२३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026

बालेन प्रधानमन्त्री बन्ने निश्चित



गौरीगंज २३, फागुन / झापा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ ले फराकिलो अग्रता कायम गरेका छन् । पछिल्लो मतपरिणामअनुसार बालेनले ३४ हजार ८ सय ६३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ९ हजार ६८ मत पाएका छन् । यस आधारमा बालेन ओलीभन्दा २५ हजार ७ सय ९५ मतले अगाडि रहेका छन् ।

मतगणनाको प्रारम्भिकदेखि नै बालेनले स्पष्ट अग्रता लिँदै आएका छन् । पछिल्लो रुझान हेर्दा उनी निर्वाचित हुने लगभग निश्चितजस्तै देखिएको छ । निर्वाचन क्षेत्रमा अहिले पनि शान्तिपूर्ण रूपमा मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अन्य दलका उम्मेदवारहरू भने निकै पछाडि परेका छन् । श्रम संस्कृति पार्टीका उम्मेदवारले ५ हजार ६ सय ४५ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवारले ९ सय ७४ मत पाएका छन् । त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारले ८ सय ६२ मत प्राप्त गरेका छन् ।

रास्वपाले यसअघि नै बालेन शाहलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै जनतामाझ गएको थियो । पार्टी नेतृत्वले उनलाई परिवर्तनको प्रतीकका रूपमा अघि सारेको दाबी गर्दै आएको छ । देशभरबाट आइरहेका मतगणनाको रुझानले पनि रास्वपाप्रति जनताको समर्थन उल्लेख्य रूपमा बढेको संकेत गरेको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

यसैबीच, विभिन्न निर्वाचन क्षेत्रबाट प्राप्त प्रारम्भिक परिणामहरू हेर्दा रास्वपाले उल्लेखनीय सफलता हासिल गर्ने सम्भावना देखिएको छ । कतिपय क्षेत्रमा पार्टीका उम्मेदवारहरू अग्रता कायम गरिरहेका छन् । यही प्रवृत्ति कायम रहेमा प्रतिनिधिसभामा रास्वपाको उपस्थिती बलियो हुने अनुमान गरिएको छ ।

झापा ५ को परिणामलाई विशेष चासोका साथ हेरिएको छ, किनकि यहाँ एमाले अध्यक्ष ओली स्वयं प्रतिस्पर्धामा छन् । तर हालसम्मको मतपरिणामले भने बालेन शाहको पक्षमा स्पष्ट माहोल देखिएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ७ : ५९ बजे