२९ असार २०८२, आइतबार | Sun Jul 13 2025

१६ वर्षपछि रतुवा पुलको विधिवत् उद्घाटन, प्रधानमन्त्री ओलीद्वारा रिबन काटेर शुभारम्भ



गौरीगंज २९, असार / झापा र मोरङ्ग जिल्लालाई जोड्ने महत्वपूर्ण पूर्वाधार रतुवा पुलको औपचारिक उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत् रूपमा रिबन काटेर गर्नुभएको छ। झण्डै १६ वर्षको प्रतिक्षापछि सम्पन्न भएको यो ऐतिहासिक उद्घाटन कार्यक्रममा स्थानीय तहका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको हुलाकी सडक निर्देशनालयले आइतबार आयोजना गरेको कार्यक्रममा  प्रधानमन्त्री ओलीले उक्त पुल उद्घाटनसंगै सिलालेख अनावरण गरेका हुन् । 

प्रधानमन्त्री ओलीसँगै उद्घाटन समारोहमा गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी र रतुवामाई नगरपालिकाका मेयर नागेश्वरप्रसाद सिंह ले साथ दिएका थिए । कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पुलले दुई जिल्लाको मात्र हैन, दुईजिल्ला बीचको बीचको जनसम्पर्क र व्यापारिक सहकार्यलाई समेत मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।

“रतुवा खोलाको पुल केवल सवारी आवागमनका लागि मात्र होइन, पूर्वको समृद्धिको सेतु हो,” प्रधानमन्त्री ओलीले उद्घाटनपछि भन्नुभयो, “यस्तो संरचनाबाट जनता सीधै लाभान्वित हुनेछन्।” कार्यक्रममा प्रधानमन्त्री ओलीले छेउमै नदी भए पनि खेतमा सिँचाइ  र उत्पादन नहुने स्थिति अन्त्य गर्दै विकास निर्माणलाई तीव्रता दिएर अबको १५ वर्षभित्र मुलुकबाट गरिबी उन्मुलन गर्नुपर्ने बताए । 

त्यसक्रममा प्रधानमन्त्रीले कृषिको आधुनिकीकरण र व्यावसायिकीकरण गरी नमुना कार्य गर्न स्थानीय तहलाई आग्रह समेत गरे ।

रतुवा खोलामाथिको यो पुल हुलाकी राजमार्ग अन्तर्गत निर्माण गरिएको हो। यो पुल सञ्चालनमा आइसक्दा झापाको गौरीगंजदेखि मोरङको विराटनगरसम्मको यात्रा दुरी र समय दुवैमा उल्लेखनीय कमी आएको छ। यसअघि दमक–इटहरी घुमेर जानुपर्ने यात्रुहरू अब सिधै रतुवा पुल हुँदै विराटनगर पुग्न सक्ने भएका छन्।

यो पुलको निर्माण प्रक्रिया झण्डै १६ वर्षअघिदेखि सुरु भएको हो। स्थानीय बासिन्दाहरू, जनप्रतिनिधि तथा सरकारी संयन्त्रको पहलमा अन्ततः यो संरचना निर्माण सम्पन्न भई औपचारिक रूपमा सञ्चालनमा आएको हो।

कार्यक्रममा अध्यक्ष राजवंशीले पुलले महिला, विद्यार्थी, किसान र व्यापारमा विशेष लाभ पु¥याउने बताउँदै “यो पुलले हाम्रो गाउँलाई बजारसँग, सेवा र अवसरसँग जोड्नेछ,” भन्नुभयो।

उद्घाटन कार्यक्रममा भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल, संघीय सांसद, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, प्रदेशसभा सदस्य, विभिन्न स्थानीय तहका जनप्रतिनिधि, सरकारी कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि र हजारौं स्थानीयवासीको उत्साहजनक उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ३ : ५९ बजे