिबारे निर्णय गर्न ढिलाइ भएको छ । दिउँसो तीन बजे अन्त्येष्टिको समयअघि मन्त्रिपरिषद बैठक बस्ने तय भएको छैन ।

मुख्यसचिव डा. सोमलाल सुवेदीले अनलाइनखबरसँग भने, ‘आज क्याबिनेट बैठक छैन, यो गृहलाई सोध्ने प्रश्न हो, गृहलाई सोध्नुस् ।’

गृह मन्त्रालयका प्रवक्ता यादव कोइरालाले भने आज अन्तेष्टि गरेर भोलि क्याबिनेटले निर्णय दिने बताए । ‘आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरेर भोलि मन्त्रिपरिषद बैठकले समर्थन दिन सकिन्छ,’ उनले भने ।

यसै विषयमा प्रतिक्रिया लिन प्रयास गर्दा गृहमन्त्री शक्ति बस्नेतसँग सम्पर्क हुन सकेन । मन्त्री बस्नेत सचिव नारायण मलेगोसँग बैठकमा व्यस्त रहेको गृह स्रोतले बतायो ।

ग्राण्डी अस्पतालमा उपचारको क्रममा गुरुङको मंगलबार बिहान निधन भएको थियो । गुरुङको पार्थिव शरिरलाई नेपाल प्रहरीको गाडीमा राखेर प्रज्ञाभवन ल्याइएको थियो । नेपाली सेनाका मानार्थ कर्णेलसमेत रहेका गुरुङको पार्थिव शरिरलाई अब सेनाको गाडीमा राखेर अन्त्येष्टिका लागि पशुपति आर्यघाट पुर्‍याइने छ ।

प्रज्ञाभवनमा सेना, प्रहरी, कलाकार, नेता, सर्बसाधारण लगायत पुगेका छन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०७३, मंगलबार  ७ : ३० बजे