१८ असार २०८२, बुधबार | Wed Jul 2 2025

सभामुख विष्टले नेतृत्व गरेको विद्यालय लगातार सर्वोत्कृष्ट



झापा, असार १७ । कोशी प्रदेश सरकारका सभामुख अम्बरबहादुर विष्टले नेतृत्व गरेको झापा गौरादह ७ ग्वालडुब्बास्थित इमिनेन्ट कंचनजंघा इङ्गिलस बोर्डिङ स्कुलले एसईई परीक्षामा शतप्रतिशत नतिजा मात्र ल्याएको छैन , लगातार सर्वोत्कृष्ट स्थान हासिल गर्दै आएको छ । विगत १६ वर्षदेखि एसईईमा लगातार शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै आएको इमिनेन्ट कंचनजंघाले तीन वर्षदेखि सर्वोत्कृष्ट स्थानसमेत लिन सफल बनेको हो । यस वर्षको एसईई परीक्षामा शतप्रतिशत नतिजासहित इमिनेन्ट कंचनजंघाका चार जना विद्यार्थीहरुले चार जीपीए ल्याएका छन् । ३३ जना विद्यार्थीहरुले एसईई दिएकोमा चार जीपीए ल्याउने चारजनासहित २८ जना ए प्लस , ४ जना ए र एकजनाले बी प्लस ल्याएका हुन् ।

यस वर्ष झापाभरि ३१ जनाले चार जीपीए ल्याएका छन् । चार जीपीए ल्याउने सबैभन्दा धेरै चार विद्यार्थीसहित शतप्रतिशत नतिजा ल्याउने इमिनेन्ट कंचनजंघा जिल्लाकै सर्वोत्कृष्ट बनेको हो । इमिनेन्ट कंचनजंघाका हेमन्त राजवंशी , कुशल लिम्बू , मुना पाण्डे र रोशिका राजवंशीले चार जीपीए ल्याएका हुन् ।

२०७९ सालमा पनि इमिनेन्ट कंचनजंघाका तर्फबाट धनबहादुर थापाले चार जीपीए ल्याएका थिए । त्यस वर्ष इमिनेन्ट कंचनजंघाका थापासहित झापाबाट मात्र दुईजनाले चार जीपीए ल्याएका थिए । त्यस्तै २०८० सालको एसईईमा इमिनेन्ट कंचनजंघा गौरादह नगरभरि प्रथम भई पुरस्कृत भएको थियो । गौरादह नगरपालिकाले इमिनेन्ट कंचनजंघा र सोही विद्यालयका उत्कृष्ट विद्यार्थीलाई एक–एक लाख नगद पुरस्कारले पुरस्कृत गरेको थियो ।

अमला पाण्डेले स्थापना गरेको इमिनेन्ट कंचनजंघा नचलेर बन्द हुने अबस्थामा पुगेपछि हाल विद्यालय संचालक समिति अध्यक्ष रहेका सभामुख विष्टलगायतले २०५२ सालमा सो विद्यालय लिएका थिए । विद्यालय लिने बेलामा आफूहरुले १० वर्षभित्रमा विद्यालयलाई उत्कृष्ट बनाएरै छाड्ने गरेको प्रतिवद्धता स्मरण गर्दै सभामुख विष्टले त्यस अठोटलाई पूरा गरेरै छाडेको बताए । दूरदराजको ग्रामीण क्षेत्रका विद्यार्थीहरु पढ्ने इमिनेन्ट कंचनजंघाको शैक्षिक स्तर शहरको विद्यालयहरुभन्दा अब्बल रहेको उनले बताए ।

शिक्षक , अभिभावक र विद्यार्थीहरुको मेहनेतले विद्यालयलाई यो उचाईमा पुर्याउन सफल भएको उनको भनाई थियो । एसईईमा उत्कृष्ट नतिजासहित उत्तीर्ण विद्यार्थीहरुलाई इमिनेन्ट कंचनजंघाले आज सम्मान गरेको छ । चार जीपीए ल्याउने चारजना विद्यार्थीहरुलाई जनही ११ हजार नगद पुरस्कारसहित सम्मान गरिएको थियो । उनीहरुका अभिभावकहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । एसईई उत्तीर्ण हुने अन्य विद्यार्थीहरुलाई पनि व्याग प्रदान गरी सम्मान गरिएको थियो । विद्यालय संचालक समितिका अध्यक्ष सभामुख विष्टको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गौरादह नगरपालिकाका नगर प्रमुख छत्रपति सुवेदीले इमिनेन्ट कंचनजंघा स्कुल गौरादहको गौरव भएको बताए । कार्यक्रममा गौरादह क्याम्पसका अध्यक्ष योगराज दाहाल , विद्यालयका संचालक इन्दिरा बस्नेत , प्रधानाध्यापक भवानीप्रसाद पाठकलगायतले शुभकामना मन्तव्य राखेका थिए । विद्यार्थीका तर्फबाट कुशल लिम्बूले आफ्नो भनाई राखेका थिए । विद्यालय संचालक राजेन्द्रकुमार सुवेदीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन शिक्षक चुडाबहादुर भुजेलले गरेका थिए । (साभार प्रतिदिन दैनिकबाट)

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  १० : ५१ बजे