९ असार २०८२, सोमबार | Mon Jun 23 2025

गौरादह नगरपालिकाको १६औं नगरसभा प्रारम्भ, नीति तथा कार्यक्रम प्रस्तुत




नारायाण राजवंशी
गौरादह ९ , असार / गौरादह नगरपालिकाको १६औं नगरसभा अन्तर्गत पहिलो अधिवेशन आइतवार सम्पन्न भएको छ। नगरप्रमुख छत्रपति सुवेदीको अध्यक्षतामा बसेको बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो।

नगरप्रमुख सुवेदीले चालु आर्थिक वर्षको हालसम्मको प्रगति, चुनौती र आगामी दिशा प्रस्तुत गर्दै नगरपालिकाले वितरणमुखीभन्दा परिणाममुखी कार्यक्रमहरूतर्फ प्राथमिकता दिएको बताए। स्वास्थ्य सेवा, शिक्षा, कृषि, विपद् व्यवस्थापन, वातावरण संरक्षण, भूमि व्यवस्था, भौतिक पूर्वाधार, खेलकुदलगायतका क्षेत्रमा नगरले दीर्घकालीन दृष्टिकोणका साथ कार्य अघि बढाइरहेको बताइएको छ।

नगरप्रमुखले विगत तीन वर्षको समग्र कार्यको समीक्षात्मक विवरण प्रस्तुत गर्दै बेरुजु रकम न्यूनीकरणमा उल्लेखनीय प्रगति भएको जानकारी गराए। उनका अनुसार बेरुजुको अङ्क घटाएर हाल १.९ प्रतिशतमा झारिएको छ भने स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा नगरपालिकाले ७८ अङ्क हासिल गरेको छ, जुन उत्साहजनक उपलब्धि मानिएको छ।

चालु आर्थिक वर्षका लागि १४औं नगरसभाबाट स्वीकृत ८४ करोड ३४ लाख २२ हजार २८२ रुपैयाँको अनुमानित बजेट संघीय तथा प्रदेश सरकारको विषयगत सशर्त अनुदानसहित ८६ करोड ५१ लाख १२ हजार २६१ रुपैयाँ ६६ पैसामा पुगेको छ। हालसम्मको खर्च प्रतिशत हेर्दा कुल खर्च ६६.२१ प्रतिशत रहेको छ। त्यसमा पूँजिगत खर्च ५९.९३ प्रतिशत र चालु खर्च ६९.७५ प्रतिशत रहेको जानकारी दिइएको छ। चालु आर्थिक वर्षको अन्त्यसम्ममा कुल खर्च ८५ प्रतिशतभन्दा बढी हुने अनुमान गरिएको छ।

नगर प्रमुख सुवेदीले नीति तथा कार्यक्रममार्फत जनताको सीप तथा क्षमता विकासमुखी योजना निर्माण तथा कार्यान्वयनमा नगरको प्राथमिकता रहेको र उपलब्ध नतिजाहरूले अझ बढी प्रयास आवश्यक देखिएको टिप्पणी गरे।

कार्यक्रममा नगर उपप्रमुख जलवर्षा राजवंशी चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदी, वडा अध्यक्षहरू, जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। बैठकले नगरको आगामी विकासयात्रालाई प्रभावकारी बनाउने लक्ष्यसहित नीति तथा कार्यक्रमलाई अगाडि बढाउने प्रतिबद्धता जनाइएको छ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ६ : ५५ बजे