
आत्माराम राजवंशी /
विद्यालयमा विद्यार्थीहरूको खुसीको हल्ला थियोसंगै बधाई र स्वागत पनि ।
ज्ञानोदय बोर्डिङ स्कुलको प्राङ्गणमा गुन्जिएको यी शब्दहरूले आजको दिनलाई विशेष बनाइदियो । यो कुनै सामान्य कार्यक्रममा गुन्जिएको संवाद थिएन, यो एउटी साहसी किशोरी सलिनाको जीवनको विजय घोषणाजस्तै थियो ।
गौरीगंज गाउँपालिका–३ स्थित श्री ज्ञानोदय बोर्डिङ्ग स्कुलमा आजको दिनको गर्मी भन्दा पनि बढी न्यानोपन बोकेको थियो – एक छात्राको आँसु, विद्यालयको गौरव, शिक्षकहरूको गर्व र अभिभावकहरूको आशाको बिम्बले। सलिना कार्की, जसले यो वर्षको एसईई परीक्षामा उत्कृष्ट ४.०० जीपीए ल्याएकी छिन्, आजको सम्मान समारोहको केन्द्रबिन्दु थिइन् । तर त्यो केन्द्रमा ऊ हाँस्न होइन, रोएकी थिइन् । उनका आँखा भने कुनै पराजयको होइन, सफलताको आँसुले ओथारो भइरहेको थियो ।
सलिना आमा–बुवा गुमाइसकेकी छिन् । टुहुरी छिन् उनी । आमाबुबा नभएको घर, आत्मीय साथ नभएको जीवन, तर दृढ इच्छाशक्तिको भरपुर साहसले भरिएको त्यो नानीको जीवन कहानी आज सबैलाई भावुक बनाइदियो । उनी बोल्न सकिनन् । मञ्चमा उभिएर केही शब्द भन्नुपर्ने समयमा, उनका आँखाबाट आँसुको धार बगिरह्यो । त्यो आँसु भाषाभन्दा बलियो थियो । त्यो मौनता सायद हजार शब्दभन्दा अर्थपूर्ण थियो ।
विद्यालयका प्रिन्सिपल कल्पना थापा समेत भावुक भइन् । उनले सलिनाको संघर्ष सम्झेर भनिन्, “बिना अभिभावकको साथ, यति राम्रो नतिजा ल्याउनु भनेको असाधारण हो । यो नतिजा केवल जीपीए मात्र होइन, यो उसले पीडा र परिस्थितिलाई जितेकी प्रमाण हो ।”
यस विद्यालयबाट यस वर्ष १७ जना विद्यार्थी एसईई परीक्षामा उतीर्ण भए, सबैको नतिजा उत्तम आयो, तर सलिनाले ल्याएको जीपीएले सम्पूर्ण स्कुल परिवारको छाती गर्वले फुलाएको छ । विद्यालयका संस्थापक तथा निर्देशक दिपेन्द्र थापा अध्यक्ष रहेको कार्यक्रममा उनले भने, “सलिनाको नतिजा हामी सबैका लागि प्रेरणा हो । शिक्षाले जीवन बदल्न सक्छ भन्ने उदाहरण उनी हुन् ।”
विद्यालयले शतप्रतिशत रिजल्ट निकाल्न सफल भएपछि छात्र–छात्रा, शिक्षक, अभिभावक, सबैको अनुहारमा प्रसन्नता देखिन्थ्यो । तर त्यही हर्षबीच एउटी किशोरीको आँसु, उसको जीवन संघर्ष र साहसको आवाज बनेको थियो ।
गौरीगंज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुवँर कार्यक्रममा प्रमुख अतिथि थिइन् । उनले भने, “सलिनाले देखाएको संघर्ष र सफलताको कथा सम्पूर्ण गाउँपालिकाका विद्यार्थीहरूका लागि प्रेरणा हो । दुखलाई शक्तिमा बदल्ने क्षमता हामी सबैमा छ भन्ने प्रमाण उनी हुन ्।”
वडा नं. ३ का वडा अध्यक्ष श्रवण गिरीले सलिनाको प्रशंसा गर्दै भने, “सलिनाको नतिजाले वडाको मात्र होइन, सम्पूर्ण गाउँपालिकाको नाम उजागर गरेको छ । यस विद्यालयलाई धन्यवाद दिन चाहन्छु जसले यस्ता प्रतिभा उमारिरहेको छ ।”
सलिनाको जीवन केवल एक नतिजाको कथा होइन, यो एउटा सन्देश हो – अभाव, पीडा र बाधालाई जित्ने शक्ति हाम्रै भित्र हुन्छ । अभिभावकको माया नपाएको जीवनमा पनि उनी शिक्षाको साहाराले उज्यालो भविष्य निर्माण गर्दैछिन् ।
विद्यालयका साथीहरू, शिक्षकहरू, अभिभावकहरू सबैले सलिनालाई अंकमाल गरे, साथ दिए। तर त्यो साथभन्दा महत्वपूर्ण थियो—उसको आत्मबल, जसले उसलाई निरन्तर अघि बढ्न प्रेरित गरिरह्यो ।
कार्यक्रममा बजेको तालीले विद्यालयको शतप्रतिशत नतिजाको खुसी मनायो, तर त्यो तालिले सलिनाको आँसुलाई पनि सम्मान दियो । कसैले भने, “सलिनाको आँसु र हाँसोको मेल नै सफलताको स्वरूप हो ।”
सच्चै, सलिनाको कथा हाम्रो समाजको लागि एउटा बलियो सन्देश हो — जब समर्थन नहुँदा पनि साहस हुन्छ, तब नतिजा केवल प्रमाण होइन, प्रेरणा बन्छ ।