२९ श्रावण २०८२, बुधबार | Wed Aug 13 2025

नेपाली क्रिकेटर ललित राजवंशीलाई मातृशोक



गौरीगंज २५, साउन / नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख बलर विराटनगर–१४ निवासी ललित नारायण राजवंशीलाई मातृशोक परेको छ। ललितकी आमा शुभकुमारी देवी राजवंशीको आइतबार बिहान निधन भएको हो। निधनको खबर पाएलगत्तै काठमाडौंमा प्रशिक्षणमा रहेका ललित तत्काल विराटनगर आइपुगेका छन्।

परिवारजनका अनुसार, मृतक शुभकुमारी देवी केही समयदेखि अस्वस्थ रहँदै आएकी थिइन्। आइतबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि उपचारको क्रममा निधन भएको हो। उनको अन्तिम संस्कार आइतबारकै दिन विराटनगरस्थित सिंघीया खोलामा धार्मिक संस्कारअनुसार सम्पन्न गरिएको छ । अन्त्येष्टिमा परिवारका सदस्य, छर–छिमेक र शुभेच्छुकहरूको ठूलो भीड रहेको थियो ।

मृतक शुभकुमारी देवीका श्रीमान् जयनारायण राजवंशी रहेका छन्। उनका तीन छोरामध्ये जेठा युगलकिशोर राजवंशी, माइला रामकिशोर राजवंशी, र कान्छा ललित नारायण राजवंशी रहेका छन्। यसका साथै एक मात्र छोरी सुमन राजवंशी पनि छिन्। परिवारमा आमा गुमाउँदा शोकको छायाँ छाएको छ भने छिमेकी र आफन्तहरू शोक सान्त्वनाका लागि घरमा आउजाउ गरिरहेका छन्।

ललित नारायण राजवंशी नेपाली क्रिकेटमा चर्चित नाम हो। उनी राष्ट्रिय टिमका लागि महत्त्वपूर्ण खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। आमाको निधनले उनलाई गहिरो मानसिक आघात पुगेको छ। खेलकुद क्षेत्रमा मात्र नभई, स्थानीय स्तरमा समेत ललितको योगदानलाई सम्झिँदै समुदायले उनको परिवारप्रति संवेदना व्यक्त गरिरहेको छ।

शुभकुमारी देवीको निधनले विराटनगर–१४ र आसपासका वडामा पनि शोकको वातावरण छाएको छ। सामाजिक र पारिवारिक जीवनमा सरल, मिलनसार र सहयोगी स्वभावकी रूपमा परिचित उनी समुदायमा सम्मानित व्यक्तित्व थिइन्।

यस दुःखद घडीमा स्थानीयवासी, खेलकुदप्रेमी र ललितका समर्थकहरूले दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भन्ने प्रार्थना गरेका छन्।

प्रकाशित मिति : २६ श्रावण २०८२, आइतबार  ८ : २८ बजे