१० असार २०८२, मंगलबार | Wed Jun 25 2025

गौरीगंज गाउँपालिकाले ५३ करोड ८६ लाखको बजेट ल्यायो, गौरवका योजनामा आवास र अस्पताल प्राथमिकता



गौरीगंज १०, असार /
गौरीगंज गाउँपालिकाको १७ औं गाउँसभा सम्पन्न भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ५३ करोड ८६ लाख ९६ हजार ४ सय ४० रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिकाका उपाध्यक्ष पुजन न्यौपाने कुँवरले गाउँसभामा बजेट प्रस्तुत गरेकी हुन् ।

बजेटको प्रमुख अंश पालिकाका गौरवका योजनामा केन्द्रित गरिएको छ । यस अन्तर्गत “गौरीगंज आवास निर्माण” योजनामा १ करोड र हुलाकी सडक डिभाइडर रेलिङ्ग तथा बत्ती व्यवस्थापनमा ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

कृषि र पशुपालनलाई बजेटले प्राथमिकता दिएको छ । कृषिमा १ करोड ५० लाख र पशु सेवामा ५० लाख छुट्याइएको छ । स्वास्थ्य तथा पोषण क्षेत्रमा १ करोड र गौरीगंज आधारभूत अस्पताल सञ्चालनका लागि ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

शिक्षामा १ करोड ९० लाख, खानेपानी तथा सरसफाइमा १० लाख, युवा तथा खेलकुदमा १९ लाख, महिला लक्षित कार्यक्रममा ८ लाख, पूर्वाधार विकासमा ९५ लाख, वन तथा वातावरण क्षेत्रमा २५ लाख बजेट छुट्याइएको छ । संस्थागत विकास तथा सुशासनमा १ करोड २२ लाख, सूचना तथा सञ्चार कार्यक्रममा ५ लाख, न्यायिक समितिमा ७ लाख र सुरक्षा निकाय सबलीकरणमा ५ लाख बजेट राखिएको छ ।

बजेटको खर्च व्यहोर्ने मुख्य स्रोत संघीय समानीकरण अनुदानबाट ११ करोड ५१ लाख, सशर्त अनुदान (चालू) २० करोड १८ लाख, पूँजिगततर्फ ६१ लाख, विशेष अनुदान ६९ लाख र समपूरक अनुदान ८७ लाख रहेको छ । बाँडफाँड हुने राजस्वबाट ३३ करोड ८६ लाख रुपैयाँ प्राप्त हुने अनुमान छ ।

प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान १० करोड ६३ लाख ६ हजार रुपैयाँ र साझेदारीमा आधारित समपूरक अनुदान १६ लाख ७७ हजार रुपैयाँ रहने अनुमान गरिएको छ ।

यसअघि गाउँसभामा गाउँपालिका अध्यक्ष फूलवती राजवंशीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । वडागत बजेट पनि सार्वजनिक गरिएको छ । वडा नं. १ का लागि ५७ लाख, वडा नं. २ का लागि ६६ लाख, वडा नं. ३ का लागि ६३ लाख, वडा नं. ४ र ५ दुबैका लागि ३६ लाख र वडा नं. ६ का लागि ४२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । वडास्तरीय योजनाका लागि जम्मा ३ करोड रुपैयाँ छुट्याइएको गाउँपालिकाले जनाएको छ । गौरीगंज गाउँपालिकाको बजेटमा समावेश कार्यक्रमहरू समावेशी, दिगो र बहुपक्षीय विकासको दिशामा केन्द्रित देखिन्छन् । सामाजिक क्षेत्रको सशक्तिकरणसहित पूर्वाधार विकास, कृषि आधुनिकीकरण, स्वास्थ्य सेवा विस्तार र शिक्षा प्रणाली सुदृढीकरणमा लगानी बढाइएको छ ।

गाउँपालिकाले आर्थिक श्रोतको अधिकतम उपयोग गरी आन्तरिक आय वृद्धिमा जोड दिने नीति लिएको बताइएको छ । संघीय र प्रदेश सरकारबाट प्राप्त अनुदान तथा साझेदारी कार्यक्रममार्फत विभिन्न विकास आयोजना सञ्चालन गरिनेछ । महिला, युवा, दलित र विपन्न वर्ग लक्षित कार्यक्रमहरूलाई निरन्तरता दिइएको छ, जसले समावेशी विकासलाई सघाउने अपेक्षा गरिएको छ ।

गौरीगंज आधारभूत अस्पताल सञ्चालनको लागि छुट्याइएको ३ करोड ५० लाख बजेटले स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा विस्तार हुने अपेक्षा गरिएको छ । कृषि र पशुपालन क्षेत्रका कार्यक्रमहरूले ग्रामीण रोजगारी सिर्जना र आत्मनिर्भरता प्रवर्द्धन गर्ने गाउँपालिकाको भनाइ छ ।

गाउँसभा बैठकमा वडाध्यक्षहरू, जनप्रतिनिधि, कर्मचारीहरुको उल्लेख्य सहभागिता थियो । बजेट प्रस्तुतिसँगै विभिन्न वडाबाट आएका सुझावहरूलाई समेत समेट्दै कार्यान्वयनका लागि कार्ययोजना निर्माणको प्रक्रिया अगाडि बढाइएको जनाइएको छ । गौरीगंज गाउँपालिकाले प्रस्तुत गरेको बजेटमा सुशासन र सेवा प्रवाह सुदृढ पार्ने उद्देश्यसहितका योजनाहरूलाई समेत प्राथमिकतामा राखिएको छ। संस्थागत विकास तथा सुशासन शीर्षकमा १ करोड २२ लाख विनियोजन गरिएको छ, जसअन्तर्गत सेवा सहजता, नागरिक मैत्री प्रशासन र डिजिटल प्रणालीमार्फत सेवाहरू प्रभावकारी बनाउने लक्ष्य लिइएको छ।

त्यस्तै न्यायिक समितिको सशक्तीकरणका लागि ७ लाख रुपैयाँ छुट्याइएको छ भने सुरक्षा निकायको क्षमता अभिवृद्धि गर्न ५ लाखको व्यवस्था गरिएको छ। सूचना तथा सञ्चार कार्यक्रममार्फत जनतासँग सरकारको सम्पर्क बलियो बनाउने र सार्वजनिक उत्तरदायित्व अभिवृद्धि गर्ने योजना छ।

गाउँपालिकाले वडागत योजनामा समेत सन्तुलित बजेट वितरण गरेको छ। जनसंख्या, आवश्यकता र प्राथमिकताको आधारमा वडा नं. २ लाई सबैभन्दा बढी ६६ लाख र वडा नं. ४ तथा ५ लाई ३६ लाखका दरले बजेट छुट्याइएको हो। यसले स्थानीय तहमा आवश्यक पूर्वाधार निर्माण र जनजीविकाका कार्यक्रम सन्तुलित रूपमा अघि बढाउने विश्वास गरिएको छ।

गाउँपालिका अध्यक्ष फूलवती राजवंशीले समग्र बजेटले समावेशी, समतामूलक र ग्रामीण विकासमुखी सोच बोकेको बताउँदै सबै जनप्रतिनिधि र कर्मचारीलाई प्रभावकारी कार्यान्वयनमा जुट्न आग्रह गरेकी थिइन्।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ६ : ३९ बजे